२०८१ बैशाख १४ शुक्रबार

एक/दुई दिनमा मन्त्रिमण्डल विस्तार गर्ने सत्तारूढ गठबन्धनको निर्णय

काठमाडाैं । बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। बैठकले देशकाे पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार दिउँसाे भएको बैठकमा मन्त्रिपरिषद् विस्तार, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना तथा बुधवारदेखि सुरु भएको संसद्लाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएकाे हाे ।

बैठकमा उपस्थित एक नेताका अनुसार मन्त्रिपरिषदलाई एक/दुई दिनमा पूर्णता दिनेबारे छलफल भएको छ । उनले भने “बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनुपर्ने धारणा राख्नुभएको छ । प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब रहेको उहाँले बैठकमा जानकारी गराउनुभएकाे थियाे ।”

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट एक राज्यमन्त्री र दुई मन्त्री र माओवादीबाट दुई जनालाई मन्त्री बनाएका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका अन्य नेताहरूको सहभागिता थियो । बैठकमा विपक्षी नेकपा एमालेले संसद् अवराेध गरेपछिको अवस्थाबारे पनि समीक्षा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि ललितपुरको हात्तीवनमा गठबन्धनका घटक शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । त्याे बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

२०७८ भाद्र २४, बिहीबार प्रकाशित 0 Minutes 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार