२०८१ बैशाख १३ बिहीबार

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरीले पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

२०७९ फाल्गुन २५, बिहीबार प्रकाशित 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार