२०८१ बैशाख १५ शनिबार

राप्रपा अध्यक्ष लिङदेनले भने, ‘मुल सिद्धान्तलाई छाडेर विधान सच्याउँदैनौं’!!

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तलाई छाडेर विधान संशोधन गर्न नसकिने उनले स्पष्ट पारे ।
आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ । यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई जवाफ दिइने अध्यक्ष लिङ्देनले बताए । उनले भने, ‘म उपत्यकाबाहिर थिएँ, हिजो आइपुगेँ । आजै पदाधिकारी वैठक बसेर यसको टुंगो लगाउँछौं ।’
आयोगले संविधानको मर्म र भावना विपरित पूर्वाग्रही ढंगले राप्रपालाई पत्र पठाएको भन्दै उनले दुख व्यक्त गरे । नेपालको संविधानले गणतन्त्र र धर्मपनिरपेक्षतालाई अपरिवर्तनीय नमानेको अध्यक्ष लिङदेनले आयोगलाई स्मरण गराए ।
उनले भने, ‘राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको छ । दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिन्छ । हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौं, चुनाव लडिरहेका छौं । हाम्रो विधान कसरी संविधानविपरित भयो ?’
विधान संसोधन गर्न दबाब दिएर आयोगले राप्रपामाथि पूर्वाग्रही र ज्यादतीपूर्ण व्यवहार गरेको लिङदेनले बताए । उनले थपे, ‘हामीले झण्डामा गाई राख्नु संविधान विपरित हुन्छ भने अर्को पार्टीले सुर्य राख्नु संविधान विपरित हुन्छ कि हुँदैन ? हाम्रो विधान योभन्दा अगाडि कसरी संविधान अनुकुल भयो र अहिले कसरी संविधान विपरित भयो भन्ने जवाफ हामी खोज्छौं ।’
राप्रपाले विधान नसच्याउने बताउँदै उनले भने, ‘विगतमा पनि यस्तै प्रकारले पत्र पठाउँदै आएको थियो । तर, हामीले सच्याएका थिएनौं । अहिले पनि सच्याउने कुनै आउँदैन ।’ आयोगको दिएको हद म्यादको पनि कुनै तुक नभएको लिङदेनले बताए । उनले भने, ‘यस्तो हद म्यादले केही अर्थ राख्दैन । तर, हामी आजै वैठक बसेर आयोगलाई जवाफ पठाउँछौं ।’

२०७८ माघ ९, आईतवार प्रकाशित 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार