२०८१ माघ १ मंगलवार

शरणार्थी प्रकरणका सबैको बयान सकियो, आइतबारबाट थुनछेक बहस हुने!!

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तको बयान सकियो । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको सकिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो ।

अब आइतबारबाट थुनछेक बहस हुने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता गर्ने क्रममा १६ अभियुक्त पक्राउ परिसकेका थिए भने अन्य १४ फरार रहेका थिए । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परे थिए । हाल १८ अभियुक्त हिरासतमा छन् ।

आइतबारबाट सुरु हुने थुनछेक बहसपछि उनीहरूलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश हुनेछ ।

थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट आठ जनाले बहस गर्ने छन् भने प्रत्येक अभियुक्तका आफ्ना कानुन व्यवसायी समेतले बहस गर्ने छन् ।

२०८० जेष्ठ १९, शुक्रबार प्रकाशित 0 Minutes 562 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।