२०८३ असार ११ बिहीबार

नेपालको गौरव सगरमाथा, विश्वसामु नेपाली पहिचान उजागर गर्ने अभियान ।

नेपालको गौरव सगरमाथा, विश्वसामु नेपाली पहिचान उजागर गर्ने अभियान ।

अष्ट्रेलियाको सिड्नीमा भव्य रुपमा अन्तर्राष्ट्रिय एभरेष्ट डे मनाइने — “सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षण गरौं” भन्ने नारासहित नेपाल चिनाउने बहुआयामिक अभियान

सिड्नी, अष्ट्रेलिया —
संसारकै सर्वोच्च शिखर सगरमाथाको शान र नेपालको प्राकृतिक, सांस्कृतिक सम्पदाको विश्वव्यापी प्रचारप्रसार गर्ने उद्देश्यले अष्ट्रेलियाको सिड्नीमा अन्तर्राष्ट्रिय एभरेष्ट डे भव्य रूपमा मनाइने भएको छ। फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन (FENCA) तथा गोरखा समाज अष्ट्रेलिया (GSA) को संयुक्त नेतृत्वमा, फेन्कामा आबद्ध विभिन्न नेपाली सामाजिक संस्था र समुदायको सहकार्यमा यो विशेष कार्यक्रम सन् २०२५ मे ३१ तारिख, शनिबार का दिन न्यू साउथ वेल्स राज्यको सिड्नीस्थित Five Dock मा आयोजना गरिनेछ।

“सगरमाथा तथा हिमाली क्षेत्रको संरक्षण गरौं – Preserve Mt. Everest and The Himalayas” भन्ने मूल नारासहित आयोजना हुने उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, पर्यटन, सम्पदा र सामुदायिक एकताको सशक्त झल्को प्रस्तुत गरिनेछ। कार्यक्रम बिहान ९:३० बजेबाट सुरु भई दिनभर विविध आकर्षक गतिविधिहरू सञ्चालन गरिने आयोजकहरूले जानकारी दिएका छन्।

सगरमाथा: नेपालले विश्वलाई दिएको अनुपम उपहार

सगरमाथा, जुन अंग्रेजीमा Mount Everest का नामले परिचित छ, केवल एक हिमशृङ्खलाको उच्च शिखर मात्र होइन, यो सम्पूर्ण मानव सभ्यताको गौरव हो। समुन्द्री सतहदेखि ८,८४८.८६ मिटर उचाइमा अवस्थित सगरमाथा नेपालले विश्वलाई दिएको अद्वितीय प्राकृतिक सम्पदा हो। तर यस शिखरको संरक्षण, संवर्द्धन र यसको नाममा नेपालको पहिचान अन्तर्राष्ट्रिय मञ्चमा सशक्त बनाउन निरन्तर प्रयास आवश्यक रहेको सन्देश दिनकै लागि अन्तर्राष्ट्रिय एभरेष्ट डेको आयोजना गरिँदैछ।

फेन्का र GSA को नेतृत्वमा राष्ट्रिय पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन

कार्यक्रमको मुख्य संयोजनमा फेन्का (Federation of Nepalese Community Associations in Australia) रहेको छ, जुन अष्ट्रेलियाभर छरिएर रहेका नेपाली संघसंस्थाहरूको छाता संगठन हो। यस अभियानको अगुवाइमा रहेको गोरखा समाज अष्ट्रेलिया (GSA) ले विगतमा पनि नेपाली चाडपर्व, महोत्सव, आपतकालीन उद्धार कार्यक्रमदेखि लिएर नेपाल प्रवर्द्धनका विविध अभियानहरू सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमका प्रमुख समन्वयक फेन्काका न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमाल र राज्य उपसंयोजक मुक्तिराम पोखरेल रहेका छन्।

विष्णु हमालले बताउनु भयो, “एभरेष्ट मात्र नेपालमा अवस्थित शिखर होइन, यो नेपालको गौरव हो। नेपाल प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्त धनी देश हो। यस्ता कार्यक्रमबाट हामीले अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूबीच एकता कायम गर्ने मात्र नभई, यहाँका मूलधारका नागरिक र अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालबारे जानकारी दिन सक्षम हुन्छौं।”

पर्यटन प्रवर्द्धन र नेपालको आर्थिक समृद्धिमा योगदान

फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा. मधुसूदन पुडासैनीले नेपालमा पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न यस्ता कार्यक्रम अत्यन्त सशक्त माध्यम हुने बताउनुभयो। “सगरमाथा एउटा ब्रान्ड हो, जसले विश्वभरिका लाखौं मानिसहरूलाई नेपालतर्फ आकर्षित गर्न सक्छ। यस किसिमको अन्तर्राष्ट्रिय स्तरको आयोजनाले नेपाललाई चिनाउने मात्र होइन, हाम्रो पर्यटन अर्थतन्त्रलाई समेत चलायमान बनाउनेछ। यसले देशको आर्थिक समृद्धिमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउँछ।”

उहाँका अनुसार, सन् २०२५ को एभरेष्ट डे कार्यक्रमले “Visit Nepal Again” अभियानलाई पनि अन्तर्राष्ट्रिय स्तरमा जोड दिनेछ। अष्ट्रेलियाबाट नेपाल जाने पर्यटक संख्यामा बृद्धि गराउने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रमलाई डिजाइन गरिएको छ।

साथै Everest Day Celebration कार्यक्रमलाई विभिन्न व्यवसायिक संघ संस्थाले पनि कार्यक्रमलाई थप आयाम पुऱ्याउन सहकार्य एवं हातेमाली गरेका छन् सो कार्यक्रम अस्ट्रेलिया को सबै Estate क्यानवेरा , न्यू साउथ बेल्थ , एडिलेड , तासमानिया, मेलर्वन, पर्थ जसमा क्रमःश Let’s talk Numbers, Best green solar, Precision Home, Expert education and visa services, Peak Realty Real estate,Aussie Finance and home loans,Multi Dyanamic Real estate, Rainbow Painting and services,Himal Expert Driving School NSW, RFM Facility management and Expert telecom रहेका छन् |

२०८२ बैशाख २९, सोमबार प्रकाशित 1 Minute 1688 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।