प्रेमको आकाश
ममता तिवारी
तिमीलाई देखेको दिन
कुनै समुद्र थिएन
कुनै बादलले बुट्टा भरेको
क्षितिज थिएन
बिस्तारै मेरो मायाले शीतका थोपा भएर
बिस्तारै मेरो मनले झरीका बाछिटा भएर
तिमीसम्म बर्सिन छोडेन
दर्किन छोडेन ।
के भएको हो थाहा छैन
जब पीडाको पोखरीमा हुन्छु
तिमीलाई सम्झेर तैरिन्छु
जब दु:खको खाल्डोमा खस्छु
तिमीलाई ख्याल गरेर निस्कन्छु ।
सपनामा म्वाइ खाएर
विपनीमा झनै सम्झेको नि हो
सम्झी सम्झी तिमीलाई
जून तारा नि गनेकै हो ।
अचेल फुलबारीमा नि तिमी
पानीका छालमा नि तिमी
उठ्दा बस्दा तिमी
उत्तर आउँछ कताबाट ।
मैले फेरेको सास
मैले खाएको गाँस
मेरो जिउको कपास
सबै सबैमा तिमी ।
यो आकाशमा तारा धेरै छन्
नाम जान्दिन म
यति थाहा छ
घाम र जूनको
अर्को नाम हो तिमी र म
अनि यो सिङ्गो आकाश हो मेरो प्रेम ।
✍️ ममता तिवारी ॥
(अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, न्यु साउथ वेल्स, अष्ट्रेलिया प्रमुख)