२०८१ बैशाख १८ मंगलवार

पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ!!

काठमाडौं । पत्नी हत्यामा संलग्न रञ्जन कोइराला शुक्रबार पक्राउ परेका छन् । उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजीसमेत रहेका कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् । कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो । जबरा र केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।

उनीहरुले रञ्जन ८ वर्ष ६ महिना मात्रै जेल बस्दा सजायको ‘मक्सद पुरा हुने’ ठहर्याएका थिए । सो फैसलापछि कोइराला ०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

काठमाडौंको इचंगुनारायण घर भएका रञ्जनले सशस्त्रको डिआईजी हुँदा पत्नी गीता ढकालको हत्या गरेका थिए । काठमाडौं जिल्ला अदालतले ७ वैशाख ०७१ मा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला न्यायाधीश महम्मद जुनैद अदालतले गरेको सो फैसलालाई उच्च अदालत पाटनले २३ मंसिर ०७२ मा सदर गरेको थियो । त्यसविरुद्ध रञ्जन सर्वोच्चमा गएका थिए ।

गीता बूढानीलकण्ठ-५ मा बस्थिन् । ११ महिने नेशनल डिफेन्स कोर्षका लागि ०६८ भदौमा चीन गएका रञ्जनले बिदामा आएर पत्नीको हत्या गरेका थिए । गीताको शव पुस २८ मा मकवानपुरको टिस्टुङ-८ स्थित त्रिभुवन राजपथको मेत्राङमा जलाएको अवस्था फेला परेको थियो ।

काठमाडौंमा हत्या गरेर रञ्जनले पत्निको शव टिष्टुङमा लगेर जलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले ८ माघमा नागढुंगाबाट आफैंले चलाएको बा८च ५४०८ नम्बरको गाडीसहित रञ्जनलाई पक्रेर अनुसन्धान गरेको थियो ।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार