२०८१ बैशाख १८ मंगलवार

अब सिसडोलको कथा दोहोरिँदैन, काठमाडौंको फोहोरको बिसर्जन थालेका छौं : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाको फोहोरको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको बताएकी छन्।

संसदमा सांसदहरुलाई जवाफ दिने क्रममा मन्त्री झाँक्रीले फोहोर व्यवस्थापनको अधिकार स्थानीय तहलाई नै हस्तान्तरण गरिएको र संघ सरकारले प्राविधिक सहायता तथा समन्वयमात्रै गर्ने बताइन्। तर काठमाडौंमा फोहोर व्यवस्थापन समस्या विकराल भएकाले संघ सरकारले अग्रसरता लिएर वैज्ञानिक व्यवस्थापनको सुरुवात भएको उनले स्पष्ट पारिन्।

‘काठमाडौंको समस्या विकराल थियो। ठूला सहरमा समस्या ज्यूका त्यू छ,’ उनले भनिन्, ‘यो सरकारको प्राथमकितामा छ। फोहोर व्यवस्थापन पहिलो शर्त हो।’

फोहोरलाई प्राथमिकतामा राखेर फोहोर मैला प्रावधिक सहायता केन्द्र स्थापना गरेको उनले जानकारी गराइन्। ‘देशैभरी प्राविधिक सहायता दिने, पूर्वाधार बनाइदिने, कुन प्रकारको फोहोरलाई कसरी बिसर्जन गर्ने, कुन टेक्नोलोजीमा कसरी गर्ने बजेटमा आएको छ। संचरना बनाउँदै जान्छौं,’ उनले भनिन्, ‘यसले देशभैरी फोहोरमैलाको सहायताको काम गर्नेछ।’

काठमाडौंको फोहोर समस्यालाई आफू मन्त्री भएर आएपछि प्राथमिकतामा राखेर व्यवस्थापनको वातावरण बनाएको उनले बताइन्। ‘मुलपानीको ल्याण्ड फिल साइटबाट सिसडोलमा २ वर्षका लागि बनाइएको साइटमा करिब १७ वर्षसम्म फ्याकियो। विविध कारणले बन्चरेडाँडामा व्यवस्थापन भइरहेको थिएन,’ उनले भनिन्, ‘म मन्त्री भएर आउँदा काम भइरहेको थिएन। स्थानीयको विरोध थियो। हामीले स्थानीय जनतासँग सम्झौता गरेर, क्याविनेटबाट निर्णय गर्‍यौं। फोहोर बिसर्जनको वातावरण बनेको छ। अहिले बाटो स्तरोन्नति गर्दैछौं। छुट्टै फोहोर बिसर्जन रोड बनाउने कुरा छ।’

मन्त्री झाँक्रीले बन्चरेडाँडामा साइन्टिफिक बिसर्जनको काम सुरु भएको उनले बताइन्। ‘सिसडोललाई व्यवस्थित बनाउने प्रयास गरेका छौं। सिसडोल साइड क्षेत्रमा अस्पताल बनाउन सुरु गरेका छौं। डाक्टर, अस्पताल आएन, पुलिस र गोली रह्यो भन्ने कथा अन्त्य गर्न चाहन्छौं,’ उनले भनिन्।

सिसडोलको दुर्गन्धलाई नास्टको प्रतिवेदनअनुसार जैविक वा अजैविक रुपमा व्यवस्थापन गर्ने र त्यसपछि बन्द गरिने उनले बताइन्।

सिसडोलको कथा नदोहोरिने नगरी बन्चरेडाँडामा व्यवस्थापन थालेको उनले दाबी गरिन्। ‘साउन १ बाट देशभर स्रोतमै फोहोर वर्गिकरणमा स्थानीय तहबाट हुने विश्वास छ। काठमाडौंकै १८ पालिकाले स्रोतमै बर्गीकरणको व्यवस्थापन मिलाउनुहुन्छ,’ उनले भनिन्।

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 270 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार