पोखरा , अभियान श्रेष्ठ
पोल्ट्री व्यवसायी संघ कास्कीको अध्यक्षमा पुण्य प्रसाद पौडेल चयन
पोल्ट्री व्यवसायी संघ, कास्कीका अध्यक्षमा विएस सप्लायर्सका पुण्य प्रसाद पौडेल चयन भएका छन् । शनिवार सम्पन्न संघको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा पौडेललाई चयन गरेको हो ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा पोखरा पोल्ट्रीका सञ्चालक सुर्यप्रसाद पौडेल, उपाध्यक्षमा श्रीकान्त सापकोटा, कोषाध्यक्षमा विकास अधिकारी, सचिवमा लेखनाथ अर्याल, सहसचिवमा हरि भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा राज गुरुङ, शुक्रराज ढकाल, दिपक अधिकारी, सागर पौडेल, हेमराज बराल चयन भएका छन् ।
यसअघि साधारण सभा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका महानिर्देशक डा. प्रेरणा सेँडाई भट्टराईले पोल्ट्री व्यवसायीहरुले कृषि पेसा गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताईन् । महानिर्देशक सेढाँईले पोल्ट्री व्यवसायीका समस्याहरु र आवश्यकताअनुसार काम गर्दै आईरहेकोले व्यवसायीहरुले पनि उपभाक्ताको हितलाई मध्यनजर गरेर सेवा प्रवाह गर्नुपर्ने बताईन् ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष फौद सिंह भण्डारीले यसअघि निर्देशनालयले मासु तथा दुग्ध पदार्थ उत्पादन गर्ने व्यवसायीहरु र उनीरुको समस्याहरुलाई मात्र मध्यनजर गर्ने गरेको बताउँदै विस्तारै पोल्ट्री व्यवसायीहरुको गुनासो पनि सुनिन थालेको बताए ।