२०८१ आश्विन ३० बुधबार

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाईको माग गर्दै शान्तिपूर्ण र्याली !!

कञ्चनपुर ,कार्तिक १९ : प्यालेस्टेनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको माग सहित कञ्चनपुरमा शान्तिपूर्ण र्याली गरिएको छ । हमास समूहकाे नियन्त्रणमा रहेका जोशीको रिहाइको लागि सरकारले ढिलासुस्ती गरेको भन्दै उनको सिघ्र रिहाईको माग सहित महेन्द्रनगरमा आफन्त तथा स्थानीय युवाहरुले आईतबार र्याली निकालेका हुन ।

साथै र्यालीमा सहभागीहरुले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापन पत्र पनि बुझाएका छन् । परराष्ट्र मन्त्रालयले जोशीको रिहाइका लागि सिघ्र पहलकदमी लिनुपर्ने जोशीका घर परिवार तथा आफन्तहरूको माग रहेको छ ।

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइ र नेपाल फिर्ताका लागि नेपाल सरकार एकदमै संवेदनशील रहेको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले बताए । उनले भने ,“ मेरो पनि परराष्ट्र मन्त्री संग छलफल भएको छ , उहाँले पनि पहल गरिरहनु भएको छ । सरकारले कुटनीतिक माध्यमबाट विपिन जोशीको रिहाइ गर्न भूमिका खेल्छ ।”

नियन्त्रणमा रहेका जोशीका पुस्पा जोशीले आफ्नो दाई बेपत्ता भएको करिब १ महिना पुगिसक्दा पनि सरकारको तर्फबाट सक्रिय पहल नभएको बताइन् । अब पनि हाम्रो एउटा आशा छ मेरो दाई फिर्ता आउँछ भन्ने , सरकार तथा सबै निकायले छिटो पहल गरिदियोस् , उनले भनिन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३ का विपिन जोशी सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुर क्याम्पसबाट सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजराइल गएका थिए । गत असोज २० गते प्यालेस्टेनी विद्रोही समूह हमासले इजराइल माथि गरेको आक्रमणमा परी जोशी बेपत्ता थिए र केही दिन अघि मात्रै इजराइल सरकारले विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको थियो ।

युद्ध संग कुनै सम्बन्ध नरहेको तेस्रो देशको व्यक्ति विद्रोहीको नियन्त्रणमा रहेको बेला सरकारले उचित कुटनीतिक माध्यम प्रयोग गरी आफ्ना नागरिक फिर्ता ल्याउन पर्ने अन्तराष्ट्रिय जानकारहरु बताउँछन् ।

२०८० कार्तिक १९, आईतवार प्रकाशित 0 Minutes 255 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार