२०८१ बैशाख १५ शनिबार

विद्यार्थीले अष्ट्रेलियामा आफ्नो रूचि र करिअरलाई बिशेष जोड दिनुपर्छ ।

विद्यार्थीले अष्ट्रेलियामा रूचि र करिअरलाई जोड दिनुपर्छ

अष्ट्रेलिया पढ्न आउने नेपाली विद्यार्थीले आफ्नो रूचि भएको क्षेत्रमा करिअर बनाउनको लागी जोड दिनुपर्ने सरोकारवालाहरूले बताउनुभएको छ। सिड्नीमा रहेको ओबन पार्कमा भएको नेपाली युवाहरूको मिटअपका सहभागीहरूले रूचि र ज्ञान नै नभएको क्षेत्रमा अष्ट्रेलियाको बसाईं लम्ब्याउने हिसाबले लहैलहैमा लाग्दा धेरै विद्यार्थीको समय र भविष्य बर्बाद भईरहेको बताउनुभएको हो।

नयाँ तथा पुराना नेपाली विद्यार्थीहरूको जमघटमा प्रमुख अतिथि एनआरएन उपाध्यक्ष देव गुरूङले नयाँ आउने विद्यार्थीहरूले कामलाई मात्र जोड नदिएर पढाई, स्वास्थ्य, साथीभाई, सम्बन्ध र करिअरलाई पनि केन्द्रमा राख्नुपर्ने बताउनुभयो। अष्ट्रेलिया आउने विद्यार्थीहरूले आर्थिक मानसिक तनाबका साथै परिवार र सम्बन्धमा समेत विभिन्न समस्याहरू भोग्दै आएका छन्। दुर्घटना, काममा शोषण, श्रीमान श्रीमतीको झगडा, केटाकेटी सँगै बस्ने खालको सम्बन्ध (लिभईन रिलेसनसिप), विवाहोत्तर सम्बन्ध साथै आफ्नै ज्यान लिने सम्मका घटनाहरूमा नेपाली विद्यार्थी र युवाहरूले समस्या भोगेको कुरा निरन्तर समाचारमा आईरहेका छन्। सामुदायिक अगुवा तथा शैक्षिक परामर्शदाता दिपक पौडेलले अष्ट्रेलियामा अनेक संभावना भएपनि विद्यार्थीले आफूलाई त्यसको लागी तयार पार्नु जरूरी रहेको बताउनु भयो।

करिअर परामर्शदाता तथा प्रिज्मस एजुकेशन कन्सल्टेन्सी संचालक लेखनाथ अधिकारीले विद्यार्थीहरूले आफ्नो लक्ष र करिअर भन्दा पनि सानो सानो क्षणिक लाभहानीलाई बढी जोड दिँदा समस्यामा पर्ने गरेको बताउनुभयो। उहाँले थप्नुभयो, आफ्नो रूची र भविष्यको विषयलाई लिएर पढाईलाई अगाडी बढाउन चाहनेको संख्या निक्कै कम छ, जसले गर्दा धेरैले अनेक हण्डर खेपिरहेका छन्।

सफ्टवेयर ईंजिनियर तथा सफ्टवेयर प्रोग्रामिङ तालिम दिने संस्था डेन्टेडकोडका संचालक प्रेम आचार्यले विद्यार्थीहरूले सिप र करिअर विकासलाई जोड दिने हो भने अष्ट्रेलियामा यहाँको बासिन्दा बनेर आनन्दसँग बस्न सकिने अवस्था रहेको बताउनु भयो। उहाँले सफ्टवेयरको क्षेत्र व्यापक संभावनाको भएकाले यसमा सिप विकास गर्ने हो भने अष्ट्रेलियामा उच्चस्तरको जीवनशैली अपनाउन सकिने अवस्था रहेकोले सुरूमै आउनेहरूले हतास चाहिँ हुन नहुनेमा जोड दिनुभयो।

ओबन मिटअप २.० नाम दिईएको कार्यक्रममा नयाँ आएका विद्यार्थी, अष्ट्रेलियामा केही समय बिताईसकेका र आफ्नो क्षेत्रमा करिअर बनाईसकेका साथै नेपालीमूलका अष्ट्रेलियन युवाहरूको सहभागिता थियो। छलफलमा ब्राण्डिंग र मार्केटिंग विशेषज्ञ रूपमा सिड्नीमा लामो समयदेखी कार्यरत रमण झाले छलफलमा भन्नुभयो, ‘विद्यार्थीहरूले उचित र कानुनी रूपमा सुरक्षित उपायहरू अपनाउने र करिअर बनाउनमा केन्द्रित हुने हो भने अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कुनै समस्या छैन।‘

कार्यक्रमका संयोजक धर्वेन्द्रप्रसाद यादवले यस्तै जमघट र ‘मेन्टरिंग’बाट अष्ट्रेलियामा पढ्दै गरेका चार-पाँच जना विद्यार्थीले निक्कै राम्रो कमाई सहितको जागिर र व्यवसाय सुरू गरेको जानकारी दिनुभयो।

 

उहाँले सफ्टवेयर डेभेलोपर, डिजिटल मार्केटर, प्रोग्रामर लगायतका प्रविधीको क्षेत्रमा धेरै नेपाली विद्यार्थीहरूले सफलता पाईरहेको उदाहरण सुनाउनु भएको थियो।
कार्यक्रममा सुमन खरेल, सन्तोष आचार्य, मदनमणि अधिकारी, समीर ढकाल, उज्जवल घिमिरे लगायतका सामुदायिक अभियन्ताहरूको सहभागिता थियो।

जमघट अष्ट्रेलियाको नेपाली सामुदायिक मिडिया नेपालीपेजडटकम (https://nepalipage.com) र सिड्नीका नेपालीहरूको फेसबुक समुह ‘नेपलिजईनसिड्नी’ (https://www.facebook.com/groups/NepaleseinSydney को आयोजनामा भएको हो। नेपालीपेजडटकमले सन् २०१४ देखी अष्ट्रेलियामा नेपाली समुदायलाई सुसूचित गर्दै विद्यार्थी तथा युवा हकहितको मुद्दा उठाउँदै आएको छ।

कार्यक्रममा www.bishwopati.com (Bishwopati) मुख्य मिडिया पार्टनरको रुपमा रहेको थियो भने बिभिन्न संस्थाहरुको समेत सहयोग रहेको थियो ।

२०७८ चैत्र ६, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार