सिड्नीमा ‘नेपाली नयाँ वर्ष २०८३’ को भव्य उत्सव: संगीत, संस्कृति र एकताको महाकुम्भ
सिड्नीमा भव्य रूपमा ‘नेपाली नयाँ वर्ष २०८३’ विशेष कार्यक्रम आयोजना हुँदै
सिड्नीस्थित Auburn Nepalese Community को आयोजनामा तथा ISAN Education को सहकार्यमा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। अष्ट्रेलियामा बढ्दो नेपाली समुदायलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम आगामी १४ अप्रिल दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम Granville Park, Merrylands, NSW 2144 मा आयोजना गरिनेछ र सबैका लागि निःशुल्क प्रवेश (Free Entry) रहने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालका चर्चित गायक–गायिका तथा कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। लोकप्रिय गायक रमेशराज भट्टराई, सुप्रसिद्ध गायिका अन्जु पन्त र सिर्जना खत्रीसहित जेनिशा गौतम, श्रेया ग्यावली र सरिना सैंजुजस्ता कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। साथै, Urban Folk Performing Live तथा The Actials Nepal ब्यान्डको लाइभ संगीतले कार्यक्रमलाई थप आकर्षक बनाउनेछ। यससँगै सुष्मा, स्वेता र क्रिशाजस्ता डान्सरहरू, लिजा एण्ड टीम ललिगुराँस डान्स ग्रुप तथा Team Tamang Society of NSW & Group का सांस्कृतिक प्रस्तुतिहरू पनि कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्।
कार्यक्रमलाई व्यवस्थित र मनोरञ्जनपूर्ण बनाउन डोमा तामाङ, अजिना कार्की तथा सबला बस्नेतले होस्टको भूमिका निर्वाह गर्नेछन्। कार्यक्रममा सहभागी दर्शकहरूले नेपाली सांस्कृतिक झल्को, परम्परागत नृत्य, आधुनिक संगीत तथा सामुदायिक सहभागिताको अद्वितीय अनुभव प्राप्त गर्नेछन्।
यस कार्यक्रमलाई Remitly ले ‘Powered by’ को रूपमा साथ दिएको छ भने ETC Education & Training Partner र Keep Caring Pty Ltd NDIS Provider Partner का रूपमा रहेका छन्। Gold Sponsor का रूपमा REM Facility Management रहेको छ भने Cumberland City Council को समर्थन पनि रहेको छ। कार्यक्रम सफल बनाउन विभिन्न फूड पार्टनर, ग्रोसरी, फङ्सन, रिमुभल तथा अन्य व्यवसायिक साझेदारहरू सक्रिय रूपमा सहभागी हुनेछन्। कार्यक्रममा नेपाली परिकारहरू सहित विभिन्न फूड स्टलहरू पनि रहनेछन्, जसले उपस्थित दर्शकहरूलाई नेपाली स्वादको अनुभूति गराउनेछ।
अष्ट्रेलियामा नेपाली समुदायको विस्तारसँगै यस्ता कार्यक्रमहरूले नेपाली पहिचान, भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। पछिल्लो समय सिड्नी, मेलबर्न, ब्रिस्बेन लगायतका शहरहरूमा नेपाली नयाँ वर्ष, दशैं, तिहार, तीज जस्ता पर्वहरू सामूहिक रूपमा मनाउने चलन बढ्दै गएको छ। यस्ता कार्यक्रमहरूले विदेशमा जन्मिएका नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरा चिनाउन मद्दत गर्नुका साथै विभिन्न पेशा, अध्ययन र व्यवसायमा संलग्न नेपालीहरूलाई आपसी नेटवर्किङ र सहकार्यको अवसर पनि प्रदान गर्छन्।
विशेषगरी नयाँ वर्षजस्ता अवसरहरूमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूले नेपाली कला, संगीत, नृत्य र परम्परागत भेषभूषालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुर्याउँछन्। यसले नेपाली समुदायलाई मात्र होइन, बहुसांस्कृतिक अष्ट्रेलियन समाजलाई पनि नेपाली संस्कृति बुझ्ने अवसर प्रदान गर्छ।
आयोजकका अनुसार, “नेपाली नयाँ वर्ष २०८३” कार्यक्रम केवल मनोरञ्जन मात्र नभई नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचान मजबुत बनाउने एउटा साझा मञ्च हो। कार्यक्रम सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नयाँ वर्षलाई उल्लासमय वातावरणमा स्वागत गर्न आग्रह गरेका छन्।
CALA द्वारा अष्ट्रेलियामा नेपाली नयाँ वर्ष २०८३ सांस्कृतिक कार्यक्रम आयोजना
Culture Arts and Language Academy को आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर अष्ट्रेलियामा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम १२ अप्रिल २०२६ मा ग्लेनरोय सिनियर सिटिजन हलमा साँझ ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
विदेशमा बसोबास गर्दै आएका नेपालीहरूलाई आफ्नो भाषा, कला र संस्कृतिसँग नजिक ल्याउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। विशेषगरी नेपाली नृत्य, पारम्परिक भेषभूषा प्रदर्शन, सांगीतिक प्रस्तुति तथा विभिन्न सांस्कृतिक झलकहरूले कार्यक्रमलाई आकर्षक बनाउने अपेक्षा गरिएको छ।
अष्ट्रेलियामा नेपाली समुदाय पछिल्लो केही वर्षयता तीव्र रूपमा वृद्धि हुँदै गएको छ। अध्ययन, रोजगारी तथा स्थायी बसोबासका लागि आएका नेपालीहरू अहिले अष्ट्रेलियाका विभिन्न सहरहरूमा सक्रिय रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूले यहाँको आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। यद्यपि, व्यस्त जीवनशैली र फरक परिवेशका कारण आफ्नै संस्कृति र परम्परासँग टाढा हुने सम्भावना पनि रहन्छ। यस्ता अवस्थामा यस प्रकारका कार्यक्रमहरूले नेपाली पहिचान जोगाउन र नयाँ पुस्तालाई आफ्नो जरा सम्झाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छन्।
कार्यक्रममा सहभागीहरूका लागि स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिनुका साथै “Meet and Greet” सत्रमार्फत समुदायबीच चिनजान, अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गर्ने अवसर पनि उपलब्ध हुनेछ। यसले अष्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र एकता अझ मजबुत बनाउने विश्वास गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था तथा व्यवसायिक साझेदारहरूको पनि उल्लेखनीय सहयोग रहनेछ। आयोजकका अनुसार यस्ता सांस्कृतिक जमघटहरूले नेपाली समुदायलाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य, नेटवर्किङ र सामुदायिक विकासमा टेवा पुर्याउने गर्छन्।
आयोजकले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइसँगै उपस्थित भई नयाँ वर्ष २०८३ लाई भव्य रूपमा स्वागत गर्न आग्रह गरेको छ। साथै, यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउँदै आफ्नो भाषा, संस्कृति र पहिचानलाई जोगाउन सबैलाई सक्रिय हुन अनुरोध गरिएको छ।
फेन्काद्वारा न्यू साउथ वेल्समा एक्सन टिम गठन, डेपुटी कोर्डिनेटरमा चिरन तिवारी
फेन्काको न्यू साउथ वेल्स राज्य समिति गठन
फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (फेन्का) ले आफ्ना गतिविधिहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले बिहीबार आयोजित छलफल तथा बैठकमार्फत न्यू साउथ वेल्स राज्यको ५ सदस्यीय “सिड्नी एक्सन टिम” गठन गरेको छ।
उक्त टिममा डेपुटी कोर्डिनेटरमा चिरन तिवारी तथा सदस्यहरूमा क्रमशः सुमन व्यौपाने, आनन्द श्रेष्ठ, अन्जु शर्मा घिमिरे र अनिल ज्ञवाली चयन भएका छन्।
फेन्का न्यू साउथ वेल्सका कोर्डिनेटर मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेन्का अष्ट्रेलियाका सचिव डा. प्रकाश पौडेल तथा ग्रेटर सिड्नीका अध्यक्ष एवं फेन्का न्यू साउथ वेल्सका निर्वतमान कोर्डिनेटर बिष्णु हमालको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले नवगठित एक्सन टिमले राज्यभर छरिएका सामुदायिक संस्थाहरूलाई एकताबद्ध गर्दै सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने, मानव विकास तथा क्षमता अभिवृद्धिमा योगदान पुर्याउने र अझ प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
अन्तरक्रियात्मक छलफलमा डा. राजु मानन्धर, सुमन न्यौपाने, बसन्तराज ओझा, जीवन मैनाली, चिरन तिवारी, अन्जु शर्मा घिमिरे, दीपकर अधिकारी लगायत सामुदायिक अगुवाहरूले आ-आफ्ना सुझाव तथा धारणा राखेका थिए।
सन् २०१८ को अगस्टमा अष्ट्रेलियामा स्थापना भएको फेन्का नेपाली संघसंस्थाहरूको साझा संयन्त्रको रूपमा क्रियाशील छ। संस्थाले मानव परिचालन, सहभागितामूलक सिकाइ, क्षमता अभिवृद्धि, नीतिगत पैरवी, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शिक्षा जागरण, नेतृत्व विकास, सशक्तीकरण, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
हाल अष्ट्रेलियाभर रहेका १२१ वटा सामाजिक संघसंस्थाहरू फेन्कामा आबद्ध रहेका छन् भने न्यू साउथ वेल्समा मात्रै ४७ वटा संस्थाहरू सक्रिय रूपमा आवद्ध भई समुदायमा कार्यरत छन्।
निर्वाचनको कठोर सन्देश: नेकपा (एमाले)का लागि पुनर्जागरणको ऐतिहासिक अवसर
निर्वाचनको कठोर सन्देश: नेकपा (एमाले) का लागि पुनर्जागरणको ऐतिहासिक अवसर
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण सन्देश दिएको छ। १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये केवल ९ सिट जित्न सफल भएको नेकपा (एमाले) का लागि यो परिणाम सामान्य चुनावी हार मात्र होइन, गहिरो राजनीतिक चेतावनी पनि हो। लामो समयसम्म देशको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पार्टीका लागि यो परिणामले संगठन, नेतृत्व शैली र नीति निर्माणको तरिकामाथि गम्भीर पुनर्विचार गर्नुपर्ने आवश्यकता स्पष्ट पारेको छ।
पछिल्ला केही वर्षदेखि देशभर युवाहरूको असन्तुष्टि, सुशासनको माग, र नयाँ राजनीतिक संस्कृतिको खोजी बढ्दै गएको थियो। यही पृष्ठभूमिमा आएको चुनावी परिणामले जनताले अब पुरानो शैलीको राजनीतिलाई स्वीकार गर्न नसक्ने सन्देश दिएको छ। विशेषगरी युवा मतदाताको ठूलो हिस्साले परिवर्तनको पक्षमा मतदान गरेको विश्लेषणहरू सार्वजनिक भइरहेका छन्।
सामूहिक जिम्मेवारीको समय
यस चुनावी परिणामको जिम्मेवारी केवल केही शीर्ष नेताहरूमा सीमित गर्न मिल्दैन। केन्द्रीय कमिटीदेखि वडा तहसम्मका सम्पूर्ण संरचनाले आफ्नो भूमिका र कमजोरीबारे इमानदार आत्मसमीक्षा गर्न आवश्यक छ।
पार्टीभित्र धेरै वडा, नगर, जिल्ला तथा प्रदेश समितिहरू लामो समयदेखि प्रत्यक्ष प्रतिस्पर्धात्मक प्रक्रियाबाट भन्दा पनि माथिल्लो नेतृत्वको सिफारिस वा मनोनयनबाट गठन हुँदै आएका छन्। यसले संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाएको मात्र होइन, कार्यकर्ताको सक्रियता र विश्वासलाई पनि क्रमशः घटाएको छ।
त्यसैले अब सुधार केवल केन्द्रीय कमिटीको पुनर्गठनमा सीमित हुनु हुँदैन। वडा कमिटी, नगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीसम्म व्यापक पुनर्संरचना आवश्यक छ। खुला र पारदर्शी प्रक्रियाबाट नेतृत्व चयन गर्ने, कार्यकर्ताको मतलाई सम्मान गर्ने र संगठनलाई तलबाट माथि सुदृढ बनाउने अभ्यास सुरु गर्नुपर्छ।
अन्तर्राष्ट्रिय संगठनको पनि पुनर्गठन आवश्यक
पार्टीसँग विदेशमा पनि ठूलो संख्यामा कार्यकर्ताहरू सक्रिय छन्, जसलाई संगठित गर्न विभिन्न देशहरूमा अन्तर्राष्ट्रिय कमिटीहरू गठन गरिएको छ। विशेषगरी Overseas Nepali Forum (ONF) मार्फत विश्वभर रहेका नेपाली समर्थकहरू पार्टीसँग जोडिएका छन्।
तर पछिल्ला वर्षहरूमा यी अन्तर्राष्ट्रिय संरचनाहरू पनि प्रभावकारी रूपमा काम गर्न नसकेको, आन्तरिक लोकतन्त्र कमजोर भएको र नेतृत्व चयनमा पारदर्शिता नदेखिएको भन्ने गुनासोहरू बढ्दै आएका छन्।
यस सन्दर्भमा पार्टीले गम्भीर निर्णय लिन आवश्यक छ—
हाल रहेका अन्तर्राष्ट्रिय कमिटीहरूलाई विघटन गरी नयाँ संरचना निर्माण गर्ने।
नयाँ कमिटी गठन गर्दा खुला, पारदर्शी र लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिनुपर्छ। विदेशमा रहेका युवा, पेशागत रूपमा सफल र समुदायमा सक्रिय नेपालीहरूलाई नेतृत्वमा ल्याउन सके पार्टीको अन्तर्राष्ट्रिय नेटवर्क अझ बलियो बन्न सक्छ।
नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने आवश्यकता
नेपालको जनसंख्यामा युवाहरूको ठूलो हिस्सा रहेको छ। यही पुस्ताले हालका राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण भूमिका खेलेको छ।
तर परम्परागत राजनीतिक दलहरू अझै पनि पुरानै नेतृत्व संरचनामा सीमित देखिन्छन्।
अब पार्टीले स्पष्ट रूपमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने नीति लिनुपर्छ। युवा, शिक्षित, ऊर्जावान र समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिहरूलाई वडा तहदेखि केन्द्रीय तहसम्म नेतृत्वमा ल्याउन सके मात्र संगठनमा नयाँ ऊर्जा आउन सक्छ।
युवालाई केवल औपचारिक सहभागितामा सीमित नगरी नीति निर्माण र निर्णय प्रक्रियामा सक्रिय भूमिका दिनु आवश्यक छ।
बलियो राष्ट्रिय एजेन्डा आवश्यक
संगठनात्मक सुधारसँगै पार्टीले देशका प्रमुख समस्यालाई सम्बोधन गर्ने स्पष्ट राष्ट्रिय एजेन्डा पनि अघि सार्नुपर्छ। उदाहरणका लागि:
१. रोजगारी र आर्थिक विकास
उद्योग, पर्यटन, कृषि आधुनिकीकरण र प्रविधिमा आधारित स्टार्टअपलाई प्रोत्साहन गरेर युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति।
२. भ्रष्टाचार नियन्त्रण र सुशासन
डिजिटल प्रशासन, पारदर्शी सार्वजनिक खरिद प्रणाली र स्वतन्त्र अनुसन्धान संयन्त्रमार्फत भ्रष्टाचार विरुद्ध कडा कदम।
३. शिक्षा र सीप विकास
प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिँदै शिक्षा प्रणालीलाई रोजगारसँग जोड्ने सुधार।
४. कृषि आधुनिकीकरण
सिँचाइ विस्तार, आधुनिक कृषि प्रविधि र कृषि उद्योगमार्फत ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने नीति।
५. ऊर्जा र पूर्वाधार विकास
जलविद्युत उत्पादन विस्तार, ऊर्जा निर्यात र आधुनिक सडक तथा डिजिटल पूर्वाधार विकासमा केन्द्रित दीर्घकालीन योजना।
परिवर्तनको ऐतिहासिक अवसर
हालको निर्वाचन परिणामले स्पष्ट संकेत दिएको छ—जनता परिवर्तन चाहन्छन्।
यदि नेकपा (एमाले) ले इमानदार आत्मसमीक्षा गर्दै संगठनात्मक पुनर्संरचना, अन्तर्राष्ट्रिय कमिटीहरूको सुधार, युवा नेतृत्वको विकास र जनतामुखी एजेन्डा अघि सार्न सक्छ भने भविष्यमा पुनः बलियो राजनीतिक शक्तिका रूपमा उदाउन सक्ने सम्भावना अझै पनि छ।
तर यदि पुरानै शैली, बन्द संरचना र सीमित नेतृत्वमा पार्टी अल्झिरह्यो भने जनताको विश्वास पुनः प्राप्त गर्न झनै कठिन हुनेछ।
यसैले अहिलेको क्षण पार्टीका लागि संकट मात्र होइन—पुनर्जागरणको अवसर पनि हो।सुधार र नविकरणको बाटो रोज्ने कि जनविश्वासबाट अझ टाढा जाने।प्रश्न केवल यत्ति हो: पार्टीले यो अवसरलाई कति गम्भीरतापूर्वक लिन्छ?
नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा मुक्ति राम पोखरेल चयन
नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा मुक्ति राम पोखरेल चयन
सिड्नी। नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (NBDA) को दोस्रो वार्षिक साधारण सभा (AGM) शनिबार, ३१ जनवरी २०२६ का दिन सिड्नीको मेरिल्याण्ड्सस्थित NRNA कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम एसोसिएसनकी अध्यक्ष रञ्जिता भण्डारीको अध्यक्षतामा तथा न्यू साउथ वेल्स, अष्ट्रेलियाका अवैतनिक महावाणिज्यदूत सञ्जिव कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सल्लाहकार सूर्य गौतमले गर्नुभएको थियो।
सभामा “रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात् गर्दै हालसम्म उल्लेखनीय रक्तदान गर्ने व्यक्तिहरू भेषबहादुर थापा, अमेध थापा, विशाल भण्डारी, कमल चापागाईं, सविना बस्याल, प्रकाश पन्थी, उमनाथ सुवेदी, मुक्ति राम पोखरेल, सरोज पाण्डे लगायतलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रमुख अतिथि शर्माले एसोसिएसनले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएको योगदानको उच्च प्रशंसा गर्दै आफ्नो धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा NBDA का संरक्षक विनोद मैनाली, सल्लाहकार तथा समाजसेवी एवं एनआरएनए ओसियानिया संयोजक दिनेश पोखरेल, फेन्का न्यू साउथ वेल्सका को–अर्डिनेटर मुक्ति राम पोखरेल, सल्लाहकार सूर्य गौतम, अध्यक्ष रञ्जिता भण्डारी, आरएसएन सचिव कमल चापागाईं, पत्रकार डा. राजु मानन्धर, एनआरएनए न्यू साउथ वेल्स सचिव प्रताप पन्थी लगायतले रक्तदानजस्तो मानवीय सेवाले मानव जीवन बचाउन पुर्याउने योगदानबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
साधारण सभाबाट सर्वसम्मत रूपमा आगामी दुई वर्ष (२०२६–२०२८) का लागि मुक्ति राम पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमितिमा:
• उपाध्यक्ष: चन्द्र ढकाल
• सचिव: प्रशन्ना दाहाल
• कोषाध्यक्ष: सविना बस्याल
कार्यकारी सदस्यहरू:
अनिश मिश्र, नवीन गौतम, प्रह्लाद चापागाईं, रस्ना पालाञ्चोके, सुर्योतम दाहाल, रमेश सापकोटा, शंकर प्रसाद शर्मा, जमुना रोका र सरोज पाण्डे रहेका छन्। अन्य राज्यका समितिहरू पछि गठन गर्ने निर्णय पनि सर्वसम्मत रूपमा गरिएको छ।
यसैगरी, संरक्षक (Patrons) का रूपमा विनोद मैनाली, भूपाल सिटौला र रञ्जिता भण्डारी नियुक्त भएका छन्।
सल्लाहकार (Advisors) मा क्रमशः सूर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी, डा. राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे नियुक्त भएका छन्।
कार्यक्रममा बोल्दै NBDA का स्तम्भ, अग्रणी रक्तदान अभियानकर्ता तथा उच्च रक्तदाता एवं संरक्षक विनोद मैनालीले रक्तदानले आत्मसन्तुष्टि, सामाजिक सम्मान र सबैभन्दा महत्वपूर्ण मानव जीवन रक्षा गर्ने कार्य गर्ने उल्लेख गर्दै स्वस्थ व्यक्तिको रक्तदानले कमजोरी नल्याउने बरु समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए।
निवर्तमान अध्यक्ष रञ्जिता भण्डारीले आफ्नो अन्तिम अध्यक्षीय मन्तव्य व्यक्त गर्दै समुदायमा सशक्त रक्तदान संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन्। साथै, आफ्नो कार्यकालमा NBDA ले हासिल गरेका उपलब्धि र गतिविधिको प्रगति विवरण प्रस्तुत गरिन्।
नव-निर्वाचित अध्यक्ष, प्रतिष्ठित स्वयंसेवक, रक्तदान अभियानकर्ता तथा सामुदायिक अगुवा मुक्ति राम पोखरेलले अध्यक्षीय मन्तव्य दिँदै भने,
“NBDA का सम्मानित सदस्यहरूले ममाथि व्यक्त गर्नुभएको विश्वासप्रति म हार्दिक आभार व्यक्त गर्दछु। संस्थाको अपेक्षा अनुसार जिम्मेवारी वहन गर्दै समर्पित टोलीका रूपमा सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले आगामी दिनमा विभिन्न सामुदायिक संस्थाहरूलाई NBDA सँग जोड्दै रक्तदान अभियानलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको बताउँदै सबै समुदाय अगुवा, सदस्य, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा विभिन्न सामुदायिक संघ–संस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, रक्तदाता तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
“डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण” विषयक कार्यक्रम सिड्नीमा सम्पन्न
अष्ट्रेलिया, २२ जनवरी
संवाददाता : मुक्तिराम पोखरेल
“डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण” भन्ने नाराका साथ डिजि स्कुल अष्ट्रेलियाको आयोजनामा एक विशेष शैक्षिक तथा अन्तरक्रियात्मक कार्यक्रम अष्ट्रेलियाको सिड्नीस्थित टाउन हलमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम SoftEd Group of Companies अन्तर्गतका Softwarica College of IT and E-Commerce तथा UniCampus Global को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट आएका डिजि स्कुल ग्लोबलका प्रोफेसरहरू, शिक्षा प्रेमीहरू तथा कलेजका प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ई–कमर्स, आईटी तथा डिजिटल प्रविधिसम्बन्धी गुणस्तरीय शिक्षाका विषयमा साक्षरता अभिवृद्धि, टिम स्वागत तथा अन्तरक्रियात्मक छलफल गरिएको थियो।
कार्यक्रम डिजि स्कुल ग्लोबल नेपालका अध्यक्ष, शिक्षा प्रेमी तथा कुशल व्यवसायी विज्ञान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन शिक्षा समूह नेपालका पूर्व पश्चिमाञ्चल संयोजक, न्यु साउथ वेल्स फेन्काका को–अर्डिनेटर तथा सामुदायिक अगुवा मुक्तिराम पोखरेलले गर्नुभएको थियो भने डिजि स्कुल अष्ट्रेलियाका प्रमोटर सन्देश राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा DGN नेपालका सीईओ राजु बानियाँले हालसम्म सम्पन्न परियोजनाहरूको उपलब्धि प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभयो। त्यस्तै, SoftEd Group का निर्देशक प्रमोद पौडेल, नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष, प्रतिष्ठित व्यवसायी तथा समाजसेवी राजेन्द्र मल्ल, डिजि स्कुल अष्ट्रेलियाका अर्का प्रमोटर तथा चार्टर्ड एकाउन्टेन्ट मनकास पियालगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा शिक्षा विज्ञहरू राजु राई, विनोद भट्टराई, विनोद कुमार कोइराला, निलेश आचार्य, सरोज महर्जन, गणेश कुमार दुलाल, सैलेश डंगोल, राजन कस्पाल र मनोज अधिकारी, साथै प्रोफेसर, समाजसेवी, पत्रकार तथा लुक्ला टिभीका प्रधान सम्पादक डा. राजु मानन्धरलगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष विज्ञान श्रेष्ठले आफ्नो मन्तव्यमा सन् २०१९ मा सुरु गरिएको उक्त परियोजनाबाट हालसम्म ३०० भन्दा बढी विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको जानकारी गराउनुभयो। साथै, यो परियोजना नेपालबाहेक अष्ट्रेलिया र युकेजस्ता देशहरूमा समेत सञ्चालन भइरहेको उल्लेख गर्दै परियोजनामूलक अध्ययन, मित्रता तथा व्यावसायिक सञ्जालमार्फत डिजिटल विद्यार्थीहरूलाई विश्वस्तरमा सक्षम बनाउने लक्ष्य रहेको बताउनुभयो। छोटो अवधिका व्यावहारिक पाठ्यक्रममार्फत डिजिटल मार्केटिङ र प्रविधिमैत्री शिक्षा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्य समेत परियोजनाले लिएको उहाँको भनाइ थियो।
Facebook Monetize सहकार्य’ समूहले डिजिटल आम्दानीमा नेपाली युवालाई उत्साहित गराउँदै !
मेटाले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन खुला गरेपछि डिजिटल आम्दानीतर्फ प्रयोगकर्ताको आकर्षण बढ्दो !
मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सेवा औपचारिक रूपमा सुरु गरेसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अवसरप्रति प्रयोगकर्ताको चासो उल्लेखनीय रूपमा बढेको छ । यसले नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि डिजिटल प्लेटफर्मलाई आयआर्जनको नयाँ माध्यमका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यसअघि मेटाले फेसबुक मोनेटाइजेसन सुविधा ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता छुट्टाछुट्टै मोडेलहरूलाई चरणबद्ध रूपमा हटाउँदै एकीकृत ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ प्रणाली लागू गरेको हो ।
नयाँ मोनेटाइजेसन प्रणाली सुरु भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच आपसी सहकार्यको अभ्याससमेत तीव्र बनेको छ । फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत प्रयोगकर्ताहरूले एक–आपसमा फलो गर्ने, पोस्टमा लाइक तथा कमेन्टमार्फत इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका आवश्यक मापदण्ड पूरा गर्न सहयोग आदान–प्रदान गरिरहेका छन् ।
यस्ता सहकार्यात्मक ग्रुपहरूमध्ये हाल **‘Facebook Monetize सहकार्य’** नामक फेसबुक ग्रुप विशेष रूपमा सक्रिय देखिएको छ । उक्त ग्रुपमा एक लाखभन्दा बढी सदस्य आबद्ध छन् भने १३/१४ जनाको एडमिन टिमद्वारा ग्रुप सञ्चालन भइरहेको छ ।
उक्त ग्रुपको परिकल्पना तथा स्थापना दामोदर न्यौपाने र प्रदीप गौतम हुन् । ग्रुपमार्फत फेसबुक मोनेटाइजेसनसम्बन्धी जानकारी, अनुभव साटासाट तथा कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक मार्गदर्शन प्रदान हुँदै आएको गौतमले बताए । उनका अनुसार आगामी दिनमा ग्रुपलाई अझ व्यवस्थित, प्रभावकारी र सक्रिय बनाउँदै लैजान सदस्यहरूबाट साथ, सहयोग र सुझावको अपेक्षा गरिएको छ ।
डिजिटल प्लेटफर्ममार्फत आम्दानी गर्ने चाहना बोकेका युवाहरूका लागि यस्ता सहकार्यात्मक पहलहरूले सकारात्मक ऊर्जा प्रदान गरेको देखिन्छ । आगामी दिनमा यस्ता ग्रुपहरूले नेपालमा डिजिटल कन्टेन्ट सिर्जना क्षेत्रलाई थप व्यावसायिक बनाउँदै आत्मनिर्भरता र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको छ ।
सिड्नीमा देवकोटाको जन्मजयन्ती: मुक्तक महोत्सव र देउसी भैलोको आयोजना
सिड्नी : अनेसास NSW को आयोजनामा देवकोटाको जन्मजयन्तीमा मुक्तक महोत्सव र देउसी भैलो
सिड्नी, असोज २८, २०८२ – अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा क्रियाशील अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती तथा शुभ दीपावलीको अवसर पारेर ‘अनेसास मुक्तक महोत्सव २०२५’ र रमाइलो देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनका साथै अग्रज साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले सञ्चालन हुने यो कार्यक्रमले परदेशमा रहेका नेपालीहरूलाई सांस्कृतिक एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
अनेसास न्यु साउथ वेल्स राज्य परिषद्का अध्यक्ष डा. प्रकाश पौडेलले प्रदान गरेको जानकारीअनुसार, उक्त कार्यक्रम आगामी अक्टोबर १८ (शनिबार) दिउँसो २:०० देखि ५:०० बजे सम्म प्रिशा क्याटरिङ (१० थर्ड एभिन्यु, ब्लाकटाउन) मा सम्पन्न हुनेछ। कार्यक्रममा विभिन्न कविहरूका मुक्तक रचनाहरूको वाचन, नेपाली बालबालिकाहरूको मौलिक सांस्कृतिक नृत्य प्रदर्शन र रमझम देउसी भैलो समावेश रहनेछ।
‘नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै दीपावलीको उल्लासमय वातावरणमा साहित्यिक जमघट गराउन यो कार्यक्रम महत्वपूर्ण छ,’ अध्यक्ष पौडेलले भने, ‘अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली कवि तथा साहित्यकारहरूलाई आफ्नो सिर्जना सहित उपस्थित हुन आह्वान गर्दछु।’ इच्छुक सहभागीहरूले अनेसासको आधिकारिक इमेल वा व्यक्तिगत सन्देशमार्फत नाम दर्ता गरी सहभागिता जनाउन सक्नेछन्। कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यसैबीच, कार्यक्रमलाई सफल बनाउन एस एजुकेशन एण्ड भिसा सर्भिसेस तथा एभरेष्ट ट्राभल्स एण्ड टुर्सले सहकार्य गरेको अध्यक्ष पौडेलले बताए।
महाकवि देवकोटा विक्रम संवत् १९६६ को कात्तिक कृष्णऔँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका थिए। दश वर्षको उमेरदेखि नै कविता लेखन सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना तथा फुटकर कविताहरू प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तकको रूपमा चर्चित छ।
परदेशमा नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित अनेसासले विश्वका विभिन्न देशहरूमा आफ्ना शाखाहरू सञ्चालन गर्दै आएको छ। अस्ट्रेलियाका विभिन्न राज्यहरूमा पनि सक्रिय यो संस्थाले समय–समयमा नेपाली समुदायलाई सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरूमार्फत एकताबद्ध गर्दै नेपालीपनको निरन्तरता कायम राख्न योगदान पुर्याउँदै आएको छ।
सिड्नीमा दशैँ कप २०२५: खेलकुद, संस्कृति र सामुदायिक उत्सव
सिड्नीमा दशैँ कप २०२५ सहित विविध कार्यक्रम आयोजना हुँदै
सिड्नी, अस्ट्रेलिया — अस्ट्रल नेप्लिज कम्युनिटी क्लब (एएनसीसी) ले स्थापनाको एक वर्षमै युवाहरूलाई समेटेर सामाजिक कार्यमा सक्रियता देखाएको छ। युवाहरूको क्षमता अभिवृद्धि, खेलकुद र सामुदायिक कार्यमा योगदान पुर्याउँदै आएको यस क्लबले विजयादशमीको पूर्वसन्ध्यामा दशैँ कप २०२५ आयोजना गर्ने भएको छ।
आगामी सेप्टेम्बर २१, २०२५ (आइतवार) मा हुने यो कार्यक्रमले युवाहरूमा खेलकुद मार्फत सिप, ज्ञान र उत्साहको विकास गर्ने लक्ष्य राखेको छ। क्लबका अध्यक्ष सुनिल पराजुली सँगको कुराकानीमा, कार्यक्रममा युवाहरूका लागि फुटबल प्रतियोगिता, बालबालिकाका लागि निःशुल्क फेस पेन्टिङ, अभिभावकहरूका लागि घैंटो फुटाउने र म्युजिकल चेयर जस्ता रचनात्मक गतिविधिहरू समावेश हुनेछन्।
क्लबका सदस्य रवि केसीका अनुसार, कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य र फुड स्टलहरू पनि रहनेछन्। उनले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेका छन्।
कार्यक्रमलाई भव्य बनाउन विभिन्न व्यक्ति र संस्थाहरूले सहकार्य गरेका छन्, भाईव्स भरकेज एन्ड फाइनान्स, 8848 मःम हाउस, टप सेल्फ कफी एन्ड किचेन, इप्रोक्सी गार्डेन ल्यान्डस्केप, एचएस क्रिएसन, डिलाइट ट्राभल्स एन्ड टुर्स, माया स्टोर्स, अच्युत न्यौपाने मल्टी डाइनामिक रियल इस्टेट १०८ बिल्ड, र xenxcec लगायतका संस्थाहरूले सहयोग प्रदान गरेका छन्।
सबैलाई यो उत्सवमा सहभागी भई दशैँको रौनकमा रमाउन आयोजकले अनुरोध गरेका छन्। 🤝
कुशल भुर्तेललाई भेट्ने अवसर: मेलबर्नमा विशेष कार्यक्रम
कुशल भुर्तेललाई भेट्ने अवसर: सेप्टेम्बर ३ मा मेलबर्नमा विशेष कार्यक्रम
मेलबर्न — नेपाली राष्ट्रिय क्रिकेट टोलीका उदयीमान स्टार तथा उत्कृष्ट खेलाडी कुशल भुर्तेललाई नजिकबाट भेट्ने सुनौलो अवसर अब अष्ट्रेलियाको मेलबर्नमा उपलब्ध हुने भएको छ।
KTM Consulting Group को आयोजनामा हुन लागेको यो विशेष भेटघाट कार्यक्रममा क्रिकेटप्रेमी, नेपाली समुदायका सदस्य तथा भुर्तेलका प्रशंसकहरूलाई सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रम September 3 का दिन दिउँसो 2:30 बजेदेखि 4:30 बजेसम्म Suite 1307, 530 Little Collins St., Melbourne, VIC मा हुनेछ।
भुर्तेलले पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। उनले राष्ट्रिय टोलीका लागि निर्णायक क्षणमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै “Best Player” का रूपमा आफ्नो पहिचान मजबुत बनाएका छन्। नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भुर्तेलको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ।
आयोजक KTM Consulting Group का अनुसार, यो कार्यक्रम केवल भेटघाट मात्र नभई एक किसिमको प्रेरणादायी सत्र पनि हुनेछ जहाँ सहभागीहरूले भुर्तेलसँग प्रत्यक्ष संवाद गर्न, उनको क्रिकेट यात्राबारे जान्न र नेपाल क्रिकेटको भविष्यबारे छलफल गर्न सक्नेछन्।
यस अवसरलाई अझ विशेष बनाउन आयोजकले समुदायका युवाहरूमाझ क्रिकेटप्रतिको रुचि र प्रतिबद्धतालाई बढाउन पनि पहल गरिने जनाएका छन्।
कार्यक्रमबारे थप जानकारी वा बुकिङका लागि आयोजकले फोन: +61 405 043 264 वा ईमेल: admin@ktmconsultinggroup.com मार्फत सम्पर्क गर्न आग्रह गरेका छन्।
ताजा समाचार
लोकप्रिय
Copyright © 2026, Bishwopati Media & Events Pvt. Ltd. l All Rights Reserved l | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा