२०८३ असार १० बुधबार

अष्ट्रेलियामा नेपाली अभिभावक समाजद्वारा खिर खाने कार्यक्रम सम्पन्न

अष्ट्रेलियामा नेपाली अभिभावक समाजद्वारा भव्य खिर खाने उत्सव सम्पन्न

सिड्नीको अष्ट्रलमा विहिवार नेपाली अभिभावक समाज अष्ट्रलको आयोजनामा श्रावण १५ को खिर खाने दिन भव्यताका साथ सम्पन्न भयो। “स्वाद, संस्कृति र समर्पण” भन्ने मूल नारासहित गरिएको उक्त कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रम समाजका अध्यक्ष चन्द्र कुमार कायस्थको अध्यक्षतामा र मेम्बर अफ पार्लियामेन्ट नथान हेगार्टीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि हेगार्टीले नेपाली अभिभावक समाजले सामुदायिक विकास र समन्वयमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समुदाय हितका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले अष्ट्रलको सामुदायिक भवन र व्यवस्थित पार्कलाई “सगरमाथा” नामकरण गर्ने वाचा पनि गरे।

यस अवसरमा अध्यक्ष कायस्थले अष्ट्रलको समग्र विकासका लागि कार्ययोजना सहितको परियोजना प्रस्तावना समेत हस्तान्तरण गरे। कार्यक्रममा समाजका सल्लाहकार तथा फेन्काका न्यू साउथ बेल्थका डेपुटि कोअर्डिनेटर मुक्तिराम पोखरेलले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र महत्वमा प्रकाश पारे।

समग्र कार्यक्रम समाजका सचिव रमण खतिवडा र सह–कोषाध्यक्ष केदार तिमिल्सिनाले सञ्चालन गरेका थिए।
सांस्कृतिक कार्यक्रम भने समाजसेवि दमन्ति पराजुलीको अगुवाइमा महिलाहरुको सक्रिय सहभागितासहित परम्परागत भेषभूषा र नृत्य प्रस्तुतिमा सम्पन्न भयो।

कार्यक्रममा सल्लाहकार सन्देशराज भण्डारी, भावना पराजुली, शंकरलाल राजमण्डारी, शिव पराजुली र राम पोखरेललगायतका वरिष्ठ व्यक्तित्वहरूको समेत विशेष सहभागिता रह्यो। साथै, लेपिन्टन कार्यालयका जेलिकोले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याएका थिए।

२०८२ श्रावण १७, शनिबार प्रकाशित 0 Minutes 1450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।