२०८१ बैशाख १४ शुक्रबार

कम्युनिस्टहरूले अमेरिकासँग सैन्य समझदारी गर्न लागेको स्यालहुइयाँ मच्चाए: कांग्रेस सहमहामन्त्री

काठमाडौं, १ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अमेरिकासँग नेपालले सैन्य समझदारी गर्न लागेको भ्रामक प्रचार गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “अहिलेको अवस्थामा नेपाल कुनै पनि सैन्य गठबन्धनमा जाँदैन । यसबारे हिजो अमेरिकी दूतावासले पनि स्पष्ट गरिसकेको छ । विभिन्न मुलुकका सेनाहरुबीच सैन्य अभ्यास भइरहन्छ ।सैन्य अभ्यास गर्नु, सीप सिक्नु स्वाभाविक हो । नेपाली सेना चीनमा सैन्य अभ्यास भएको छैन ? के नेपाल चीनको सैन्य गठबन्धनमा गयो त ? यो कम्युनिस्टहरुको नेपाली जनतालाई भ्रम पार्ने कुरा मात्र हो । कहिले भारतलाई गाली गर्छन्, कहिले अमेरिकालाई गाली गर्छन् । त्यसो नगरी जनतालाई भ्रमित पार्न सकिँदैन ।”
नेपाली कांग्रेस आफैं सैन्य गठबन्धनको विपक्षमा रहेको पनि उनले औंल्याए । यादवले भने, “नेपाली कांग्रेसले कहिल्यै सैन्य गठबन्धनको पक्षमा छैन । अमेरिका नेपालको सबभन्दा पुरानो मित्र र दाता राष्ट्र हो । अमेरिका प्रजातान्त्रिक मुलुक हो । नेपाल पनि प्रजातान्त्रिक मुलुक हो । अहिले पनि नेपालमा अमेरिकी सहयोगमा धेरै परियोजना सञ्चालित छन् । एमसीसी अनुमोदनका बेला अमेरिकी सेना गाउँगाउँमा आएर बस्छ । पशुपतिको मूलभट्ट पनि अमेरिकन हुन्छन् भनेका होइनन् ? एमसीसीको पैसा आयो, सेना त आएन नि ।”
पञ्चशील र असंलग्न परराष्ट्र नीतिमा कांग्रेस अडिग रहेको यादवले बताए । उनले भने, “शेरबहादुर देउवा पहिलो चोटि अमेरिका जान लाग्नुभएको हो र ? पहिले के खराबी भयो र अहिले खराब हुन्छ ? नेपालमा लगानी बढाएर आर्थिक, सामाजिक उन्नति गर्नका लागि उहाँ अहोरात्र जुटिरहनुभएको छ । जसरी एमसीसीमा झूटो प्रचार भयो, यसपालि पनि त्यस्तै दुष्प्रचार गरिएको हो । यसमा कुनै सत्यता छैन ।”
कांग्रेसले पनि मन्त्री परिवर्तन गर्न लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा सहमहामन्त्री यादवले भने, “अबको चार-पाँच महिनापछि निर्वाचन हुन्छ । अहिले किन मन्त्री फेर्नुपर्यो ? चुनावका बेला सरकारको टेस्ट हुन्छ । जस्तोः गृहमन्त्री बालकृष्ण खाँडले कुनै पनि अप्रिय घटना नभईकन शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाव सम्पन्न गराउनुभयो । अब गृहमन्त्रीजी हटाउनु भनेको नेपाली कांग्रेसलाई दोस्रो पार्टी बनाउने षडयन्त्र हो ।”
कांग्रेसले किन केन्द्रीय कार्यसमिति बैठक नराखेको भन्ने अर्को प्रश्नमा यादवले भने, “अझै पनि जिल्ला समन्वय समितिको निर्वाचन सकिएको छैन । त्यो सकिएपछि केन्द्रीय समितिको बैठक बस्छ ।”
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प कांग्रेसमा मात्र नभएर देशमै नभएको दाबी पनि गरे । यादवले भने, “शेरबहादुर देउवाको विकल्प कांग्रेसमा मात्र होइन, देशमै छैन । देश भिजन र अठोटले बन्छ । उहाँकै नेतृत्वमा पाँचदलीय गठबन्धन एकढिक्का भएर निर्वाचनमा जान्छ । पार्टीको विधान अनुसार उहाँ तेस्रो पटक सभापति बन्न पाउनुहुन्न । तर अब पनि उहाँकै नेतृत्वमा सरकार बन्छ ।”

२०७९ असार १, बुधबार प्रकाशित 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार