२०८१ बैशाख १३ बिहीबार

मलेसियामा आफ्नो साथीकै योजनामा सामूहिक बलात्कृत हुँदै नेपाली युवतीहरू ।

तनहुँ ढोरफिर्दीकी उमा अधिकारी (नाम परिवर्तन) मलेसिया रोजगारीमा पुगेको आधा दशक भयो । उनी मलेसिया गएपछि स्वदेश फर्कन पाएकी छैनन् । साथमा राहदानी नभएका कारण अवैध रूपमा बसेर काम गर्न उनी बाध्य भएकी छिन् । करिव दुई साताअघि आफू सामुहिक बलात्कारमा परेको भन्दै मलेसियास्थित नेपाली दूतावासको सम्पर्कमा अधिकारी आएकी थिइन् । हाल उनी स्वदेश फिर्ती सेल्टरमा बसेकी छिन् ।

सामाजिक सञ्जालमार्फत बिश्वपाटीको सम्पर्कमा आएकी उनले अवैध रूपमा बसेकै कारण आफूले शारीरिक, मानसिकदेखि याैन यातना भाेग्नुपरेकाे बताइन् । ‘७ वर्ष अगाडि मलेसिया रोजगारीका लागि आएकी थिएँ । यहाँ आएको दुई वषपछि अवैध रूपमा बसेर कम्पनी फेर्दै काम गरिरहेको छु । यति नगरे मलेसियाकाे प्रहरीले समातिहाल्छ’, उनले भनिन् ।

उनी मलेसियाकाे क्वालालाम्पुर शहर त्रिपुराको ग्रामेन्टमा काम गरिरहेका बेला दुई पटक बलाकृत भएकी हुन् । अधिकारी जस्तै एक महिनाअघि सामूहिक बलात्कारमा परेको भन्दै नेपालको स्थायी ठेगाना नखुलाएकी रमना सार्की (नाम परिवर्तन) पनि दूतावासको सम्पर्कमा पुगिन् ।

सार्कीले आफूमाथि जोरवारु शहरनजिकै मलेसिया टाउनभित्रको कृषि फार्ममा सामूहिक बलात्कार भएकाे जानकारी दूतावासमा गराएकी थिइन् ।  सार्की पनि ८ वर्षयता मलेसियामा अवैध रुपमा काममा बसिरहेकी छन् । मलेसियामा कोरोनाका कारण अवैध रूपमा काम गर्दै बसेका नेपाली महिला कामदार धेरै असुरक्षित भएका छन् । अवैध रूपमा बसेका कारण नेपाली र भारतीय मूलका कामदारहरूको सहयोगमा बस्नुपर्दा सामूहिक बलात्कारकाे शिकार हुनुपरेको सार्की बताउँछिन् ।

मलेसियामा कार्यरत नेपाली कामदारले नै भारतीय र बंगाली श्रमिकसँग पैसा लिएर सामूहिक बलात्कार गराउने गरेको उनले बताइन् । ‘म कृषि फार्ममा कार्यरत थिए । त्यही मसँगै काम गर्ने लमजुङका केशव परियार नाम बताउने व्यक्तिले ३ जना बंगालीसँग ८ सय रिंग्रेट लिएर सामूहिक बलात्कार गराए’, उनले भनिन्, ‘अवैध रूपमा बसेका कारण बलाकृत भएपछि उजुरी गर्नै सकिनँ । अन्याय सहेर बस्नुपर्‍याे । उजुरी गर्न जाँदा उल्टो प्रहरीले समाउँछ ।’

सार्की दुईवर्ष यता पटक–पटक सामूहिक बलात्कारमा परेकी छिन् । अवैध बसेका कारण नेपालीहरूले नै झुक्याएर अथवा नशालु पदार्थ खुवाएर बलात्कार गर्ने गरेकाे सार्की गुनासो गर्छिन् । सार्कीजस्तै मलेसियाको त्रिपुरा शहरमा सामूहिक बलात्कारमा परेकी जोशीको समस्या पनि उस्तै छ ।  उनी ग्रामेन्ट कम्पनीभित्र लुगा मिलाउने काम गर्दै आएकी थिइन् ।

मासिक १ हजार ३ सय रिंग्रेट तलब कमाइरहेकी जोशिको साथीको लहैलहैमा लागेर बलाकृत हुनुपरेको बताउँछिन् । ‘मलेसियामा काम गर्दै बसेकी बागलुङकी ममता गुरुङले सामूहिक बलात्कार गराइन् । उनले एक दिन भारतीय साथीको काेठामा पार्टी खान लगिन् । पहिले भारतीय २ जना पुरुषसँग मलाई ल्याउँछु भनेर पैसा लिएकी रहेछ’, उनले भनिन्, ‘एक पटक बलात्कार गरेपछि भारतीय पुरुषले भिडियो छ भनेर ब्ल्याककमेलिङ गर्न थाले । त्यसपछि कम्पनी छाडेर भागे । मलाई बलात्कार गराउने गुरुङ पनि कम्पनी छाडेर भागिन् ।’

अधिकारी र सार्की हाल मलेसियाको स्वदेश फिर्ती केन्द्रमा छन् ।

मलेसिया अवैध बसेका नेपाली कामदारका समस्या बाहिर नआउने गरेको र उनीहरू धेरै समस्या भोगेर लुक्दै काम गरिरहेको नेपाली दूतावासका श्रम कन्सुलर पन्थी बताउँछन् । ‘अवैध रूपमा बसेका नेपालीहरूलाई समस्या परे तत्काल सहयोग गर्नसक्ने अवस्था हुँदैन । यो नै मुख्य समस्या हो । अवैध बसेका कामदार दूतावाससम्म आइपुग्न नै गाह्राे छ’, उनले भने ।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार