२०८१ बैशाख १३ बिहीबार

माओवादीमा ‘पुष्पकमलतन्त्र’

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् ।

पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा दाहाललाई चयन गरे पनि अन्य पदाधिकारी पछि तोक्ने भन्दै प्रतिनिधिलाई घर पठाइएको थियो । फागुनमा बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले छोरीज्वाइँसहित ९७ जना नयाँ केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए । छोरी रेणु र बुहारी बिना मगर भने पहिले नै केन्द्रीय सदस्य छन् । छोरीज्वाइँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको भन्दै केही केन्द्रीय सदस्यले विरोध गरेका थिए ।

तर पार्टीभित्र र बाहिरको आलोचनाको परवाह नगर्ने दाहालले भाइ नारायणलाई राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री देउवालाई मनाएका थिए । एक मन्त्रीका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् ।

माओवादीकै कोटामा परेका रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त पदमा अध्यक्ष दाहालले भाइलाई छानेका हुन् । तर नारायणलाई राष्ट्रिय सभामा सिफारिस गर्नेबारे पार्टीमा औपचारिक छलफल नभएको एक नेताले बताए । १० वर्ष सशस्त्र युद्धमा नारायण पनि सहभागी थिए तर दाहाल परिवारले मात्र पटक–पटक अवसर पाएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । ‘सँगै युद्धमा हिँडेका परिवारलाई साँझ–बिहानको समस्या छ, धेरै घाइतेलाई पार्टीले बिर्सिएको छ तर दाहाल परिवारका सदस्यले भने पटक–पटक मौका पाउने ? यो अनौठो भएको छ,’ माओवादीका एक नेताले भने । नारायण यसअघि पनि पटक–पटक सांसद भएका छन् ।

संविधानसभामा नारायण सभासद बनेका थिए । २०७४ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा दाहालले भाइ नारायणलाई प्रशासनिक सल्लाहकार बनाएका थिए । आठौं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीमा नारायण सदस्य भएका छन् । त्यसअघि नेकपाको वाग्मती प्रदेश अध्यक्ष थिए ।

अध्यक्ष दाहालकी छोरी रेणु पनि केन्द्रीय सदस्य बनेकी छन् । अघिल्लो पटक भरतपुरमा मेयर जिताउन दाहालले कांग्रेससँग तालमेल मात्र गरेनन्, मत नपुग्ने भएपछि माओवादी कार्यकर्ताले मतपत च्यातेर पुनः निर्वाचन गराएका थिए । अहिले पनि माओवादी अध्यक्षले भरतपुरलाई केन्द्रमा राखेर पाँचदलीय तालमेलको प्रयास गरिरहेका छन् । यद्यपि कांग्रेसको स्थानीय नेतृत्वको विरोध छ ।

दाहालले यसअघि बुहारी बिना मगरलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएका थिए । ‘जुनियर’ लाई मन्त्री बनाएको भन्दै त्यसबेला माओवादीभित्र विवादसमेत भएको थियो । कार्यसम्पादन अत्यन्तै कमजोर हुँदा पनि उनी तीन वर्ष मन्त्री रहेकी थिइन् । मगर अहिले संघीय सांसद हुन् । उनी आगामी चुनावी तयारीमा जुटिसकेकी छन् ।

दाहालले पूर्वप्रधानमन्त्रीका रूपमा राज्यबाट सुविधा पाउने गरी कान्छी छोरी गंगालाई स्वकीय सचिव बनाएका छन् । २०७४ को निर्वाचनमा कान्छा ज्वाइँ आचार्यलाई पनि प्रदेशसभा सदस्यको टिकट दिएका थिए । मोरङ–६ को (क) मा प्रदेशको टिकट पाए पनि उनी पराजित भएका थिए । अर्का ज्वाइँ सभामुखको सचिवालयमा छन् । परिवारप्रतिको ‘अतिमोह’ लाई लिएर माओवादी केन्द्रकै नेताहरू टिप्पणी गर्छन्, पार्टीमा ‘दाहालतन्त्र’ जहाँ परिवारबाहिरलाई अवसर दुर्लभ छ ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार