२०८१ बैशाख ७ शुक्रबार

माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरणमा आज निर्णय हुने, एमालेको केन्द्रीय कमिटीको बैठक आज दिउँसो ३ बजे

काठमाडौँ, ६ साउन :

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को हिजोको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुभएका नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने भएको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको विवाद समस्या समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजको बैठकमा गत असार २७ मा भएको १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनका चरणबारे ब्रिफिङ गर्नुभएको थियो । उक्त सहमतिलाई सोमबारको बैठकले अनुमोदन गरिसकेको छ ।

हिजोको बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षले सम्बन्धित प्रदेशको राजनीतिक र साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिएको र बुधबार त्यसमाथि नेतृत्वले जवाफ दिने ज्ञवालीले बताउनुभयो ।

बैठकमा भूमि व्यवस्था आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय तहसँग सम्झौता भई कार्य भइरहेको स्थितिमा सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरुलाई हटाएमा उचित नहुने बताउनुभएको थियो ।

बैठकमा मस्तिष्काघात भई उपचाररत पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वाेच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन् । अर्काे बैठक आज बुधबार दिउँसो ३ बजे पुनः बस्नेछ ।

२०७८ श्रावण ६, बुधबार प्रकाशित 0 Minutes 340 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार