पोखरा । अविरल वर्षाले काहुँखोला-सिक्लेस-दूधपोखरी सडक खण्डमा आएको पहिरोले सडक पूर्णरूपले अवरुद्ध छ ।
सडक खण्डअन्तर्गत पर्ने मादी गाउँपालिका वडा नं. ७ ढोडेनी र तिलहर भन्दा माथिको ठाउँमा, मादी-६ स्थित तप्राङ र चिप्लीविचको खोलामा, मादी-१ स्थित पदुखोलाको वारी र पारी दुई स्थानमा ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको मादी गाउँपालिकाका वडा नं. १ का अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा पोखरासम्म बिरामी, वृद्ध, पर्यटकहरूलाई आवतजावत गर्न कठिनाइ भएको अध्यक्ष गुरुङले बताए । वर्षाले नरोकिएको र पहिरो झर्नेक्रम पनि जारी रहेकाले पहिरो पन्छ्याउन पनि समस्या भएको बताइन्छ । पहिरो पन्छाएर तत्काल सडक सञ्चालन गर्नका लागि मादी गाउँपालिकाको कार्यालय, गण्डकी प्रदेश सरकारसंग आग्रह गरिएको उनले बताए ।
पहिरो पन्छाएर सडक खुलाउने विषयमा मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष दुर्गा गुरुङ, ६ का वडाध्यक्ष दिलवहादुर क्षेत्री र १ का वडाध्यक्ष गुरुङबीच सम्वाद भइरहेको बताइन्छ ।