२०८१ बैशाख ६ बिहीबार

‘केपी ओली कप’ फुटबल प्रतियोगिता हुने, भिड्नेछन् ८ चर्चित क्लब ! !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुने भएको छ । फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने भनिएको यो प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसलका गोल्डकपको समय निर्धारण गर्दा केपी ओली कप पनि समावेश गरिएको छ । युवा संघको मागअनुसार आफूहरुले प्रतियोगिताका लागि मिति उपलब्ध गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

युवा संघका अध्यक्ष किरण पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनका ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु च्यासललगायतका मैदानमा सन्चालन गरिनेछ । फाइनल खेल दशरथ रंगशालामै खेलाउने योजना अध्यक्ष पौडेलले सुनाए ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइनेछ । ‘संगठनले यो प्रतियोगितालाई आफ्नो मुख्य कार्यक्रमका रुपमा स्थापित गर्ने प्रयास गरेको छ,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो संगठनको संस्थापक र भएका नेताहरुमा खेलकुदप्रति चासो र रुची राख्ने भएकाले पार्टी अध्यक्षकै नाममा प्रतियोगिता गर्न लागेका हौं ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नयाँ सिजनका लागि मोफसलका नकआउट फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । मंगलबार फरक फरक पाँच मिति तोकेर माघ २६ देखि चैत १८ गतेसम्म आयोजना हुने ११ वटा नकआउट प्रतियोगिताको मिति निर्धारण गरेको हो ।

माघ २६ देखि फागुन ६ गतेसम्म सर्लाहीमा राजर्शी जनक गोल्डकप र महोत्तरीमा मेयर कप फुटबल आयोजना हुनेछ । माघ २९ देखि फागुन ९ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप आयोजना हुनेछ । पहिलो मितिमा परेका यी तीन प्रतियोगितामध्ये ए डिभिजन टिमले बढीमा दुईवटामा मात्र सहभागिता जनाउन पाउनेछन् ।

दोस्रो मितिअनुसार फागुन ७ देखि १६ गतेसम्म झापामा भद्रपुर गोल्डकप र रुपन्देहीमा तिलोत्तमा गोल्डकप हुँदैछ । फागुन ११ देखि २० गतेसम्मलाई तेस्रो मिति निर्धारण गरिएको थियो । यो समयमा फागुन ११ देखि १७ सम्म काठमाडौंमा केपी ओली कप र फागुन १३ देखि २० सम्म सुनसरीमा बुढासुब्बा गोल्डकप आयोजना हुँदैछ ।

त्यसपछि दुई साता काठमाडौंमा ए डिचिजन लिगका पाँच चरणको खेल सन्चालन हुँदैछ । फागुन १९ देखि चैत ४ गतेसम्मका लागि ए डिभिजन लिग हुनेछ । चैत ४ देखि ११ गतेसम्मको समय नकआउट प्रतियोगिताका लागि एन्फाले दिएको चौथो मिति हो । यो समयमा इलाममा माइभ्याली गोल्डकप र सुनसरीमा इटहरी गोल्डकप आयोजना हुनेछ ।

पाँचौं मितिका रुपमा चैत ९ देखि १८ गतेसम्मको समय छ । यो समयमा मोरङमा विराट गोल्डकप र बारामा सिमरा गोल्डकप आयोजना हुनेछ । ए डिभिजन टिमले एउटा मितिमा एउटामात्र प्रतियोगिता खेल्न पाउने नियम कडाइका साथ लागू गर्ने एन्फाले बताएको छ ।

चैत ४ मा ए डिभिजन लिगलाई विश्राम दिएर क्लबहरुलाई नकआउट प्रतियोगिताका लागि उपलब्ध गराइनेछ । त्यस समयमा ए डिभिजन क्लबमा आवद्ध भएका खेलाडीहरुले सोही क्लबबाट मात्र नकआउट प्रतियोगिता खेल्न पाउने पनि एन्फाले जनाएको छ ।

२०७९ माघ ११, बुधबार प्रकाशित 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार