
सिडनी । अष्ट्रेलिया । मित्रता हुनु त कार्ल मार्क्स र एङ्गेल्स जस्तो।
कार्ल मार्क्स र एङ्गेल्सको बीच यस्तो मित्रता थियो कि, जसको बिश्वमा कुनै उदाहरण पाइदैन। मार्क्स स्वयं त्यो मित्रतालाई यूनानी पौराणिक कथाहरूमा वर्णित साथीत्व जस्तो मान्नुहुन्थ्यो। यस मित्रतामा आरम्भदेखि अन्तिमसम्म करीब एङ्गेल्सले नै ज्यादा त्याग ,सहयोग र सहायता गरेको देखिन्छ । त्यसैले त्यो एकपक्षीय मित्रतालाई आलोचकहरुले माक्र्सद्वारा एङ्गेल्सको लगातार भावनात्मक ,बैचारिक र आर्थिक शोषण पनि भन्थे। तर, जवानीमा भएको मित्रता बाल्यपनको मित्रता समान बूढेसकालसम्म निरन्तर निर्वाध र सदाबहार रुपले जारी रह्यो,जसको निश्छ आवेग सधैं बनिरह्यो।
माक्र्सको एङ्गेल्ससितको पहिलो भेट सन् १८४२ मा पेरिसमा भएको थियो।त्यो भेट निकै सानो र शिष्टाचार भेट थियो,जसमा मार्क्स एङ्गेल्ससित खासै प्रभावित हुनुभएको थिएन। पछि एङ्गेल्सका केही लेखहरु माक्र्सले अध्ययन गरे। ती लेखहरुमा माक्र्सलाई एक बिशेष प्रकारको बैचारिक ताप अनुभव भयो। त्यसपछि मार्क्सले एङ्गेल्ससित पत्रमित्रता शुरु गर्नु भो। ती पत्रहरुले दुबै जना बीचको परिचयलाई त गहिरो बनायो नै,बैचारिक सहमतिहरुको सिलसिला पनि उत्तिकै रूपमा शुरु भो। सन् १८४४ मा एङ्गेल्स पेरिसमा माक्र्सकोमा आएर ९-१० दिनसम्म बस्नुभो। तिनै ९-१० दिन वहाँहरुको सम्बन्धमा निकै महत्त्वपूर्ण सावित भए। ती दिनहरुमा हरेक मुद्दाहरू माथि खुलेर कुराकानी भो। दुबैजनाले एक अर्काको बैचारिक क्षितिज र गहिराइलाई बुझ्नु भो। सबैखाले सैद्धान्तिक र ब्यवहारिक मुद्दाहरु माथि जमेर कुरा भयो,जसले दुबै जनालाई एक -अर्काको नजिक तुल्यायो। दुबै जनाको बीच एक यस्तो बैचारिक तालमेल बन्यो,जुन अगिल्ला कामहरुको आधार पनि बन्यो र अन्तिमसम्म उस्तै चलिरह्यो।
मार्क्स झैं एङ्गेल्स पनि जर्मन हुनुहुन्थ्यो । वहाँको जन्म जर्मनीको राईन प्रान्तको वार्गेन शहरमा भएको थियो। ईङ्ग्ल्याण्डका मिलहरुमा एङ्गेल्सका बुवाको साझेदारी थियो।आर्थिक रूपमा एङ्गेल्स अत्यन्तै बैभवशाली हुनुहुन्थ्यो । एङ्गेल्सका बुवा पढाइलेखाइ सकाएर छोरालाई आफ्नो ब्यापार ,ब्यवसायमा लगाउन चाहनुहुन्थ्यो। बुवालाई छोराको मष्तिष्कमा आएको बिचारको उथलपुथलको अनुमान नै थिएन। माद्यामिक शिक्षा पूरा गरेपछि कारोबारको राम्रो तालिम लिन एङ्गेल्सलाई बाहिर पठाइयो। एङ्गेल्स ती सबै कुरा गर्न चाहनु हुन्थेन,त्यही पनि सिक्ने त्यो एक मौका थियो,त्यसैले एङ्गेल्सले त्यो अवसरलाई खेर जान दिनुभएन।
एङ्गेल्समा निरीक्षण-परीक्षण र विश्लेषण गर्ने प्रवृत्ति शुरुदेखि नै थियो। त्यो बानी पछिका बर्षहरुमा झन् बढ्यो। फलस्वरूप वहाँ आफ्नो किशोरवस्थामा नै लेख लेख्न थाल्नु भो। एङ्गेल्सको अध्ययन जारी मात्र रहेन,झन् झाङ्गियो। कार्लमाक्स झैं वहाँ लगातार पुस्तक र पत्रपत्रिका पढिरहनु हुन्थ्यो,लेखिरहनु हुन्थ्यो । अध्ययन र लेखनका ती सामग्रीहरुमा ,त्यस्ता किताबहरु पनि सामेल हुन्थे,जसमाथि जर्मनीमा प्रतिबन्ध लागेको थियो। एङ्गेल्सले सैनिक शिक्षा समेत हासिल गर्नुभएको थियो। झन् अगाडि बढ्दा त्यो शिक्षाले कार्लमाक्स र एङ्गेल्सका सैनिक मामिला सम्बन्धि लेखनमा ठूलो मद्दत गरेको थियो।
कार्लमाक्स झैं एङ्गेल्सले पनि” राईन समाचार” पत्रका लागि लेख्न शुरु गर्नुभो र महत्त्वपूर्ण मुद्दामाथि समर्थन वा बिरोधमा लेख लेख्न थाल्नुभो। एङ्गेल्सको सोच पनि परिवर्तनकामी ,अन्याय, अत्याचार र शोषण बिरोधी थियो।
माक्स र एङ्गेल्स एकअर्कामा परिचित र हेलमेल भैसकेपछि दुबै जनाको सहबिचार यात्रा आरम्भ भयो। दुबैजना तीव्रतापूर्वक बैचारिक रुपले एक अर्काको नजिक हुनुभो। दुबै जना मिलेर मजदुर संघर्षलाई तीव्र गर्ने र सही पहिचान बनाउने पुस्तकहरु लेख्न शुरु गर्नुभयो।
वास्तवमा एङ्गेल्स गम्भीर प्रकृतिका ब्यक्तित्व र एक गम्भीर अध्येता पनि हुनुहुन्थ्यो । सानो उमेरमै एङ्गेल्सले धेरै किताबहरु पढिसक्नुभएको थियो। एङ्गेल्स २० वटा भाषाका ज्ञाता हुनुहुन्थ्यो । त्यति धेरै भाषाहरुको जानकारीले स्वाभाविक रूपमा पार्टी निर्माण र त्यसका तमाम कामहरुको लागि उपयोगी हुन्थे नै । कार्लमाक्सको लेखनमा पनि एङ्गेल्सको बहु भाषा ज्ञानले ठूलै मद्दत पुर्यायो।
मित्रताको आरम्भका बर्षहरुमा माक्र्स र एङ्गेल्स दुबै जनाले एक्लाएक्लै बस्नु परेको थियो। पछि एङ्गेल्स लण्डनमा स्थायी रुपमा बस्न थालेपछि माक्र्सले त्यसलाई वरदान ठान्नुभो। एङ्गेल्स माक्र्सको एक अत्यावश्यक भाग जस्तै हुनुहुन्थ्यो । यथार्थमा कार्लमाक्सले आफ्ना रचनात्मक र आत्मीय क्षणहरुमा एङ्गेल्सको भरपूर उपयोग गर्नु भो। एङ्गेल्स माक्र्सको प्रतिभाबाट शुरुदेखिनै प्रभावित हुनुहुन्थ्यो । एङ्गेल्स कार्लमाक्सको अध्ययन ,तर्क,विश्लेषण र बिचारदृष्टिका प्रशम्सक हुनुहुन्थ्यो । एङ्गेल्सले यसलाई खुलेआम स्वीकार्नुभएको थियो। माक्र्सको त्यो प्रतिभा फक्रीन र आफ्नो क्षमता सिद्द गर्नमा एङ्गेल्सले वास्तव मै उल्लेखनीय सहयोग गर्नुभो।
गम्भीर अध्येता र श्रेष्ठ लेखकको अतिरिक्त एङ्गेल्स एक उत्कृष्ट सङ्गठनकर्ता समेत हुनुहुन्थ्यो । जर्मनी ,फ्रान्स ,ईङ्ग्ल्याण्ड,बेल्जियम र अन्य कैयौं देशहरूमा मजदुर चेतना बिकसित गर्ने र तिनीहरूलाई सङ्गठित गर्ने काम एङ्गेल्सले गर्नुभो। कार्लमाक्स सङ्गै वहाँ पनि मजदुरको मुक्ति अभियानमा पूरै निष्ठाका साथ लाग्नुभएको थियो। मजदुरको मुक्तिको सपना माक्र्स झैं एङ्गेल्सको आँखाको पनि एकमात्र सपना थियो,यसलाई वास्तविकतामा बदल्ने कोसिसमा एङ्गेल्स निरन्तर लागेको पाइन्छ। सङ्गठनको प्रत्येक मामिलामा माक्र्स र एङ्गेल्स एक अर्कामा सहमत हुनुहुन्थ्यो। यद्यपि एङ्गेल्स माक्र्सका सबै दिशानिर्देशहरुलाई मान्नुहुन्थ्यो। एङ्गेल्सले सङ्गठन भित्र माक्र्सको विरुद्ध छेडिएका तमाम लडाइँहरु आफैं पनि लड्नुभो।
लण्डनमा स्थायी रुपले बस्न थालेपछि कार्ल र एङ्गेल्सको नियमित भेटघाट हुन थाल्यो। एङ्गेल्स पहिले पनि सामान्यतया : माक्र्स परिवारको पाहुना हुने गर्नुहुन्थ्यो। ती दिन पूरै माक्र्सको परिवारको लागि धेरै खुशीका दिन हुने गर्थे। फर्केर गएपछि दुबैजना पत्राचारको माध्यमबाट एकार्कासित जोडिएर रहनुहुन्थ्यो। ती पत्रहरु खासमा बिचार बिनिमयको साधन हुन्थे। कार्लमाक्सका प्रत्येक सैद्धान्तिक मान्यताहरु पहिलोपटक तिनै पत्रहरुमा व्यक्त भएका हुन्थे।
एङ्गेल्सको आर्थिक अवस्था आफ्ना बुवाको ब्यापार -ब्यवसायको कारणले शुरुदेखिनै निकै राम्रो थियो। एङ्गेल्सले आफ्नो राम्रो स्थितिको प्रयोग माक्र्सलाई सहयोग दिनमा गर्नुभो। एङ्गेल्सका कुनै सन्तान थिएनन् । वहाँकी जीवन सङ्गिनीको मृत्यु धेरै पहिल्यै भएको थियो। एङ्गेल्स नीजि पीडाका हरेक दर्दनाक क्षणहरुमा आफ्नो मित्रको उपस्थितिको जरुरत महसुस गर्नुभएको हुन्थ्यो तर माक्र्स एङ्गेल्सका प्रत्येक दर्दमा जान सक्नुहुन्थेन।
एङ्गेल्सको जीवनको सबैभन्दा ठूलो योगदान माक्र्सलाई गरिएको वहाँको मद्दत थियो। कार्लमाक्स जीवनभर आर्थिक आधीमा फसिरहनुभो। कार्लको पूरै जिन्दगी समस्याग्रस्त रह्यो। आपतकालीन दिनमा नै एङ्गेल्स कार्लमाक्सको सबैभन्दा ठूलो सहयोगी सावित हुनुभयो,जिन्दगीभर आफ्ना मित्रलाई मद्दत पुर्याइरहनु भयो। कार्लमाक्सको सिङ्गै परिवार समस्यामा फसेपछि एङ्गेल्स कुनै भगवान वा देवदूत झैं आफ्नो सहायता लिएर उपस्थित हुनुहुन्थ्यो । पछि त एङ्गेल्सले कार्लको परिवारलाई नियमित रुपले सहायता पुर्याउने सिलसिला शुरु गर्नु भयो। यो सहायताको,यो मद्दतको कहिल्यै पनि कुनै हिसाबकिताब राखिएन। न त,कहिल्यै हिसाब तिरियो?
आखिर एङ्गेल्सले यसरी कार्लमाक्सको किन हिफाजत गर्नुभयो,आखिर मद्दत गर्ने पनि एक हद वा सीमा हुनुपर्थ्यो भन्ने कुरा बुझ्न साह्रो पर्न सक्छ। अर्कोतर्फ कार्लमाक्सको तर्फबाट सोच्ने हो भने के सवाल उत्पन्न हुन सक्छ भने जतिसुकै समस्यामा परेपनि कुनै ब्यक्तिले त्यस किसिमको लगातारको मद्दत कसरी स्वीकार गर्न सक्छ? आखिर स्वाभिमान जस्तो पनि त कुनै चीज हुन सक्छ।
यदि माक्र्स र एङ्गेल्स बीचको सोच, आत्मीयता र अनन्यताका अन्त : सूत्रहरुलाई राम्रोसँग बुझ्ने हो भने सम्पूर्ण कुराहरु आफैं स्पष्ट हुन्छन् । वहाँहरु बीचको मित्रताको पूरै भवन खडा भएको थियो। वास्तवमा वहाँहरु दुबै जनाको मित्रताले एक यस्तो उचाइ हासिल गरेको थियो,जहाँ पुगेर हर किसिमका ब्यक्तिगत सम्पत्ति वा निजत्व आफैं समाप्त हुन्छन् । आफ्नो वा अरुको भन्ने केही बाकी रहदैन । यी सबै कुराहरु ब्यक्तिगत नातामा मात्र होइन बरु सोच र लेखनको धरातलमाथि वहाँहरुको बीच सबै कुरा साझा थियो।
एङ्गेल्सको सामयिक मद्धतबाट नै माक्र्सको “पूजी” जस्तो महान लेखन सम्भव हुनसक्यो। यदि एङ्गेल्सको त्यस किसिमको सहयोग नमिलेको भए माक्र्स निश्चितरूपमा मर्नुहुन्थ्यो भन्ने लेनिनको भनाइ पनि सहीनै हो। माक्र्स बिरामी भएपछि एङ्गेल्सले वहाँको उपचार गर्ने ब्यवस्था गर्नुभो। उपचार गर्ने मामिलामा माक्र्स केही उदासीन हुनुभो। त्यस्तो अवस्थामा जरुरी हुँदा एङ्गेल्स कार्लमाक्ससित रिसाउनु भयो। उपचार प्रति कार्लको लापरबाही देखेर एङ्गेल्सलाई धेरै रिस उठथ्यो।
आफ्नो साथीलाई निरन्तर सहयोग गर्न सकियोस् भनेर एङ्गेल्सले पहिले आफ्नो आयको सही ब्यवस्था गर्नु भो। पछि माक्र्सलाई नियमित सहायता दिन थाल्नुभो। कार्लमाक्सलाईआफ्नो मित्रको त्यो सहयोगको महत्त्व राम्रोसँग थाहा थियो। कार्लले आफ्ना चिट्ठीहरुमा त्यो अमूल्य सहयोगको महत्त्वलाई स्वीकार गर्दै भन्नुहुन्थ्यो -“यदि यो सहयोग नमिलेको भए म यता न उताको हुन्थे र मेरो परिवारको त झनै कस्तो दूर्गति हुन्थ्यो होला।”
एङ्गेल्सले आफ्ना मित्र माक्र्सको परिवारको लागि आफू बाचुन्जेल सहयोग गर्नुभो,त्यतिमात्र हैन,कार्लको मृत्यु पछि पनि निरन्तर कार्लको परिवारलाई सहायता गर्नुभएको थियो। माक्र्सको मृत्यु पश्चात एङ्गेल्स माक्र्स परिवारको अभिभावक बन्नु भो। त्यसको अतिरिक्त कार्लको अप्रकाशित साहित्यलाई सामुन्ने ल्याउने महत्त्वपूर्ण काम समेत गर्नुभो।
माक्र्सको ज्यान लिने हरेक बेदनाका क्षणहरुमा एङ्गेल्स बराबर उपस्थित हुनुहुन्थ्यो । चाहे माक्र्सको जेठो छोरा एडगरको मृत्युको क्षणमा होस् वा सहधर्मिनी जेनीको मृत्युको क्षणमा । प्रत्येक मौकामा एङ्गेल्सले पूरै जिम्मेवारी र कर्तव्यबोधका साथ मित्रता र असल साथीको भूमिका अदाहा गर्नुभयो।
यसरी एङ्गेल्स मार्क्स परिवारको अनिवार्य अङ्ग बन्नुभएको थियो। कार्ल मार्क्सको पूरै परिवारले एङ्गेल्सको अपरिहार्य आवश्यकता महसुस गर्थ्यो नै। कार्लमार्क्सकी जीवनसङ्गीनी जेनीले समेत एङ्गेल्सको विशेष सम्मान गर्नुहुन्थ्यो । एङ्गेल्सले पनि जेनीको गाम्भीर्यता,बुद्दिमता र मजदुर आन्दोलनप्रतिको समर्पण ,त्याग,वलिदान र निष्ठाबाट विशेष प्रभावित हुनुहुन्थ्यो । कार्लमार्क्सका छोरीहरुलाई पनि एङ्गेल्स बराबर दिशानिर्देश गर्नुहुन्थ्यो ।
फ्रेडिक एङ्गेल्स लण्डन आएपछि दुबैजना सामान्यतया सङ्गै बस्नुहुन्थ्यो। दुबै जनाको घर केही दूरीमा मात्र थियो,प्रायः बेलुकी दुबै जनाको भेट र कुराको निरन्तर सिलसिला चल्थ्यो ।ती कुराहरूमा बिषयको कुनै सीमा हुदैनथ्यो ।राजनीति ,इतिहास ,अर्थशास्त्र ,बिज्ञान ,साहित्य ,सैनिक मामिला ,प्रशासन ,मजदुर आन्दोलन आदि तमाम बिषयहरुमाथि वहाँहरु दुबै घोत्लिएर छलफल गरी निष्कर्ष निकाक्नुहुन्थ्यो। दुबै जनाले एक अर्काका बिचार र सल्लाहलाई आत्मसात गर्ने बानी थियोे । दुबैजना एक-अर्काको सोचका बराबर भागेदारी हुनुहुन्थ्यो । कार्लमार्क्सले आफ्ना सबै रचनाहरुका महत्त्वपूर्ण मुद्दाहरुमा एङ्गेल्सको राय सल्लाह लिनुहुन्थ्यो। दुबैजना मिलेर कैयौं पुस्तकहरु तयार गर्नुभएको थियो। एङ्गेल्सको त्यो नै बैचारिक समानताको प्रमाण थियो।
एङ्गेल्सले मार्क्ससित मिलेर त लेख्नुभएकै थियो ,त्यो बाहेक वहाँले धेरै लेखहरु मार्क्सको तर्फबाट मार्क्सको नाममा पनि लेख्नुभो। कार्लमार्क्सलाई जुन समयमा “न्यूयोर्क डेली ट्रीब्यून”को लागि लेख्ने काम मिल्यो,त्यस समयमा मार्क्स आफ्नो ग्रन्थ `पूजी´को लेखनमा ब्यस्त हुनुहुन्थ्यो । मार्क्ससित अखबारको लागि लेख्ने समय थिएन। त्यसैले मार्क्सले आफ्नो तर्फबाट त्यस अखबारमा लेख्न एङ्गेल्सलाई भन्नुभो,केही दिशाबोध समेत गर्नुभो। एङ्गेल्सले आफ्नो लेखनलाई रोकेर ” न्यूयोर्क डेली ट्रीब्यून ” मा एक लेखमाला लेख्ने काम गर्नुभो।
मार्क्स र एङ्गेल्स दुबैले आफू बीच कामको बितरण गर्नुभएको थियो। सैनिक मामिला ,रसायन ,जीव र भौतिक शास्त्र जस्ता बिषयहरुमा एङ्गेल्स पारङ्गत हुनुहुन्थ्यो । तसर्थ यी बिषयहरुका बारेमा एङ्गेल्सले मात्र लेख्न सक्नु हुन्थ्यो जब कि, इतिहास, दर्शन ,अर्थशास्त्र जस्ता बिषयहरुमा लेख्ने काममा मार्क्सको विशेष दखलता थियो। एङ्गेल्सले मार्क्सको लागि वा मार्क्सको नाममा लेख्नु ब्यवहारिक र बैचारिक दुबै दृष्टिबाट त्यति राम्रो कुरा हैन,बेइमानी हो भन्ने कार्लमार्क्सका आलोचकहरु पनि छन् ,तिनीहरूले त्यो बुझेनन् कि कार्ल र एङ्गेल्स दुबै जना मित्रहरू आखिर एउटै लक्ष्य र उद्देश्यको लागि काम गरिरहनुभएको थियो- मजदुरहरुमा चेतना पैदा गर्ने,उनीहरूलाई सङ्गठित गर्ने,एकजुट पार्ने,पूजीपतिलाई उल्टाइ-पल्टाइ गरेर नयाँ संसार बनाउने लक्ष्य माथि बिजयी हासिल गर्ने हो भने त्यस किसिमका आरोपहरु आधारहीन र अर्थहीन हुन् । विश्व सर्वहारावर्गीय आन्दोलनका दुई महान दार्शनिक मार्क्स र एङ्गेल्स दुबै जनाको लेखन नीजि प्रसिद्धि ,नीजि महत्वाकांक्षा वा नीजि सन्तुष्टिको लागि थिएन । वहाँहरु लेखनलाई मेहनतको लडाइँको एक अत्यावश्यक हतियार झैं लिइरहनु हुन्थ्यो । यसकारण वहाँहरु को- कसको नामले वा कसको लागि लेखिरहेको छ भन्ने कुराले किन्चित फरक पर्थेन। त्यसकारण एङ्गेल्सले मार्क्सको लागि लेखे पनि मार्क्सले एङ्गेल्सका बिचारहरुलाई आफ्नो काममा बराबर महत्व र स्थान दिनुहुन्थ्यो। मार्क्सले एङ्गेल्सको बहुज्ञता र बौद्धिक तीव्रतालाई भित्रैबाट मन पराउनु हुन्थ्यो भने मार्क्सका बहुआयामिक प्रतिभाबाट निकै प्रभावित हुनुहुन्थ्यो एङ्गेल्स। दुबै मिलेर सारा मानवमुक्तिको सूत्र पत्ता लगाउन आफ्ना क्षमताहरुको उपयोग गर्नुभएको थियो।
मार्क्सले आफू जीवीत छदा “पूजी” को एकखण्ड मात्र छाप्न सक्नुभएको थियो। बाकी खण्डहरुको काम त धेरै गरिसकिएको थियो तर अन्तिम ड्राफ्टहरु तयार हुन बाकी थियो। जेनी मार्क्सको मृत्यु ,कार्ल आफैं रोगी र शारीरिक असक्षमताहरुका कारणले कार्लले शेष काम गर्न सक्नुहुन्न भन्ने एङ्गेल्सलाई राम्रै हेक्का थियो। मार्क्सलाई पनि आफूले त्यसपछि नसक्ने राम्रोसँग थाहा थियो। तसर्थ मार्क्सले सम्पूर्ण सामग्रीहरु एङ्गेल्सलाई सुम्पनु भयो,किताबको अगाडिको खण्ड तयार गर्नका लागि । मार्क्सका अधूरा काम एङ्गेल्स बाहेक अरुले पूरा गर्ने ल्याकत राख्ने कुरा सम्भव थिएन। एङ्गेल्सले आफ्नो सम्पूर्ण उर्जाको प्रयोग गरेर ती पाण्डुलिपिहरुलाई ठीक मार्क्सको दृष्टि र सोचनुरुप तयार गर्नुभो। यतिमात्र हैन,मार्क्सपछि मार्क्सका अरु धेरै अप्रकाशित साहित्य एङ्गेल्सका प्रयासबाटनै प्रकाशित हुन सके। एङ्गेल्स जहिलेसम्म बाच्नुभो,मजदुरहरुको मुक्तिको अभियानमा त निरन्तर लाग्नुभयो नै ,त्यसको अतिरिक्त आफ्ना अभिन्न मित्र कार्लमार्क्सका अधूरा कामहरुलाई पूरा गर्न उत्तिकै खट्नु भो। मार्क्सको देहावसान पछि एङ्गेल्स एक्लो हुनुभो तर मानवमुक्तिको सपनालाई यथार्थमा बदल्ने अभियानमा लागेर एक्लोपन बिर्सिनु भो। यसकारण मित्र हुनु त कार्लमार्क्स र एङ्गेल्स जस्तो।
✍️ झपट रानाभाट, एमाले कास्की का प्रभावशाली र लोकप्रिय नेता हुनुहुन्छ ।
२०८१ बैशाख १५, शनिबार प्रकाशित
1 Minute
248 Views