२०८२ चैत्र २४ मंगलवार

“डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण” विषयक कार्यक्रम सिड्नीमा सम्पन्न

अष्ट्रेलिया, २२ जनवरी
संवाददाता : मुक्तिराम पोखरेल

“डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण” भन्ने नाराका साथ डिजि स्कुल अष्ट्रेलियाको आयोजनामा एक विशेष शैक्षिक तथा अन्तरक्रियात्मक कार्यक्रम अष्ट्रेलियाको सिड्नीस्थित टाउन हलमा सम्पन्न भएको छ।

उक्त कार्यक्रम SoftEd Group of Companies अन्तर्गतका Softwarica College of IT and E-Commerce तथा UniCampus Global को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट आएका डिजि स्कुल ग्लोबलका प्रोफेसरहरू, शिक्षा प्रेमीहरू तथा कलेजका प्राध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ई–कमर्स, आईटी तथा डिजिटल प्रविधिसम्बन्धी गुणस्तरीय शिक्षाका विषयमा साक्षरता अभिवृद्धि, टिम स्वागत तथा अन्तरक्रियात्मक छलफल गरिएको थियो।

कार्यक्रम डिजि स्कुल ग्लोबल नेपालका अध्यक्ष, शिक्षा प्रेमी तथा कुशल व्यवसायी विज्ञान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन शिक्षा समूह नेपालका पूर्व पश्चिमाञ्चल संयोजक, न्यु साउथ वेल्स फेन्काका को–अर्डिनेटर तथा सामुदायिक अगुवा मुक्तिराम पोखरेलले गर्नुभएको थियो भने डिजि स्कुल अष्ट्रेलियाका प्रमोटर सन्देश राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा DGN नेपालका सीईओ राजु बानियाँले हालसम्म सम्पन्न परियोजनाहरूको उपलब्धि प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्नुभयो। त्यस्तै, SoftEd Group का निर्देशक प्रमोद पौडेल, नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष, प्रतिष्ठित व्यवसायी तथा समाजसेवी राजेन्द्र मल्ल, डिजि स्कुल अष्ट्रेलियाका अर्का प्रमोटर तथा चार्टर्ड एकाउन्टेन्ट मनकास पियालगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षा विज्ञहरू राजु राई, विनोद भट्टराई, विनोद कुमार कोइराला, निलेश आचार्य, सरोज महर्जन, गणेश कुमार दुलाल, सैलेश डंगोल, राजन कस्पाल र मनोज अधिकारी, साथै प्रोफेसर, समाजसेवी, पत्रकार तथा लुक्ला टिभीका प्रधान सम्पादक डा. राजु मानन्धरलगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष विज्ञान श्रेष्ठले आफ्नो मन्तव्यमा सन् २०१९ मा सुरु गरिएको उक्त परियोजनाबाट हालसम्म ३०० भन्दा बढी विद्यालयका ५० हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएको जानकारी गराउनुभयो। साथै, यो परियोजना नेपालबाहेक अष्ट्रेलिया र युकेजस्ता देशहरूमा समेत सञ्चालन भइरहेको उल्लेख गर्दै परियोजनामूलक अध्ययन, मित्रता तथा व्यावसायिक सञ्जालमार्फत डिजिटल विद्यार्थीहरूलाई विश्वस्तरमा सक्षम बनाउने लक्ष्य रहेको बताउनुभयो। छोटो अवधिका व्यावहारिक पाठ्यक्रममार्फत डिजिटल मार्केटिङ र प्रविधिमैत्री शिक्षा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्य समेत परियोजनाले लिएको उहाँको भनाइ थियो।

२०८२ माघ ९, शुक्रबार प्रकाशित 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।