२०८३ असार १० बुधबार

Victoria टिम एकताको चुनावी सभा: समुदायको उत्साह र समर्थनले नयाँ गति लियो

मेलबर्नमा टिम एकताको चुनावी सभा भव्य रूपमा सम्पन्न

NRNA भिक्टोरिया २०२५–२७ को निर्वाचन लक्षित कार्यक्रमले नेपाली समुदायमा उत्साह थप्यो

मेलबर्न, जुलाई २२ — गैर–आवासीय नेपाली संघ (NRNA) भिक्टोरिया राज्य समिति २०२५–२७ को निर्वाचनलाई लक्षित गर्दै टिम एकता द्वारा आयोजना गरिएको चुनावी सभा सोमबार मेलबर्नको लालोरस्थित मस्टाङ प्यालेसमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा २५० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति देखिनु टिम एकताप्रतिको जनसमर्थन दिनानुदिन बढ्दै गएको स्पष्ट संकेतको रूपमा लिइएको छ।

कार्यक्रमको संचालन राज खनालले गर्दै टिम एकताको उद्देश्य र आगामी योजनाहरूको संक्षिप्त रूपरेखा प्रस्तुत गरे। त्यसपछि, सचिव पदका उम्मेदवार देवेन्द्र बजगाईंले स्वागत मन्तव्य राख्दै सम्पूर्ण SCC उम्मेदवारहरूको परिचय गराए र उनीहरूको अनुभव तथा जिम्मेवारीबारे जानकारी गराए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता

कार्यक्रममा टिम एकताको राष्ट्रिय टोलीसँगै अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सदस्यहरूको विशेष उपस्थिति थियो। भुवन हरि पाण्डे, बिरेन्द्र श्रेष्ठ, गोविन्द राणा, महेन्द्र कार्की, प्रकाश सेढाई र सन्तोष दाहालले टिम एकताको कार्यशैली, पारदर्शिता, र समुदायप्रतिको प्रतिबद्धता व्यक्त गर्दै संक्षिप्त सम्बोधन गरे।

महासचिव पदका उम्मेदवार भरत मणि देवकोटाले ICC तथा NCC अन्तर्गतका उम्मेदवारहरूको परिचय गराउँदै टिम एकताको प्रमुख सन्देश — “रूपान्तरण र मार्ग–सुधार” — माथि जोड दिनुभयो।

कोर्स करेक्सनको प्रतिबद्धता

कार्यक्रममा द्रोण पन्तले एनआरएनए भिक्टोरियाबाट “कोर्स करेक्सन” अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे। महिला संयोजक सृजना रायमाझीले महिलाको हक र सशक्तिकरणको पक्षमा निरन्तर काम गर्ने अठोट जाहेर गरिन्। युवा संयोजक सनराइज ज्ञवालीले युवाहरूको सहभागिता र सशक्त नेतृत्व विकासमा विशेष ध्यान दिने बताएका छन्।

भैरव ढकालको योजनामूलक सम्बोधन

कार्यक्रमको मुख्य आकर्षण अध्यक्ष पदका उम्मेदवार भैरव ढकालको सम्बोधन थियो। लामो समयदेखि एनआरएनएमा सक्रिय रहँदै आएका ढकालले संस्थालाई “जनमैत्री र सबै नेपालीको साझा थलो” बनाउने स्पष्ट योजना प्रस्तुत गरे।

उहाँले आगामी कार्यकालका लागि केही प्रमुख योजनाहरू प्रस्तुत गर्नुभयो:

* समुदायसँग प्रत्यक्ष संवाद कार्यक्रम
* प्रत्येक राज्यमा हेल्पलाइन टिम
* स्थानीय सल्लाहकार परिषद् गठन
* महिला र युवाको नेतृत्व विकास तालिम
* शिक्षा, रोजगार, भिसा, कानुनी सहायता र बीमा सम्बन्धी परामर्श सेवा

“एनआरएनए कुनै गुट विशेषको संस्था होइन,” उहाँले स्पष्ट पार्दै भन्नुभयो, “यो सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति हो। त्यसैले, हरेक निर्णय सदस्यहरूलाई जानकारी गराएर मात्र अघि बढाइनु पर्छ।”

उम्मेदवारहरूद्वारा स्पष्ट दृष्टिकोण

अन्य उम्मेदवारहरू—गणेश गौतम, रमेश पौडेल र भरत देवकोटाले आ–आफ्नो जिम्मेवारी अनुसार विस्तृत कार्यदृष्टिकोण प्रस्तुत गरे। सबैले टिम एकताको पारदर्शिता, जवाफदेहिता र सुधारवादी सोचलाई आगामी नेतृत्वका लागि अत्यावश्यक भने।

समुदायको समर्थन

कार्यक्रममा वरिष्ठ समाजसेवी केसब जोशी, राजन बस्नेत र देवी ज्ञवालीले टिम एकतालाई खुलेर समर्थन जनाए। उनीहरूले टिम एकताको नीतिगत स्पष्टता र सदस्यहरूको इमान्दारीतामा विश्वास व्यक्त गर्दै समुदायलाई सही नेतृत्व रोज्न आग्रह गरे।

टिम एकताको केवल चुनावी प्रचार मात्र नभई, नेपाली समुदायमा एकता, विश्वास र पारदर्शी नेतृत्वको सुरुआत बनेको सहभागीहरूले महसुस गरेका छन्।

यो कार्यक्रमले एनआरएनए भिक्टोरियामा मात्र नभई सम्पूर्ण अष्ट्रेलियाली नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ।

२०८२ श्रावण ७, बुधबार प्रकाशित 1 Minute 572 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।