२०८१ बैशाख १३ बिहीबार

“म कवि होइन”, लेखकः डिला खरेल ।

सिडनी, अष्ट्रेलिया ।

“म कवि होइन” ✍️ डिला खरेल ।

म कविता लेख्न सक्दिन म कवि होइन
हो मलाई कविता सुन्न मन पर्छ,

म कविता लेख्न सक्दिन म कवि होइन,
किन लेख्ने कविता, आधा शतक नै भै सक्यो न कतै महाकवि लक्ष्मीप्रसाद देख्छु
न कतै कवि शिरोमणि लेखनाथ देख्छु
न आदिकवि भानु न त मोतीराम नै !!

न कतै लेखिन्छन् मुना मदन न कतै लेखिन्छन् चाणक्यनीति न ॠतुविचार नै,
हिजोआज न कतै अनुष्टुप भेट्छु न् त् शार्दूलविक्रीडित नै
आ.. शिखरिनी र मन्दाक्रान्ता को त कुरा गर्ने आँट नै छैन !!

मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन म कवि होइन !!

किन लेखु कविता , हिजोआज खुद्रा व्यपारीका अनेक अनेक फाइदाका लागि ,
खैर, कान्तिपुर र साप्ताहिककै लागि
अनि अनेक अनेक सुन्दै लाज लग्ने थरी थरीका पुरस्कार को पगेरी गुथ्नका लागि
म कविता लेख्दिन, मलाइ कविता सुन्न मन पर्छ !!

हो मलाई कविता सुन्न मन पर्छ , म कविता लेख्न सक्दिन म कवि होइन !!

मलाई लक्ष्मी नै काफी शिरोमणि नै काफी मोतीराम र भानु नै काफी
उनीहरूलाई नै सुनी बस्छु, हेरी बस्छु र सोची बस्छु वाह.. क्या कविता,
एक प्रहर आफैलाई बिर्सन्छु !!

गजब छ हिजोआज त प्रगतिशील रे , प्रतिगामी रे , यथास्थितिवादी रे
क्या भित्त्र्यायौ स्वघोषितहरु हो तिमीहरुलाई बधाई छ ,
राजकाज र जमाना तिमीहरुकै छ
हो मलाई कविता सुन्न मन पर्छ ,
म कविता लेख्न सक्दिन म कवि होइन !!

अब त झनै कविता लेख्न सक्दिन, म लेख्दै लेख्दिन
तिमीहरुको मनमौजी उत्तरआधुनिकताको हिस्सेदारी लिनु छैन ,
किन गरौ र खोइ – समालोचना , नाटक , कथा र निबन्धका कुरा कोही लेख्दै लेख्दैन ,
वस् मलाई सुन्न मन पर्छ , एक प्रहर आफू आफैभित्र हराउन मन पर्छ !!

मलाई कविता सुन्न मन पर्छ , वास्तवमै म कविता लेख्न सक्दिन, म कवि होइन !!

२०७९ चैत्र ७, मंगलवार प्रकाशित 1 Minute 329 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार