एनआरएनए अष्ट्रेलिया निर्वाचन २०२५: एनएसडब्ल्यु सचिव पदका उम्मेदवार प्रताप पन्थीको प्रतिवद्धता – “सुनुवाइ मात्र होइन, समाधानका लागि नेतृत्व”
सिड्नी, अष्ट्रेलिया – जुलाई ७, २०२५
अन्तर्राष्ट्रिय शिक्षा विज्ञ, व्यवसायी, र समर्पित समुदायसेवी प्रताप पन्थीले आगामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया (NSW) २०२५–२०२७ कार्यकालको लागि एनएसडब्ल्यु राज्य समन्वय परिषद् (SCC) सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उहाँले टिम एकता (Team EKATA) बाट उम्मेदवारी दिँदै सामाजिक एकता, संस्थागत रूपान्तरण, र व्यवहारिक नेतृत्वको पक्षमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ।
विद्यार्थी देखि समुदाय नेतृत्व सम्मको यात्रा
सन् २०१३ मा अध्ययनका लागि अष्ट्रेलिया आएका पन्थीले विगत १० वर्षमा शिक्षा, आप्रवासन, उद्यमशीलता र सामाजिक सेवाको माध्यमबाट नेपाली समुदायमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
उहाँले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी र पहिलो पुस्ताका आप्रवासीहरूको भिसा समस्या, आर्थिक संकट, मानसिक स्वास्थ्य समस्या, र सामाजिक अलगाव जस्ता समस्याहरू समाधान गर्न अग्रसर भूमिका खेल्दै आउनुभएको छ।
“म विद्यार्थी थिएँ। म आप्रवासी थिएँ। म ती सबै चुनौतीहरू भित्रबाट आएको मान्छे हुँ,” पन्थी भन्छन्।
“अब म त्यो अनुभव र ज्ञानलाई समुदायको हितमा प्रयोग गर्न चाहन्छु – समाधानमुखी, समावेशी र उत्तरदायी नेतृत्वका लागि।”
व्यावसायिक पृष्ठभूमि र सामुदायिक प्रतिबद्धता
पन्थीको करियरमा अन्तर्राष्ट्रिय शिक्षा परामर्श, आप्रवासन सल्लाह, र डिजिटल उद्यमशीलता मुख्य क्षेत्रहरू रहेका छन्। उहाँले नेपाल–अष्ट्रेलिया बीच ICT लगानीको प्रवर्द्धन, सीप स्थानान्तरण, र रिमोट रोजगारी सिर्जनाको अभियानमा पनि सक्रिय भूमिका खेल्दै आउनुभएको छ।
सामुदायिक सेवा क्षेत्रमा उहाँले विशेष गरी युवा सशक्तिकरण, घरेलु हिंसा विरुद्धको चेतना, मानसिक स्वास्थ्य, कानुनी शिक्षा, तथा नेपाली पर्यटन र संस्कृति प्रवर्द्धन जस्ता विषयमा कार्य गर्दै आउनुभएको छ।
किन टिम एकता?
प्रताप पन्थीले टिम एकतालाई आफ्नो राजनीतिक यात्रा र मूल्यसँग मिल्दो टिमको रूपमा चित्रण गर्नुहुन्छ।
“टिम एकता भनेको विविधता, समावेशी सोच, र व्यावसायिक कार्यशैलीको मिलन हो,” उहाँ भन्नुहुन्छ।
“यो टिमले शहरदेखि गाउँसम्म, विद्यार्थीदेखि व्यवसायी, युवादेखि महिलासम्म – सबैको आवाज समेट्ने प्रतिबद्धता बोकेको छ।”
उम्मेदवारको सन्देश: समावेशी नेतृत्व र व्यावहारिक कार्यशैली
प्रताप पन्थीले आफ्नो मुख्य सन्देशमा समावेशी नेतृत्व, समाधानमुखी सोच, र सम्पूर्ण नेपाली समुदायको सहभागितालाई प्राथमिकतामा राखेका छन्।
उहाँ भन्छन्:
“यदि तपाईं स्मार्ट समाधान, समावेशी नेतृत्व र व्यवहारिक सेवाभावमा विश्वास गर्नुहुन्छ भने म तपाईंको सेवामा छु।
आउनुहोस्, सँगै सकारात्मक, परिणाममुखी र दिगो परिवर्तन ल्याऔं।”
निर्वाचन मिति र आह्वान
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचन यही २६ जुलाई २०२५ मा हुन गइरहेको छ। टिम एकताले सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता जनाउँदै लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्न आग्रह गरेको छ।
“हामी तपाईंको विश्वासका लागि उभिएका छौं, सेवाका लागि, परिवर्तनका लागि। टिम एकतालाई मतदान गर्नुहोस्,” प्रताप पन्थीले आग्रह गर्नुभयो।
प्रमुख चुनावी विवरण:
पद: एनएसडब्ल्यु एससीसी सचिव (NRNA Australia – NSW)
उम्मेदवार: प्रताप पन्थी
टिम: TEAM EKATA – For Change 2025–2027
निर्वाचन मिति: २६ जुलाई २०२५ (शनिबार)
स्थान: NRNA Australia Online Voting Platform