पोखराका मेयर धनराज आचार्यलाई पोख्रेली युवा विजय पराजुलीको खुल्ला पत्र
सामान्यतया कोही कसैलाई आलोचनाको लागि मात्र खुल्ला पत्र लेख्ने चलन छ । तर मैले न आलोचनाको उद्देश्यले लेखेको हो न त प्रशंसाकै लागि ।बरु काठमान्डौ धनगडी र धरानका मेयरहरुको प्रशम्सनिय गतिविधी नियाल्दै गर्दा पोखरा महानगरको झुटा आश्वासन र गलत कार्यशैली बाट एउटा देशभक्त युवामा निस्केको असन्तुष्टिको झील्को हो ।आशा छ मेरा प्रत्यक बुदाहरुको न्याय सम्बत संबोधन हुनेछ ।
नमस्कार ! मेयर साब म विजय पराजुली ।
गत स्थानीय निर्वाचनमा तपाईले गठबन्धन बाट पर्यटकिय नगरी पोखरा महानगरको मेयर पदमा उम्मेद्वारी दिएर मत माग्न जाँदै गर्दा समय सीमा नै तोकेर स्वच्छ सुन्दर पोखरा निर्माणका लागि विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तिनै प्रतिबद्धता र आवश्वासनका कारण आवश्यक विजयी मत दिएर पोखराबासीहरुले तपाईलाई निर्वाचित मात्र गराएनन् सम्भवत नेपालकै धनाड्य मेयर (५० करोड बराबरको सम्पती )को रुपमा स्थापीत समेत गराएका छन् ।
मेयर साबले कार्यभार सम्हालेको पनी दुई वर्ष पूरा भइसकेको छ । चुनावी घोषणा पत्रमा तपाईले तीन महिना, छ महिना वा एक वर्षभित्र गरिसक्छु भनेका अधिकांश प्रतिबद्धता कागजको पन्नामा मात्र सिमित भए मेयर साब लाई त्यो बिगत स्मरण गराउन चाहान्छु ।
१.तीन महिनाभित्र महानगरमा करको दायरा फराकिलो बनाउने कार्यविधि बनाउने घोषणा गर्नुभएको थियो । तर त्यो घोषणामै सीमित भयो, विगतमा उठ्दै आएको कर पनि अहिले उठ्न सकेको छैन ।
अघिल्ला आर्थिक वर्षहरूमा महानगरले नदीजन्य उत्पादन बिक्री वितरण गरेर बर्सेनि २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । तर यस वर्ष पोखराका ३३ वडामध्ये चालु आर्थिक वर्षमा आधाभन्दा बढी घाट ठेक्कामा जानै सकेनन् जस्का कारण चालु आर्थिक वर्षमा महानगरले करोडौँ रुपैयाँ राजस्व उठाउन असफल भएको थियो ।
२.मेयर साबले तीन महिनाभित्रै ज्येष्ठ नागरिक भत्ता घरदैलोमा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । ज्येष्ठ नागरिकले त्यो सेवा अझै पाएका छैनन् ।
३.घुम्ती अस्पताल सञ्चालन अन्तर्गत “सुन्दर पोखरा स्वास्थ पोख्रेली”कार्यक्रम,अनुसन्धानमा आधारित भएर आवश्यकता अनुसारको विकास परियोजना प्राथमिकता निर्धारण गर्ने र प्राथमिकताको आधारमा परिचयपत्र वितरण गर्ने घोषणा मेयर साबले गर्नुभएको थियो तर ती कामको सुरुवात अझै हुन सकेको छैन । किन ? भोट माग्दा प्रतिज्ञा गरेका बाचाहरु पुरा गर्न सक्नुहुन्न भने कुन नैतिकताको आधारमा मेयर पदमा बस्नुभाछ ?
४.छ महिनाभित्रै सक्षम पोखरा परियोजनाको कार्यविधि बनाउने भन्नुभएको थियो । तर त्यसका लागि अझसम्म कार्यपालिका बैठकमा प्रस्ताव समेत पेस गरिएको छैन ।किन ??
५.आमा समूहमार्फत ‘एक समूह एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने, अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा, महानगरमा कार्यरत विदेशी नागरिकलाई अनिवार्य वर्क परमिटको व्यवस्था गरी करको दायरामा ल्याउने, वेस्ट बैङ्कमार्फत फोहोर खरिद गर्ने प्रणाली सुरु गर्ने कार्यका लागि तपाईले समय सीमा नै तोक्नुभएको थियो । तर यो दुई वर्षको समय गुज्रिँसक्दा पनि केही सुरु भएको देखीदैन । किन?
६.महानगरभित्र ज्येष्ठ नागरिक स्याहार केन्द्र स्थापना गर्ने, निःशुल्क विद्यालय शिक्षाको कार्यान्वयन गर्ने मेयर साबको प्रतिबद्धता थियो । पोखरालाई पर्यटनसँग जोड्न रारा तालसम्म ‘इन्टर लेक एअर कनेक्सन’ गर्ने भने पनि यी सबै प्रतिबद्धता सुरुसमेत हुन सकेको छैन । अध्यन अनुसन्धान बिना चुनाव जित्नकै लागी तयार पारीएका त्यस्ता विषयले कहिले स्थान पाउलान मेयर साब ?
७.महानगरभित्र मेट्रिक ठेगाना प्रणाली लागु गर्ने र स्कुल टु वर्क कार्यक्रम सञ्चालन ल्याउने तपाईको प्रतिबद्धता कहिले कार्यन्वयन हुने ?
८.कृषी उत्पादनमा समर्थन मुल्य कायम गरी महानगरले न्युनत्तम मुल्यमा खरिद गर्ने ब्यवस्था ६ महिना भित्र सम्पन्न गर्ने योजना बाट कति जना कृषक लाभान्वित भए त ?
९.मेयर साबले निर्वाचित भएको पहिलो दिन नै व्यक्तिगत घटना (जन्म दर्ता ,मृत्यु दर्ता,विवाह दर्ता,बसाईसराई)दर्तालाई सहज र सर्वसुलभ बनाउने निर्णय गर्नुभएको थियो । त्यो निर्णय अझै पनी कार्यान्वयनमा आएको छ जस्तो मलाई लाग्या छैन्।
१०.‘फेवा–बेगनास जोड्ने मेट्रो रेल’ घोषणापत्रमा मात्रै सिमित
मेयर साबले चुनावका बेला उम्मेदवारी दिँदै गर्दा मेट्रोबाट फेवा–बेगनास जोड्ने योजना सुनाउनुभएको थियो ।एक तालदेखि आर्को तालसम्म मेट्रो रेल चलाउने योजना घोषणापत्रमा नै उल्लेख गर्नुभएको थियो । लेकसाइडसम्म सडकका दायाँ–बायाँ इलेक्ट्रिक ट्रेन चलाउने योजना सो घोषणापत्रमा समावेश छ । पोखरामा सुरुङ मार्ग निर्माण गर्ने योजनासमेत उल्लेख छ । तर अहिलेसम्म न त अध्ययन भएको छ न बजेट नै छुट्याइएको छ ।
११.यसैगरी फेवा लगायत पोखराका तालहरूको संरक्षण एवं सेती नदीको संरक्षण गर्ने घोषणा गर्नुभएको थियो। तर त्यसका लागि फेवातालको जलकुम्भी टिप्ने बाहेक कुनै काम सुरु भएका छैनन् ।
१२.महानगरभित्र शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका मुद्दालाई सम्बोधन गर्ने, पोखराका ग्रामीण क्षेत्रमा ‘स्याटलाइट टाउन’ बनाउने उल्लेख थियो। ग्रामीण इलाकामा ‘ग्रेटर पोखरा’ को अवधारणासँग तालमेल मिल्ने गरी पाँचवटा स्याटलाइट टाउन निर्माण गर्ने मेयर साबले घाषणा गर्नुभएको थियो ।यी योजनाले मेयर साबलाई पछ्याइरहेका छ । चोक चोकमा आकासे पुल तथा अन्डर पास बनाउने, अन्तर्राष्ट्रिय सभा हल निर्माण गर्ने, स्वचालित ट्राफिक सिग्नल राख्ने, अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार गर्ने, अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने जस्ता पूर्वाधार निर्माण गर्ने मेयर साबको घोषणा पत्रमा उल्लेख थिए । आफ्नो कार्यकालको २ वर्ष बिती सक्दा पनि देखिने गरी कुनै कामको सुरुवात नहुँदा महानगरबासीहरुमा नैरास्यता छाएको छ ।
१३.फेवाताल संरक्षण र पर्यावरणीय सन्तुलनमा मेयर साबको भुमीका
फेवाताल संरक्षण पोखरामा हरेक निर्वाचनमा चुनावी एजेन्डा बन्दै आएको थियो। फेवाताल जोगाउने एजेन्डा मेयर साबको पनि थियो । तर यो ताल दिन प्रतिदिन अतिक्रमण हुँदै गएको छ । तालको मापदण्ड ६५ मिटर भनिएको छ । तर ताल संगै जोडेर होटल निर्माण तथा अन्य संरचना निर्माण क्रम रोकिएको छैन । रातारात फेवाताल नै पुरेर होटेल, रेस्टुरेन्ट बनिरहेका छन् ।
यसअघि सर्वोच्च अदालतले मापदण्ड भित्र रहेका संरचना हटाउन र नयाँ निर्माण रोक्न निर्देशन दिए पनि महानगरले उक्त कार्य रोक्न सकेको छैन । किन ??
१४.पोखरा–८, महेन्द्रपुल स्थीत आर्ट ग्यालरी र पोखरा पुस्तकालयमा डोजर चलाएर मेयर साबले अन्तराष्ट्रिय झन्डा पार्क बनाउँनुभयो ।त्यस क्षेत्रमा डोजर चलाएपछि पोखराको कला साहित्य र शैक्षिक क्षेत्रका व्यक्तिहरुले त मेयर साबले बजेट पचाउने काम मात्र गरेका हुन समेत भनेका थिए । उनीहरूका अनुसार महानगरमा रहेका अन्य अवैध संरचनामा डोजर चलाउनुको सट्टा आफ्नै स्वामित्वका संरचनामा डोजर चलाउनु ‘स्टन्ट’ भएको नगरवासीको भनाइ थियो। महानगरले सो पुस्तकालय र आर्ट ग्यालरीलाई पृथ्वीचोकस्थित ट्राफिक प्रहरीको भवनमा सार्ने जनाए पनी आजसम्म ब्यवस्थापन हुन सकेको छैन ।
१५. पोखरा अन्तराष्ट्रिय विमानस्थल
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि नेपालले चीनको एक्जिम बैंकमार्फत २२ अर्ब रुपैयाँ ऋण लिएको छ।
८ वर्ष अघि लिएको ऋणको किस्ता गत वर्षको चैतदेखि बुझाउनुपर्ने थियो ।ब्याज पनि सामान्य जस्तो सस्तो छैन, दुई प्रतिशत महँगो ब्याज बुझाउनुपर्छ। नेपालले वार्षिक ३३ करोड रुपैयाँ एक्जिम बैंकलाई ब्याज बापत मात्रै बुझाउनुपर्नेछ।२० वर्षमा यो ऋण चुक्ता गर्नुपर्ने शर्त छ।
महँगो ब्याज तिरेर निर्माण गरिएको यो विमानस्थलको प्रतिफल आन्तरीक उडान बाट मात्र संभव होला र मेयर साब? सम्भवत २/३ वटा बाहेक अन्तराष्ट्रिय उडान नभएको विमानस्थल अन्तराष्ट्रिय उडानलाई आकर्षित गर्ने र नियमित गर्ने कार्यक्रमको अभावमा यो विनास्थल सन्चालन संभव छ जस्तो मलाई लाग्दैन ।यसवारे महानगर, प्रदेश सरकार र नेपाल सरकारले समयममै विचार गरोस।विमानस्थलको आर्थिक दायीत्वलाई मद्दत पुर्याउन कमसेकम चिन र भारतबाट नेपाल आउने अधिकांश अन्तराष्ट्रिय उडानहरूले यही पोखरा अन्तराष्ट्रिय विमानस्थल अनिवार्य रूपमा प्रयोग गर्ने प्रणाली भए देखी देखी अलिकति भएपनि आर्थीक भार कम होला की ??
१६.पोखराको सडक
सडक डिभिजन कार्यलय र पोखरा महानगर को उचित सम्न्वय र सहकार्य बिना निर्माण योजना अघि बढाई रहदा सडक निर्माणको काम सन्पन्न भएपछी कहिले खानेपानीको लागी सडक भत्काउनुपर्ने ,खानेपनीको पाईप राख्यो फेरी विद्दुतिय तारहरु भुमीगत भन्दै त्यै सडक भत्काईन्छ अवस्था यस्तो छ जसबाट निस्कने बायु प्रदुषण ले महानगरबासी हैरान छन् । यसको समाधानका लागी महानगरले कस्तो योजना बनाएको छ ।
१७.सार्वजनिक यातायात
पोखरा महानगरभित्र सार्वजनिक यातायातमा सवार गर्दा आन्तरीक तथा बाह्रीय पर्यटक एवमॅ पोखराबासीहरुले झेल्दै आएको समस्याको विषयमा अध्यन गर्दा आरक्षण सीटहरु जस्तै अशक्त/अपांग सिट,महिला सिट ,जोष्ठ नागरीक सिट हरुको प्रभावकारी कार्यन्वयन र अनुगमन हुन नसक्दा यात्रुहरुले केही सास्ती भोग्नुपर्ने अवस्था छ । पुराना सवारी साधनबाट निस्कने धुवा धुलो को कारण पोखराको पर्यावरण लाई समेत प्रत्यक्ष असर गरेको हुन्छ । त्यस्तै आरक्षण कोटामा भाडा सहुलियत भए नभएको अनुगमन ,क्षमता भन्दा दोब्बर तेब्बर यात्रूहरु बोक्ने समस्या ,पाकेटमार देखी महिला हिंसाको गतिविधि लगायत थुप्रै समस्याहरु छन यस्तो समस्या समाधानको लागी पोखरा महानगरको के कस्ता योजनाहरु छन् ??
१८.शिक्षा
पोखरा महानगरपालिका भित्र रहेका शैक्षीक संस्थाहरुको नियमन र अनुगमनमा पोखरा महानगर चुकेक छ भन्दा फरक नपर्ला । पोखरा महानगर भित्र अध्ययनरत विद्यार्थीहरुले नियमअनुसार पाउनु पर्ने शैक्षीक अधिकारको बारेमा महानगर त्यती गम्भीर भएको देखीदैन ।
पोखरा महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्ने हुन्छ तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा महानगरले के कस्तो अनुगमन गरेको छ ??
पोखरा महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं पोखरा महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयहरु लाई यदि नियमअनुसार विवरण पेस नगरेमा पोखरा महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही हुन जरुर छ ।
विशेषत निजी विध्यालयहरुमा विभिन्न अनावश्यक शिर्षकमा अभिभावकहरुसंग चर्को रकम असुल्ने विध्यालयहरुको नियमन कस्ले गर्ने ? कारबाहीको दायरामा कस्ले ल्याउने ?
१९. स्वास्थ्य
पोखरा महानगरपालिका भित्र बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि महानगर निकै संवेदनशील हुन जरुरी छ ।पोखरा महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू भएतापनी आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ ।
पोखरा महानगरपालिका भित्र सन्चालनमा रहेका अस्पताल लगायत औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, अस्पतालहरुमा अनावश्यक चेकजाच भन्दै स्वास्थ्य क्षेत्रलाई ब्यापारको केन्द्र बनाएको प्रष्ट देख्न सकिन्छ ,औषधी व्यवस्था विभागमा दर्ता नभएका पसलबाट औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको प्रत्यक्ष देखीन्छन ।
यसका साथै नार्कोटिक औषधीहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधीहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, Good Pharmacy Practice (GPP) अनुसार औषधी पसल व्यवस्थापन नगरिएको, पोखरा महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम पोखराबासीहरु बाट आइरहेको छ । त्यस विषयमा अनुगमन कहिले गर्ने मेयर साब ?
२०.पोखरीको पृथ्वी चोकमा पृथ्वीनारायण शाह को शालिक कहिले बन्छ र लखन थापाको शालीक कहा स्थान्तरण गर्नुहुन्छ ? यो विषयमा मेयर साब संग मेरो धेरै पटक विमर्श भएको तितो अनुभव छ ।
पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक र राष्ट्रपिताको ईतिहास लाई निन्दा गर्ने मेयर साब को हैसीयत के हो???
गत वर्ष श्रावण २६ गते मध्येराती २ बजे तपाईको हुकुमी आदेश शिरोपर गर्दै तपाईका ती हरीया बर्दिधारी गुन्डाहरुले पृथ्वीचोकको प्रतिमा चोरेर लगे त्यसको भोलीपल्ट म लगायत हामी ४/५ जना युवाहरुको अनुरोधमा फिर्ता गरेतापनी त्यसको २ दिन पछी पुन त्यो ईतिहासको प्रतिक पृथ्वीचोक बाट उठाउन महानगरलाई के बाध्यता पर्यो ??
के पृथ्वीनारायण शाहले नेपाल एकिकरणको अभियान सफल नगरेको भए आज तपाई नेपाली नागरीक हॅु भनेर गर्व गर्न सक्नुहुन्थ्यो ?मेयर पदमा निर्वाचित भएर पोख्रेली माथी शासन चलाउन सक्नुहुन्थ्यो ?
पृथ्वीचोकमा हाल रहेको लखन थापाको शालिक रहनु पुर्व कस्को शालिक थियो ? ईतिहास बिर्सन पाईन्छ ?
हिजो महानगरले बि पी को शालीक गणेशमानको शालीक पनी स्थान्तरण गर्ने भनेको थियो त्यसमा कति सफल हुनु भयो मेयर साब ??कि राष्ट्रपिता प्रतिको अपमान नै तपाईको उदेश्य थियो?
पृथ्वीचोकमा पृथ्वीनारयण शाहको शालिक हटाए पछि किन लखन थापाको राख्न दियो महानगरले ?
के बाबु आमा को संघर्षबिना सन्तानको जिवन जन्म सम्भब छ ?
यदि यो कुनै समुदाय विशेष अपमान गर्ने नियतका साथ भएको हो भने कदापी सैह्य हुनेछैन मेयर साब ।भन्ने बेला राष्ट्रिय बिभुती भन्ने ब्यबहार मा त्यसको बिपरित गर्ने यसको छुट तपाईलाई कसले दियो? देशको प्रथम सहिद लखन थापा प्रति सम्पुर्ण नेपालीको उच्च सम्मान छ र हामी सबैले गरिरहनु पर्दछ किनकी सहिदको रगत र बलिदानले बनेको हो यो हाम्रो देश नेपाल।त्यसैले इतिहासमा राष्ट्र र देश प्रती आफ्नो जिबन समर्पण गर्ने कोहि कसैलाई पनी बिर्सनु हुँदैन। अन्यत्र कहीं स्थान नभए जसरी महानगरले हिजो पृथ्वीनारायण शाहको शालिक स्थापना भएको पृथ्वी चोकमा अर्का राष्ट्र सपुत लखन थापाको शालिक निर्माण गर्नु नै बिबाद(साम्प्रदायीक द्वोन्दको)मुख्य कारक हो। आफ्नो स्वार्थ सिद्धिका लागि जनतालाई पहिचान र जातिय नारा दिएर पोख्रेली पोख्रेलीलाइ लडाउने कुरा किमार्थ स्वीकार्य छैन मेयर साब । हामी सबै मिलेर राष्ट्र निर्माता पृथ्वीनारायण शाह को शालिक पृथ्वीचोकमा र प्रथम सहिद लखन थापा को शालिक सहिद स्मारक पार्क मेथ्लांमा स्थानतरण गरौ।अन्यथा तपाईले गरेका गलत कदम को आत्मसमीक्षा बेलैमा गर्नुभएन भने त्यसपछी उत्पन्न हुने समस्याले विशाल रुप लिन सक्छ त्यस परीस्थीतीको सामना गर्न को लागी समेत मेयर साब लाई तयार रहन अुनरोध गर्दछु ।
२१.सहकारी पिडितले कहिले पाउछन न्याय ?
पोखराको सुर्यदर्शन ,प्राईम लगायत आधा दर्जन बढी सहकारीबाट हजारौं बचतकर्ताको अर्बौ रुपैया गायब पारीएको छ । जसमा वर्तमान गृहमन्त्री समेत मुछिएका
छन् तर पनी वर्ष बित्न लागी सक्दा समेत पिडात बचतकर्ताहरुको समस्या समाधानको पहल देखीएको छैन । फलस्वरुप आज कोही घरबार बिहीन छन् ,कोही पारीवारीक हिंसाको सिकार बनिरहेका छन् भने कतिपयले त आत्महत्याको बाटो समेत रोजीरहेका छन् । यस्तो भयाभह स्थीतीको समाधान गर्न महानगरको के कस्ता योजनाहरु तयार भएका छन् ??
२२.तत्कालीन मेयर मान बहादुर जि सी को कार्यकाल अन्तिममा पातले छागो खहरे घाट सहित सेती खोच ,रामघाट ३५ देखी ४० वर्ष सम्म ,सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत सेती क्यानोनिंग प्रा ली नामक निजी कम्पनीलाई दिने निर्णय कार्यपालीका बैठकबाट स्वीकृत भए पनी नागरीक समाज प्राकृतिक संरक्षण अभियान्ता तथा हामी जस्ता सचेत युवाहरुले बिरोध गरेपछी निर्णय कार्यन्वयन प्रक्रीया अगाडी बढेको थिएन । तर तपाईको नेतृत्वमा बसेको १७ औ कार्यपालीका बैठकबाट (बैसाख ३०-२०८०) निजी क्षेत्रलाई दिन खोज्दा ऊक्त निर्णय बाहिर सार्वजनिक भएको हो । महानगर प्रवक्ता मोतीलाल तिमल्सिना ले ऊक्त निर्णय सदर पुष्टि भएको जानकारी समेत दिनुभएको थियो । सत्ता र शक्तिको आडमा प्राकृतीक स्रोतको दोहन गर्दै निजी कम्पनीलाई त्यो पनी वर्षौ वर्ष सम्म ? पोख्रेली जनताको हित बिपरीत गएर कती कमीसन पाउनु भयो र मेयर साब ले निर्णय कार्यन्वयन गराउनु भो?
मेलै देखेको महानगरको केही सकारात्मक प्रयास
मेयर साबले केही सकारात्मक प्रयास पनि गर्नुभएको छ । महानगरका कार्यालयमा सेवा प्रवाह गर्दा कोठा कोठा चहार्नु पर्ने अवस्थाको अन्त्य गर्नुभएको छ ।
निर्वाचित भएको तीन महिनापछि मेयर साबले महानगरको सेवा प्रवाहमा ‘एकद्वार नीति’ कार्यान्वयन ल्याउनुभएको थियो। महानगर कार्यलयको भित्री कोठाका सबै शाखालाई बाहिर सारिएको थियो त्यसपछी सेवाग्राहीले कागजात लिएर हरेक कोठा कोठामा पुग्नु पर्ने झन्झट अन्त्य गर्नुभएको छ
त्यसागरी हेलो मेयर मार्फत नगरवासीका गुनासा सुन्ने महानगरमा भएका गलत गतिविधी ,भ्रष्टचार,अनियमितता,बारे गुनासो पोख्न सिधै मेयर साबलाई सम्पर्क गर्न सकिने ब्यवस्था मिलाउनुभएको थियो तर मेयर साबको लगातार अनी अनुचित विदेश भ्रमण र पटक पटक गुनासो गर्दा समेत गुनासो संबोधन हुन नसकेको कारण गुनासो गर्ने नागरीकहरु त्यती सन्तुष्ट भने देखीदैनन्।
यस्तै मेयर साबले परियोजना धितोमा युवा व्यवसायीलाई १० लाखसम्म स्टार्ट अपका लागि ऋण दिनेभने पनि गतवर्ष दुई लाखबाट सुरु गर्नुभएको थियो । यो ऋण महानगरभित्रका २५० जनाले पाएका थिए ।
यस्तै पोखरा–१४, बाच्छेबडुवास्थित महानगर भित्रका छाडा चौपीय ब्यवस्थापनको लागी तथा गौ संरक्षणको लागी गौशला निर्माण गरेको थियो । तर अझै पनी पोखराका मुख्य सडकहरुमा छाडा चौपाय त्यतिकै मात्रमा देखीन्छन त्यसको प्रभावकारी ब्यवस्थापनको लागी महानगरले प्रयास गरेको महशुस मैले गरेको छु ।
अन्डरग्राउन्ड पार्किङको व्यवस्था
विसं २०७४ मा निर्वाचित जनिप्रतिनिधिहरूले पार्किङलाई व्यवस्थित गर्न अन्डरग्राउन्ड खाली गर्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको थिएन । सडकमै पार्किङ शुल्क उठाउन ठेक्का लगाइएको थियो । त्यो ठेक्काले पनि नागरिकले कर तिरेअनुसार पार्किङको समस्या उतिकै देखीएपछी मेयर आचार्यले सो पार्किङ ठेक्का रद्द गरेर अन्डरग्राउन्ड खाली गर्ने कार्य गर्नुभएको थियो ।
अन्डरग्राउन्ड पार्किङ अनुमति लिएर बनाएका घरमा अन्य पेसा व्यवसाय गर्नेलाई समयमै खाली गरिसकिएको थियो। आर्थिक वर्ष २०७६/७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवनको नक्सा पास गर्दा महानगरले दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था गरेको थियो ।गत आर्थिक वर्षमा अन्डरग्राउन्डको पार्किङ गर्नेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइएको थियो। राजस्व छुट लिए पनि महानगरभित्रका २५० भन्दा बढी घरले अन्य व्यापार व्यवसाय सञ्चालन गरेको पाएपछि अन्डर ग्राउन्ड खाली गर्न पटक पटक सूचना जारी गरेको थियो । जसमध्ये कतिले खाली गरे गरेनन् महानगर संग रेकर्ड छ होला । सडकमा पार्किङ व्यवस्थित बनाउन चालिएको उक्त कदमको प्रशम्सा समेतत भएको थियो ।
अन्त्यमा
पोखरा महानगरको कार्यक्षेत्र अनी क्षेत्राधिकार भित्र रहेर महानगरबासीका हक हितको पक्षमा,शुसासन र न्यायको पक्षमा अनी पोखराको समग्र विकास र समृद्दिको लागी गैर राजनितिक विज्ञ ब्यक्तिहरु सहितको सल्लाहाकार समीती गठन गरी आवश्यक अनुगमन, विकासका योजना एवंम प्रभावकारी कार्यन्वयन को लागी कार्यकारी भुमीकामा महानगरले ठोस कदम चाल्न जरुरी छ। जस्मा नागरीक समाज सचेत युवा तथा समग्र पोखरा महानगरबासी सॅधै तपाईको साथमा हुने विश्वास समेत ब्यक्त गर्दछु ।
पोखरा महानगरको तमाम समस्या हरुको समाधानको लागी मेयर साबले गर्ने निर्णय ले व्यापक अर्थ राख्नेछ। त्यसैले यो अनुरोध बिन्तीपत्र या खुलापत्र जे भने पनि लेख्ने जमर्को गरे । अन्त्यमा मानवीय संवेदनामा चोट पुग्न गएमा मेरो शब्दार्थ होइन भावार्थ बुझेर क्षमा दिनुहुनेछ भन्ने विश्वास समेत लिएको छु !धन्यवाद।
सचेत युवा /सामाजिक युवा
विजय पराजुली