२०८१ बैशाख ८ शनिबार

एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ

२६ भदौ, सङ्खुवासभा। सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरिक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली मादी पुगेको थियो ।
लगत्तै दाहाल नेतृत्वकाे टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो । कुँवर नेतृत्वको टोलीले घटनामा संलग्न रहेको आरोपमा छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

पक्राउ परेका युवक मृतकका भतिजो नाता पर्ने हुन् । आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । तर, उनको मानसिक अवस्था कमजोर रहेको र केही समयदेखि औषधि खाइरहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । हत्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ ।
हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या भएको स्रोतको दाबी छ ।

गत सोमबार मादी नगरपालिका-१ का बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

२०७८ भाद्र २६, शनिबार प्रकाशित 1 Minute 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार