सिड्नी : अनेसास NSW को आयोजनामा देवकोटाको जन्मजयन्तीमा मुक्तक महोत्सव र देउसी भैलो
सिड्नी, असोज २८, २०८२ – अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा क्रियाशील अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती तथा शुभ दीपावलीको अवसर पारेर ‘अनेसास मुक्तक महोत्सव २०२५’ र रमाइलो देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनका साथै अग्रज साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले सञ्चालन हुने यो कार्यक्रमले परदेशमा रहेका नेपालीहरूलाई सांस्कृतिक एकताको सन्देश दिने अपेक्षा गरिएको छ।
अनेसास न्यु साउथ वेल्स राज्य परिषद्का अध्यक्ष डा. प्रकाश पौडेलले प्रदान गरेको जानकारीअनुसार, उक्त कार्यक्रम आगामी अक्टोबर १८ (शनिबार) दिउँसो २:०० देखि ५:०० बजे सम्म प्रिशा क्याटरिङ (१० थर्ड एभिन्यु, ब्लाकटाउन) मा सम्पन्न हुनेछ। कार्यक्रममा विभिन्न कविहरूका मुक्तक रचनाहरूको वाचन, नेपाली बालबालिकाहरूको मौलिक सांस्कृतिक नृत्य प्रदर्शन र रमझम देउसी भैलो समावेश रहनेछ।
‘नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै दीपावलीको उल्लासमय वातावरणमा साहित्यिक जमघट गराउन यो कार्यक्रम महत्वपूर्ण छ,’ अध्यक्ष पौडेलले भने, ‘अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली कवि तथा साहित्यकारहरूलाई आफ्नो सिर्जना सहित उपस्थित हुन आह्वान गर्दछु।’ इच्छुक सहभागीहरूले अनेसासको आधिकारिक इमेल वा व्यक्तिगत सन्देशमार्फत नाम दर्ता गरी सहभागिता जनाउन सक्नेछन्। कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
यसैबीच, कार्यक्रमलाई सफल बनाउन एस एजुकेशन एण्ड भिसा सर्भिसेस तथा एभरेष्ट ट्राभल्स एण्ड टुर्सले सहकार्य गरेको अध्यक्ष पौडेलले बताए।
महाकवि देवकोटा विक्रम संवत् १९६६ को कात्तिक कृष्णऔँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका थिए। दश वर्षको उमेरदेखि नै कविता लेखन सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना तथा फुटकर कविताहरू प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिक्री भएको पुस्तकको रूपमा चर्चित छ।
परदेशमा नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित अनेसासले विश्वका विभिन्न देशहरूमा आफ्ना शाखाहरू सञ्चालन गर्दै आएको छ। अस्ट्रेलियाका विभिन्न राज्यहरूमा पनि सक्रिय यो संस्थाले समय–समयमा नेपाली समुदायलाई सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरूमार्फत एकताबद्ध गर्दै नेपालीपनको निरन्तरता कायम राख्न योगदान पुर्याउँदै आएको छ।