२०८० मंसिर २४ आईतवार

संमृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पितः प्रधानमन्त्री दाहाल !!

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताए ।

इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए ।

उनले नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको उल्लेख गरे ।

इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको स्मरण गर्दै प्रधानमन्त्री दाहाल मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका जनाए ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्”, सन्देशमा उनले भने , “मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् ।”

प्रधानमन्त्री दाहालले इद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले मुस्लिम समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरे ।

२०८० बैशाख ९, शनिबार प्रकाशित 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार