२०८१ बैशाख ७ शुक्रबार

कार्यक्रम बीचमै छाडेर काठमाडौं किन फर्किए मेयर बालेन?

बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च गरिएकाले आफूहरू बीचमै हिँडेको मेयर बालेन शाहले बताएका छन्।

स्थानीय जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा एक दिन मात्र बसेर फर्केका मेयर शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘काठमाडौं राजधानी मात्रै होइन, अझ बागमती प्रदेशका लागि त एउटा पालिका मात्रै हो। काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छाडेको हुँ।’

अब प्रश्न उठ्छ- उक्त कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्ने चाहिँ को हो?

उनीहरूले त्यस्तो के भनेका थिए जुन सहन नसकेर मेयर शाह र उपमेयर डंगोल सोमबारै काठमाडौं फर्किए?

हामीले यसबारे मेयर सचिवालयका स्वकीय सचिव भुपदेव शाह र सहायक सचिव नवीन भण्डारीसँग कुरा गर्‍यौं।

उनीहरूका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको विषयवस्तुभन्दा बाहिर गएर काठमाडौंको फोहोरमैला उठ्न नसेककोबारे स्थानीय सरकारलाई आरोप लगाएका थिए।

स्थानीय सरकार सञ्चालनसम्बन्धी तालिम दिने कार्यतालिका तोकिए पनि फोहोरमैलाको कुरा उठाएर काठमाडौंमाथि आरोप लगाउने काम मात्र भएको उनीहरूको भनाइ छ।

‘जुन विषयवस्तु निम्ति कार्यक्रम सञ्चालन गरिएको हो, त्यसैमा केन्द्रित भएर कुरा गर्नुपर्यो नि!’ भण्डारीले भने, ‘त्यहाँ त आरोप-प्रत्यारोप मात्र भयो। यो कुरा मेयरसाबलाई मन परेन र कार्यक्रमको बीचमै फर्किनुभयो।’

नवनिर्वाचित जनप्रतिनिधिहरूले स्थानीय तहमा कसरी काम गर्ने र प्रदेशसँग कसरी समन्वय गर्ने भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको थियो। तर छलफल विषयवस्तुभन्दा बाहिर गएको र बागमती प्रदेशको एउटा पालिका काठमाडौंमाथि मात्र केन्द्रित भएको मेयर शाहको सचिवालयले जनाएको छ।

कार्यक्रममा १३ जिल्लाका स्थानीय तहहरूका प्रमुख र उपप्रमुख सहभागी थिए।

अरू स्थानीय तह छाडेर मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री शालिकराम जमकट्टेलले काठमाडौंको फोहोरमैलाको विषयमा मात्र आरोप लगाएको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री पाण्डेले काठमाडौं महानगरले आफ्नो फोहोर आफैं व्यवस्था गर्नुपर्ने तर्क गरेको भण्डारीले बताए।

काठमाडौंको फोहोर बञ्चरेडाँडामा फालेर धादिङ र नुवाकोटका जनतालाई पीडा दिन नहुने पाण्डेको भनाइ थियो।

‘मेयरसाब संस्थाको मानमर्यादा राखी कार्यक्रममा उपस्थित भए पनि विषयवस्तुभन्दा बाहिर रहेर कुरा गर्नु उचित होइन,’ उनले भने, ‘त्यसमाथि उहाँ यस विषयमा केन्द्रित रहेर पहिलो दिनदेखि काम गरिरहनुभएको छ।’

बालेनले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने बताएका छन्।

‘मर्यादापालन गरेर कार्यक्रममा गएको तर फजुल कुरा गर्दा समय खेर गयो,’ सचिवालयले भनेको छ, ‘काम नपाएर त गएको होइन, उहाँलाई अहिले पाँच मिनेट पनि महत्वपूर्ण छ।’

सोमबार बेलुकी मेयर शाहले फेसबुकमा स्ट्याटस राख्दै ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लागेको’ उल्लेख गरेका थिए।

२०७९ असार १, बुधबार प्रकाशित 1 Minute 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार