२०८१ बैशाख ६ बिहीबार

एमालेले उच्च आय भएका ५ हजार सदस्यबाट प्रति महिना ५ हजार रुपैयाँ उठाउने I

काठमाडौँ । एमालेले पार्टीको दिगो आर्थिक स्रोतका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गर्ने भएको छ । यही चैत ९ र १० गते बसेको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गर्दै उक्त अभियान कार्यक्रमसमेत सुरु गर्ने निर्णय गरेको हो ।

२०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँग एकीकरण भएपछि पार्टीको कोष व्यवस्थापन तथा नियन्त्रणका लागि बनेको नेकपा एमाले केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय रहेकाले नयाँ विनियम पारित गरिएको एमालेले जनाएको छ ।

त्यसका लागि एमाले अध्यक्षले अन्तरपार्टी निर्देशन (अपानी) पनि जारी गरेको छ । आर्थिक स्रोत जुटाउनका लागि विभागका प्रमुखले ‘५ हजार लेभी दिने ५ हजार जना अभियान’ केन्द्रीय कमिटीले सुरु गर्ने निर्णय गरेको हो । जसअनुसार एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना ५ हजार रुपैयाँका दरले योगदान गर्नेछन् ।

अध्यक्ष ओलीद्वारा जारी अपानीमा पार्टीलाई योगदान गर्न इच्छुक नेताहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउनसमेत उल्लेख गरिएको छ । अध्यक्ष ओलीद्वारा जारी अपानीमा भनिएको छ, ‘एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो ।

आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरुको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिन्छ ।’ प्रतिमहिना ५ हजार जनाले ५ हजार रुपैयाँ सहयोग गरेमा एमालेले महिनामै २ करोड ५० लाख रुपैयाँ र वर्षमा ३० करोड रुपैयाँ उठाउने छ ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार