२०८१ बैशाख १४ शुक्रबार

रेमिट्यान्स रकम नेपाली बैंकमा राखे थप एक प्रतिशत ब्याज l

२९ साउन, काठमाडौं । विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ च्यानलबाट आएको रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा राखेमा थप एक प्रतिशत ब्याजदर दिने व्यवस्था गर्ने बताएका छन् ।

‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ’ मौद्रिक नीतिमा भनिएको छ ।

नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको आवेदन विद्युतीय माध्यममार्फत् गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

गत आर्थिक वर्षमा कोभिड–१९ महामारीबीच पनि निर्यात र विप्रेषण आप्रवाह सन्तोषजनक रहेको राष्ट्र बैंकले बताएको छ । तर पछिल्लो समय आयात वृद्धिमा तीव्रता आउन थालेको र वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेको कारण विप्रेषण आप्रवाहमा जोखिम कायमै रहेकोले शोधनान्तर स्थितिमा दवाव पर्न सक्ने सम्भावना रहेको राष्ट्र बैंकको विश्लेषण छ ।

मौद्रिक नीतिले गरेको यो व्यवस्थाले बैंक तथा वित्तयि संस्थामा लगानी योग्य रकम बढ्ने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल बताउँछन् । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ११ महिनामा ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ ।

कोरोना महामारीमा वैदेशिक रोजगारी ठप्प हुँदा समेत रेमिट्यान्स भने सन्तोषजनक नै रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोरोना प्रभावित निजी क्षेत्रराई राहतलाई प्राथमिकतामा राखी राष्ट्र शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हो । कोरोना महामारी पछिको अर्थतन्त्र पुनरोत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीति तर्जुमा गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

‘बजेटमा स्टार्ट अपलाई २५ लाख सम्मको कर्जा दिइने भनिएको थियो, तर त्यो विषय कार्यान्वयनमा प्रष्ट कुरा आएन’ नेपाल उद्योग वाणिज्य महासंघका गोल्छाले भने, ‘७ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिनेछ भन्नुको अर्थ बाह्य क्षेत्रमा चाप पर्ने देखिएको छ ।’ समग्रमा मौद्रिक नीति धेरै सकारात्मक रहेको ।

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित 0 Minutes 521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार