
-
आठौं संस्करणको पर्वतीय महोत्सव हुने
पोखरा- नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ। आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो। यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो।
संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। सोही अवर पारेर नेपाल पर्वतारोहण संघले ८ वर्षदेखि निरन्तर पर्वतीय महोत्सव गर्दै आएको छ। आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए। यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ। आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फस्र्टका विद्यार्थीले मञ्चन गर्नेछन्।
‘विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पुर्याउनेछ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं।’