२०८२ चैत्र २४ मंगलवार

नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा मुक्ति राम पोखरेल चयन

नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षमा मुक्ति राम पोखरेल चयन

सिड्नी। नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलिया (NBDA) को दोस्रो वार्षिक साधारण सभा (AGM) शनिबार, ३१ जनवरी २०२६ का दिन सिड्नीको मेरिल्याण्ड्सस्थित NRNA कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम एसोसिएसनकी अध्यक्ष रञ्जिता भण्डारीको अध्यक्षतामा तथा न्यू साउथ वेल्स, अष्ट्रेलियाका अवैतनिक महावाणिज्यदूत सञ्जिव कुमार शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सल्लाहकार सूर्य गौतमले गर्नुभएको थियो।

सभामा “रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात् गर्दै हालसम्म उल्लेखनीय रक्तदान गर्ने व्यक्तिहरू भेषबहादुर थापा, अमेध थापा, विशाल भण्डारी, कमल चापागाईं, सविना बस्याल, प्रकाश पन्थी, उमनाथ सुवेदी, मुक्ति राम पोखरेल, सरोज पाण्डे लगायतलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रमुख अतिथि शर्माले एसोसिएसनले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा गर्दै आएको योगदानको उच्च प्रशंसा गर्दै आफ्नो धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा NBDA का संरक्षक विनोद मैनाली, सल्लाहकार तथा समाजसेवी एवं एनआरएनए ओसियानिया संयोजक दिनेश पोखरेल, फेन्का न्यू साउथ वेल्सका को–अर्डिनेटर मुक्ति राम पोखरेल, सल्लाहकार सूर्य गौतम, अध्यक्ष रञ्जिता भण्डारी, आरएसएन सचिव कमल चापागाईं, पत्रकार डा. राजु मानन्धर, एनआरएनए न्यू साउथ वेल्स सचिव प्रताप पन्थी लगायतले रक्तदानजस्तो मानवीय सेवाले मानव जीवन बचाउन पुर्‍याउने योगदानबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

साधारण सभाबाट सर्वसम्मत रूपमा आगामी दुई वर्ष (२०२६–२०२८) का लागि मुक्ति राम पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमितिमा:
• उपाध्यक्ष: चन्द्र ढकाल
• सचिव: प्रशन्ना दाहाल
• कोषाध्यक्ष: सविना बस्याल

कार्यकारी सदस्यहरू:
अनिश मिश्र, नवीन गौतम, प्रह्लाद चापागाईं, रस्ना पालाञ्चोके, सुर्योतम दाहाल, रमेश सापकोटा, शंकर प्रसाद शर्मा, जमुना रोका र सरोज पाण्डे रहेका छन्। अन्य राज्यका समितिहरू पछि गठन गर्ने निर्णय पनि सर्वसम्मत रूपमा गरिएको छ।

यसैगरी, संरक्षक (Patrons) का रूपमा विनोद मैनाली, भूपाल सिटौला र रञ्जिता भण्डारी नियुक्त भएका छन्।
सल्लाहकार (Advisors) मा क्रमशः सूर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी, डा. राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे नियुक्त भएका छन्।

कार्यक्रममा बोल्दै NBDA का स्तम्भ, अग्रणी रक्तदान अभियानकर्ता तथा उच्च रक्तदाता एवं संरक्षक विनोद मैनालीले रक्तदानले आत्मसन्तुष्टि, सामाजिक सम्मान र सबैभन्दा महत्वपूर्ण मानव जीवन रक्षा गर्ने कार्य गर्ने उल्लेख गर्दै स्वस्थ व्यक्तिको रक्तदानले कमजोरी नल्याउने बरु समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए।

निवर्तमान अध्यक्ष रञ्जिता भण्डारीले आफ्नो अन्तिम अध्यक्षीय मन्तव्य व्यक्त गर्दै समुदायमा सशक्त रक्तदान संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिन्। साथै, आफ्नो कार्यकालमा NBDA ले हासिल गरेका उपलब्धि र गतिविधिको प्रगति विवरण प्रस्तुत गरिन्।

नव-निर्वाचित अध्यक्ष, प्रतिष्ठित स्वयंसेवक, रक्तदान अभियानकर्ता तथा सामुदायिक अगुवा मुक्ति राम पोखरेलले अध्यक्षीय मन्तव्य दिँदै भने,
“NBDA का सम्मानित सदस्यहरूले ममाथि व्यक्त गर्नुभएको विश्वासप्रति म हार्दिक आभार व्यक्त गर्दछु। संस्थाको अपेक्षा अनुसार जिम्मेवारी वहन गर्दै समर्पित टोलीका रूपमा सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
उनले आगामी दिनमा विभिन्न सामुदायिक संस्थाहरूलाई NBDA सँग जोड्दै रक्तदान अभियानलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको बताउँदै सबै समुदाय अगुवा, सदस्य, शुभेच्छुक तथा सञ्चारमाध्यमप्रति निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा विभिन्न सामुदायिक संघ–संस्थाका प्रतिनिधि, सामुदायिक अगुवा, रक्तदाता तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

२०८२ माघ २०, मंगलवार प्रकाशित 1 Minute 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।