यसकारण पस्चिम नेपालमा जान सक्छ ठुलो भुकम्प ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ। त्यहाँ सन् १५०५ मा ८.४ म्याग्निच्युड वा त्योभन्दा ठूलो भुइँचालो गएको थियो।
भूगर्भविद्हरूका अनुसार इन्डियन प्लेट वार्षिक दुई सेन्टिमिटरका दरले युरेसियन प्लेटमुनि घुस्रिँदै जानुपर्छ। सय वर्षमा त्यो दुई मिटर हुन्छ। भन्नुको मतलब, विगत पाँच सय वर्षमा १० मिटर घुस्रिसक्नुपर्ने थियो। तर पाँच सय वर्षदेखि पश्चिम नेपाल क्षेत्रमा ८ म्याग्निच्युड हाराहारीको भुइँचालो नगएकाले इन्डियन प्लेट आफ्नो नियमित गतिमा युरेसियन प्लेटमुनि घुस्रिन पाएको छैन।
यसले के संकेत गर्छ भने, पश्चिम नेपालको भूसतहमुनि त्यति नै भूकम्पीय शक्ति थुप्रिएर बसेको छ, जति शक्तिले इन्डियन प्लेटलाई १० मिटर युरेसियन प्लेटमुनि धकेल्छ। भौगर्भिक सर्वेक्षणबाट पनि यो क्षेत्रमा ठूलो भूकम्पीय शक्ति थुप्रिएर बसेको देखिन्छ।
२०७२ सालमा ७.८ म्याग्निच्युडको भुइँचालो जाँदा मध्य–नेपालमा इन्डियन प्लेट करिब साढे तीन मिटर सरेको थियो। यस हिसाबले पश्चिम नेपालमा एकैचोटि १० मिटर सर्यो भने त्यसले लगभग ९ म्याग्निच्युडको भुइँचालो ल्याउन सक्ने भूगर्भविदहरूले बताउँदै आएका छन्।
भूसतहमुनि रहेका चट्टानी खण्डहरू (टेक्टोनिक प्लेट) कसरी र कति सर्छन् भन्ने पूर्वानुमान गर्न सकिँदैन। पश्चिम नेपालका हकमा पनि इन्डियन प्लेट एकैचोटि १० मिटर सर्न पनि सक्छ वा नसर्न पनि सक्छ।
एकैचोटि १० मिटर सर्यो भने त भूगर्भविदहरूले भनेजस्तो ९ म्याग्निच्युड भुइँचालो गएर सर्वनाश हुने भइहाल्यो, तर आधा मात्र सर्यो भने पनि त्यसले ल्याउने कम्पन ८ म्याग्निच्युड हाराहारीकै हुनेछ। त्यसबाट हुने मानवीय तथा भौतिक क्षति निकै ठूलो हुनसक्छ।
News Source : Setopati
Pic Source : A crack in a road near Kathmandu caused by the earthquake. EPA/Hemanta Shrestha