२०८१ बैशाख ८ शनिबार

यस कारण उपसभामुख बन्नबाट पनि वञ्चित गरियो सोविता गौतमलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको उपसभामुख पदमा इन्दिरा रानामगरलाई पठाउने ‘सरप्राइजिङ’ निर्णय लिएको छ । सरप्राइजिङ यस अर्थमा कि पार्टीबाट सुरूदेखि उपसभामुखमा सोविता गौतमको नाम चर्चामा थियो ।

 

आज बसेको संसदीय दल बैठकले लामो छलफलपछि इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो । सम्भावित उपसभामुख ठानिएकी सोविता भने इन्दिराको प्रस्तावक बनिन् । स्रोतका अनुसार उपसभामुखमा जाँदा पार्टीमा सक्रिय भूमिका निभाउन नमिल्ने तथा जातीय समावेशीता पनि मिलाउनुपर्ने भएकाले सोवितालाई ब्याक गराइएको हो ।

 

स्रोतले भन्यो, ‘उपसभामुखमा जाँदा पार्टीसँग सम्वन्धविच्छेद गर्नुपर्ने हुन्छ । तर, सोविताजस्तो युवा र प्रखर नेतृ हाम्रो पार्टीमा नै चाहिन्छ भन्ने कुरा भयो । उहाँ स्वयम् पनि यसमा कन्भिन्स्ड हुनुभएको छ ।’

 

त्यसो त सोविता सुरूमा रास्वपाबाट मन्त्री बन्ने सम्भावित सूचीमा समेत थिइन् । यदि कानूनमन्त्री रास्वपाले पाएको भए उनको सम्भावना बलियो भन्ने थियो । तर, उक्त मन्त्रालय रास्पपाको भागमा नपरेपछि सोविताको मन्त्री बन्ने ढोका बन्द भयो । त्यसपछि उनी उपसभामुखमा जान इच्छुक थिइन् । तर, अन्ततः यो इच्छा पनि मारेकी छन् ।

 

एमालेबाट हिजो देवराज घिमिरे सभामुखमा निर्वाचित भइसकेपछि रास्वपाले आज महिला सांसदलाई उपसभामुख उम्मेदवार बनाउनुपर्ने थियो । संसदीय दल बैठकको सुरूमा सोविताकै नाममा चर्चा भएको स्रोतको भनाइ छ । सोविता स्वयम्‌ले विभिन्न आधारहरू प्रस्तुत गर्दै उपसभामुखमा आफ्नो दाबी राखेकी थिइन् ।

 

‘म एउटा कानूनको विद्यार्थी भएका नाताले पनि आफ्नो क्षमता र ज्ञानको सदुपयोग गर्ने भूमिकाको आशा राखेकी छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । तर, सांसदहरूले उनलाई उपसभामुख बनाएर पठाउँदा पार्टीलाई घाटा हुने तर्क गरेका थिए । सभापति रवि लामिछाने पनि यसमा सहमत देखिए अन्य महिला संसदहरूको नाममा छलफल भएको थियो ।

 

पार्टीबाट दुई महिला सांसद प्रत्यक्ष निर्वाचित भएकोमा डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनिसकेकी छन् । सोविता पनि नहुने भएपछि समानुपातिकबाट निर्वाचित महिला सांसदहरूको ढोका खुलेको थियो । रास्वपाबाट समानुपातिकमा डा. चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा रानामगर, निशा डाँगी, विनिता कठायत र लक्ष्मी तिवारी निर्वाचित भएका छन् । उनीहरूमध्ये समावेशीताका आधारमा जनजाति नेतृलाई पठाउँदा राम्रो सन्देश जाने कुरा उठ्यो ।

 

जनजाति सांसदमध्ये सुमोना श्रेष्ठले आफू उपसभामुखका लागि इच्छुक नरहेको बताइन् । उनले बैठकअघि नै आफू उपसभामुखमा दाबी नगर्ने घोषणा ट्वीटरबाटै गरेकी थिइन् । अन्तमाः इन्दिरा रानामगरको नाममा सबै सहमत भएका थिए । व्यक्तिगत प्रोफाइलका आधारमा समेत उपसभामुखजस्तो गरिमामय पदमा उनलाई पठाउँदा राम्रो हुनेमा सबै सांसदहरूको एकमत रहेको रास्वपा प्रवक्ता डा. मुकुल ढकालले बताए ।

 

‘सौहार्द वातावरणमा लामो छलफल भएपछि उहाँको नाममा सहमति भएको हो,’ डा. ढकालले भने, ‘यसमा कसैको पनि असन्तुष्टि छैन ।’ रानामगर बीबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सामाजिक अभियन्ता हुन् । उनले जेल सजाय खेपिरहेका बाबुआमाका छोराछोरीलाई अभिभावकत्व दिँदै आएकी छन् । उनी कानूनको जानकार नभए पनि सबैले सम्मान गर्ने व्यक्ति भएको हुँदा उपसभामुखमा छनोट गरिएको हो । सोवितालाई पार्टीले भविष्यमा कुनै संसदीय समितिको जिम्मेवारी दिनेबारे बैठकमा छलफल भएको छ ।

 

 

२०७९ माघ ७, शनिबार प्रकाशित 1 Minute 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार