२०८१ बैशाख १४ शुक्रबार

नारायणकाजीलाई लक्षित गर्दै ओलीको प्रश्न- विचार मिल्दैन भने किन त्यो पार्टीमा बस्नुहुन्छ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै विचार नमिल्ने पार्टीमा किन बस्ने? भनेर प्रश्न गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफ्नो विचारलाई गठबन्धन र पार्टीलाई पुर्‍याउन नसक्ने भए त्यसमा किन बस्ने भन्दै उनले प्रश्न गरेका हुन्।

‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो। पार्टीलाई पुर्‍याउनुहुन्न भने विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरू,’ श्रेष्ठतर्फ हेर्दै ओलीले भने,‘अनि पार्टी त तपाईंहरू जहाँ अल्झिरहनुभएको छ त्यो मात्रै छैन होला नि।’

यस्तै पार्टीमा पार्टी वा गठबन्धनमा जे जस्तो भएपनि तालीमात्रै बजाउने प्रवृत्तिविरूद्ध कुरा उठाएको भन्दै ओलीले पनि प्रशंसा गरे।

‘गठबन्धनभित्र तपाईंहरूले ठिकै कुरा उठाउनुभएको छ। जे भएपनि तालीमात्रै बजाउने गर्न भएन। त्यहाँ लड्नपर्यो र लड्ने मात्रै होइन। विचार व्यक्त गरेर छाड्ने मात्रै होइन। एउटा नेताको हैसियतले तपाईहरूको कर्तव्य हुन्छ कि तपाईहरूको विचारमा आफ्नो पार्टीलाई पुर्‍याउने र गठबन्धनलाई पुर्‍याउने,’ उनले भने।

यसअघि ओली बोल्नुभन्दा अघि श्रेष्ठले पनि बाम एकता गर्नुपर्ने प्रस्ताव गरेका थिए। एकता सम्भव नभएपनि चुनावमा तालमेल गर्नुपर्ने बताएका थिए।

उनले पछिल्ला घटनाक्रमलाई बिर्सेर आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए।

‘आदरणीय नेता कमरेड केपी शर्मा ओली यहाँ हुनुहुन्छ। सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु। तुम शेर तो हम सवा शेर भन्ने छाडौं। घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं,’ उनले भनेका थिए।

२०७९ असार ३२, शनिबार प्रकाशित 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार