सिड्नीमा भव्य रूपमा ‘नेपाली नयाँ वर्ष २०८३’ विशेष कार्यक्रम आयोजना हुँदै
सिड्नीस्थित Auburn Nepalese Community को आयोजनामा तथा ISAN Education को सहकार्यमा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। अष्ट्रेलियामा बढ्दो नेपाली समुदायलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम आगामी १४ अप्रिल दिउँसो १ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम Granville Park, Merrylands, NSW 2144 मा आयोजना गरिनेछ र सबैका लागि निःशुल्क प्रवेश (Free Entry) रहने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालका चर्चित गायक–गायिका तथा कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। लोकप्रिय गायक रमेशराज भट्टराई, सुप्रसिद्ध गायिका अन्जु पन्त र सिर्जना खत्रीसहित जेनिशा गौतम, श्रेया ग्यावली र सरिना सैंजुजस्ता कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। साथै, Urban Folk Performing Live तथा The Actials Nepal ब्यान्डको लाइभ संगीतले कार्यक्रमलाई थप आकर्षक बनाउनेछ। यससँगै सुष्मा, स्वेता र क्रिशाजस्ता डान्सरहरू, लिजा एण्ड टीम ललिगुराँस डान्स ग्रुप तथा Team Tamang Society of NSW & Group का सांस्कृतिक प्रस्तुतिहरू पनि कार्यक्रमका प्रमुख आकर्षण रहनेछन्।
कार्यक्रमलाई व्यवस्थित र मनोरञ्जनपूर्ण बनाउन डोमा तामाङ, अजिना कार्की तथा सबला बस्नेतले होस्टको भूमिका निर्वाह गर्नेछन्। कार्यक्रममा सहभागी दर्शकहरूले नेपाली सांस्कृतिक झल्को, परम्परागत नृत्य, आधुनिक संगीत तथा सामुदायिक सहभागिताको अद्वितीय अनुभव प्राप्त गर्नेछन्।
यस कार्यक्रमलाई Remitly ले ‘Powered by’ को रूपमा साथ दिएको छ भने ETC Education & Training Partner र Keep Caring Pty Ltd NDIS Provider Partner का रूपमा रहेका छन्। Gold Sponsor का रूपमा REM Facility Management रहेको छ भने Cumberland City Council को समर्थन पनि रहेको छ। कार्यक्रम सफल बनाउन विभिन्न फूड पार्टनर, ग्रोसरी, फङ्सन, रिमुभल तथा अन्य व्यवसायिक साझेदारहरू सक्रिय रूपमा सहभागी हुनेछन्। कार्यक्रममा नेपाली परिकारहरू सहित विभिन्न फूड स्टलहरू पनि रहनेछन्, जसले उपस्थित दर्शकहरूलाई नेपाली स्वादको अनुभूति गराउनेछ।
अष्ट्रेलियामा नेपाली समुदायको विस्तारसँगै यस्ता कार्यक्रमहरूले नेपाली पहिचान, भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। पछिल्लो समय सिड्नी, मेलबर्न, ब्रिस्बेन लगायतका शहरहरूमा नेपाली नयाँ वर्ष, दशैं, तिहार, तीज जस्ता पर्वहरू सामूहिक रूपमा मनाउने चलन बढ्दै गएको छ। यस्ता कार्यक्रमहरूले विदेशमा जन्मिएका नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक जरा चिनाउन मद्दत गर्नुका साथै विभिन्न पेशा, अध्ययन र व्यवसायमा संलग्न नेपालीहरूलाई आपसी नेटवर्किङ र सहकार्यको अवसर पनि प्रदान गर्छन्।
विशेषगरी नयाँ वर्षजस्ता अवसरहरूमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूले नेपाली कला, संगीत, नृत्य र परम्परागत भेषभूषालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुर्याउँछन्। यसले नेपाली समुदायलाई मात्र होइन, बहुसांस्कृतिक अष्ट्रेलियन समाजलाई पनि नेपाली संस्कृति बुझ्ने अवसर प्रदान गर्छ।
आयोजकका अनुसार, “नेपाली नयाँ वर्ष २०८३” कार्यक्रम केवल मनोरञ्जन मात्र नभई नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचान मजबुत बनाउने एउटा साझा मञ्च हो। कार्यक्रम सफल बनाउन आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई नयाँ वर्षलाई उल्लासमय वातावरणमा स्वागत गर्न आग्रह गरेका छन्।