२०८१ बैशाख ८ शनिबार

चुनावको मिति संघारमा आएसँगै चाडपर्वको छुट्टीमा जस्तै काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै किन?

चुनावको मिति संघारमा आएसँगै चाडपर्वको छुट्टीमा जस्तै काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । चाडपर्वमा बसपार्कमा यात्रुहरु गाडी नपाएर अलपत्र परेको भेटिन्छन् । तर, चुनावका बेलामा भने राजनीतिक दल तथा उम्मेदवारहरूले मत सुरक्षित गर्न गाडी रिजर्भ गरेर मतदाता ओसार्ने गरेका छन् । बाहिरी जिल्लाका मतदाताको ठुलो हिस्सा काठमाडौंमा छन् । चुनावमा नेताहरुले आफ्नो पक्षमा मत ल्याउन आआफ्नो क्षेत्रका मतदातालाई आकर्षण गर्ने अभिप्रायले राजनीतिक दल तथा उम्मेदवारले गाडी नै व्यवस्था गरेर मतदाता ओसार्ने गरेका हुन् । चुनावमा गाडी भाडाको व्यवस्था गर्नु कति उचित हो ? यसै सन्दर्भमा आम सर्वसाधारणसँग रातोपाटीले अभिमत बुझेको छः
आफै खर्च गर्न सक्छु : हरि कँडेल, दोलखा
दोलखाका हरि कँडेल भोट हाल्न आउनैपर्छ भनेर कुनै नेताको फोन नआएको बताउँछन् । कोटेश्वरदेखि भोट हाल्न घर हिँडेका कँडेलले आफ्नो इच्छाले भोट दिन हिँडेको बताए । उनी भन्छन्, ‘काठमाडौंबाट मेरो घर पुग्दा पन्ध्र सय जति खर्च हुन्छ । म आफै खर्च गर्न सक्छु । यतिको लागि मलाई नेताको सहयोग चाहिँदैन । भोलि जितेर गाउँ ठाउँको राम्रो विकास गरुन् त्यति भए पुग्छ ।’ गाडीको व्यवस्था गर्नु भनेको भोट किन्नु हो र मतदाताले आफूलाई बेच्नु हो । घरभित्रकै मान्छे उठेको छ भने चाहि सोच्नु पर्छ । होइन भने नातेदार हुन् भनेर भोट हाल्ने होइन । आफ्नासँग सरोकार छैन, जसले राम्रो गर्छ, भोट त्यसैलाई दिने हो । भोट दिएपछि खेर जान नहुने उनको मत छ। भाडाको व्यवस्था उचित तर स्रोत खुल्नु पर्ने : शरद पाण्डे, विद्यार्थी, बुटवल
बुटवल स्थायी घर भएका विद्यार्थी शरद पाण्डे पहिलो पटक मतदान गर्दैछन् । त्यसैले मतदान गर्न निकै उत्साही छन् । अझ विद्यार्थीहरुलाई घर जाने गाडीको व्यवस्था गरिएकोमा मख्ख छन् । बुटवलसम्म एक हजार रुपैयाँ गाडी भाडा अनि बाटोमा खाना, खाजा खर्च पाँच सय रुपैयाँ लाग्छ । एकपटक आउजाउ गर्दा विद्यार्थीको ३ हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले विद्यार्थीलाई भाडाको व्यवस्था गर्नु राम्रो भएको उनको जिकिर छ । भन्छन्,‘ तर नेता वा कुनै पनि पार्टीले विद्यार्थीलाई गर्ने सहयोगको स्रोत के हो भन्ने कुराको भने ख्याल राख्नुपर्छ । भष्ट्राचार गरेर ल्याएको पैसाले सहयोग गर्नु हुँदैन ।’ पाण्डे अगाडि भन्छन्, ‘विद्यार्थी आर्थिक संकटमा हुन्छ । भाडाकै अभावले किन भोट हाल्न जाने भन्ने हुन्छ । पैसाकै अभावले विद्यार्थीले आफ्नो नेतृत्व चयन गर्न पाउने अधिकारबाट वञ्चित गरिनु हुँदैन ।’ मतदान गर्दा उम्मेद्वारको राजनीतिक, सामाजिक आचरण कस्तो छ भनेर हेर्नुपर्छ । आफ्नो क्षेत्रमा त्यो उम्मेदवारको योगदान के छ ? यस्ता कुराहरु हेरेर असल नेतृत्व आउनमा आफूजस्ता युवा मतदाताको ठुलो भूमिका हुने उनले बताए ।
हिजोको दिनमा राम्रो काम नगरेको भ्रष्टाचारमा लिप्तलाई मतदानमार्फत नै नेतृत्वबाट हटाउपर्छ । राजनीतिक अस्थिरताले नेपालीहरुले दुःख पाएको धेरै वर्ष भयो । नयाँ भिजनसहित आउने नयाँ उम्मेद्वारलाई जिताउनुपर्ने राय पाण्डेको छ । गलत नेतालाई भोट हाल्नेसँग आलोचना गर्ने नैतिक अधिकार हुन्नः प्रेमा थापा, शिक्षिका, नवलपरासी, मध्यविन्दु
गलत मान्छेलाई भोट दिनेले पछि नेताले काम गरेन भनेर गाली गर्ने नैतिक अधिकार नहुने धारणा राख्छिन्, नवलपरासी, मध्यविन्दुकी शिक्षिका प्रेमा थापा । उनका अनुसार भोट किन्ने र बेच्ने दुवै गलत हुन् । भोट माग्न हरेक नेता र पार्टीका मान्छे आउँछन् । प्रलोभन पनि देखाउँछन् तर भोट कसलाई हाल्ने भन्ने नितान्त व्यक्तिगत अधिकारको कुरा हो । आफ्नो अधिकार सही नेता छान्नमा लगाउनुपर्ने उनको भनाइ छ । ‘आफूले भोट दिएको नेतालाई गाली गरेर बस्नुपर्छ भने दोष कसको त ? उनी प्रश्न गर्छिन् ।

जनताले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भोट हाल्दा पैसाको आस गर्नै हुन्न । आफ्नो क्षेत्रको समग्र विकास गर्ने नेता हो कि होइन, त्यो हेर्नुपर्छ । फलानो नेताले मेरो लागि केही गरेन भनेर गुनासो गर्ने होइन । भन्छिन्, ‘म एक व्यक्तिको खातिर कोही मान्छे नेता हुने होइन । समाजको लागि गरेको छ भने गुनासो किन ? कमाउन मात्रै लाग्छ भने त्यस्ता नेतालाई जनताले बहिष्कार गर्नुपर्छ ।’ भोट हाल्ने कुरा स्वतन्त्रताको साथै कर्तव्य पनि हो । आफूले रोजेको नेताप्रति मतदाता निर्धक्क हुनुपर्ने उनको जिकिर छ । मनमा दोधार राखेर मत दिन हुँदैन । काठमाडौंदेखि मध्यविन्दुको गाडी भाडा ७ सय रुपैयाँ छ । खाजा यता उता गर्दा एक हजार रुपैयाँ खर्च हुन्छ । नेतृत्व छान्ने मेरो अधिकारको लागि मलाई कुनै पार्टीले २ हजार खर्च पठाउन आवश्यक नभएको उनी बताउँछिन् । मतदानको कुरामा आफू सचेत रहेको थापाको भनाइ छ ।

२०७९ बैशाख २८, बुधबार प्रकाशित 0 Minutes 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार