२०८३ जेष्ठ २५ सोमबार

नेतृत्वको नयाँ दृष्टिकोण सहित सुजन वाग्ले तास्मानिया स्टेट कोअर्डिनेटरमा उम्मेदवार

सुजन वाग्ले एनआरएनए तास्मानियाको स्टेट कोअर्डिनेटर पदमा उम्मेदवार

तास्मानिया | जुलाई ६, २०२५ –

आगामी जुलाई २६ तारिखमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनलाई लक्षित गर्दै सुजन वाग्लेले तास्मानिया राज्यको State Coordinator पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

नेपाली समुदायभित्र लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका वाग्लेले सन् २०२३–२०२५ को कार्यकालमा एनआरएनए तास्मानियामा सदस्यको रूपमा काम गर्ने अवसर पाएका थिए। सो अवधिमा प्राप्त अनुभव, सिकाइ र सहकार्यको आधारमा अब नेतृत्वदायी भूमिकाबाट अझ प्रभावकारी योगदान गर्न सकिने विश्वासका साथ आफू उम्मेदवार बनेको वाग्लेले बताएका छन्।

“एनआरएनएको मूल उद्देश्य, दर्शन र संस्थागत मूल्यहरूलाई केन्द्रमा राख्दै तास्मानियामा नेपाली समुदायको समुन्नत भविष्यका लागि दृढताका साथ काम गर्ने प्रण लिएको छु,” वाग्लेले एक वक्तव्य जारी गर्दै भने, “तपाईंहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको साथ, सहयोग र विश्वासको अपेक्षा लिएको छु।”

राष्ट्रिय स्तरमा वाग्लेको प्रतिबद्धता :
सुजन वाग्लेले एनआरएनए अष्ट्रेलियाको सन्दर्भमा समग्र रूपमा संस्थाको दीर्घकालीन रणनीतिलाई सुदृढ बनाउने योजनासहित विभिन्न प्रतिबद्धताहरू प्रस्तुत गरेका छन्, जसमा निम्न मुख्य बुँदाहरू छन्:

१. प्रवासी नेपालीहरूको लगानी तथा आर्थिक सहभागिता प्रोत्साहन गर्ने।
२. संघीय तथा राज्य सरकारहरूसँग सहकार्य गर्दै एनआरएनएमार्फत विभिन्न अनुदान सुनिश्चित गर्ने।
३. समर्पित अनुदान तथा साझेदारी कार्यदल (Grants & Partnerships Taskforce) गठन गर्ने।
४. अष्ट्रेलियाका विभिन्न राज्य र सहरहरूमा चलिरहेका बहुसांस्कृतिक कार्यक्रमहरूलाई समर्थन र सहकार्य गर्ने।
५. सबै परोपकारी तथा मानवतावादी कार्यक्रमहरू एनआरएनए फाउण्डेसनमार्फत पारदर्शी रूपमा सञ्चालन गर्ने।
६. एनआरएनएको विधानमा उल्लेखित दोस्रो पुस्ता शाखा (Youth & Second Gen Chapter) को सक्रिय सञ्चालनमा जोड दिने।
७. एनआरएनए व्यापार सञ्जाल (NRNA Business Network) विस्तार गरी उद्यमशीलता र स्टार्टअपमा सहकार्य गर्ने।
८. प्रवासी नेपालीहरूलाई लक्षित गर्दै व्यवसाय इन्क्युबेटर, स्टार्टअप मार्गदर्शन तथा लगानी सम्मेलन आयोजना गर्ने।
९. अष्ट्रेलियाली सरकार र सरोकारवाला निकायहरूसँग नीति संवाद तथा समुदायको हकहितका लागि वकालत गर्ने।

तास्मानियाको सन्दर्भमा प्राथमिकता र योजना :
तास्मानियामा रहेका नेपालीहरूको बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्न वाग्लेले राज्यस्तरीय योजनाका रूपमा निम्न सात मुख्य प्राथमिकताहरूको घोषणा गरेका छन्:

१. नेपाली समुदायभित्र एकता, सहकार्य र समावेशितालाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने।
२. नयाँ आउने आप्रवासी नेपालीहरूलाई आवास, शिक्षा, रोजगार, कानुनी सहायता लगायतका आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने।
३. युवा र महिलालाई नेतृत्व विकास, सीपमूलक तालिम र अवसरहरू प्रदान गरी सशक्त बनाउने।
४. विद्यार्थी तथा पेशागत व्यक्तिहरूका लागि करियर गाइडान्स, तालिम तथा नेटवर्किङ अवसरहरू सिर्जना गर्ने।
५. नेपाली भाषा, कला, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनमा जोड दिने।
६. संस्थाको सम्पूर्ण कार्यशैलीमा पारदर्शिता, जवाफदेहिता र सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकता दिने।
७. स्थानीय सरकार, एनआरएनए अष्ट्रेलियाको अन्य राज्य इकाइ तथा सामुदायिक सञ्जालहरूसँग सहकार्य गर्दै दीगो विकासका परियोजनाहरूमा संलग्न रहने।

समुदायलाई सन्देश: विश्वास र सहकार्यका लागि अपील
सुजन वाग्लेले आफूलाई एनआरएनएको एक उत्तरदायी, पारदर्शी र समर्पित प्रतिनिधिका रूपमा स्थापित गर्दै, सम्पूर्ण तास्मानियाली नेपाली समुदायका सदस्यहरूलाई आगामी निर्वाचनमा आफूलाई साथ, सुझाव र समर्थन गर्न हार्दिक अनुरोध गरेका छन्।

“हाम्रो सामूहिक यात्राले तास्मानियामा बसोबास गरिरहेका सबै नेपालीहरूलाई अझ सुरक्षित, सशक्त र सम्मानजनक अनुभूति दिलाउनेछ,” वाग्लेले विश्वास व्यक्त गर्दै भने, “समुदायप्रतिको माया, जिम्मेवारी र सेवाभाव नै मेरो प्रेरणाको मूल आधार हो।”

२०८२ असार २२, आईतवार प्रकाशित 1 Minute 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।