२०८१ बैशाख ८ शनिबार

आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै !!!

काठमाडौं । नेपाल सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपको नयाँ अपडेट सार्वजनिक भएको छ । नयाँ अपडेटमा कोभिड खोपको लागि आवेदन भर्न सकिने र क्यूआर कोड सहितको खोपकार्ड लिन सकिने फिचर आएको हो ।

बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १.४.८ आइसकेको छ । आईओएसमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने अनुमान गरिएको छ ।

नागरिक एपबाट आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ । त्यसपछि नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोपकार्ड डाउनलोड गर्न सकिनेछ ।

क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि मध्ये आफ्नो परिचय खुल्ने प्रमाण, खोप कार्ड, पासपोर्ट साइजको फोटो लगायतको विवरण खुलाउनुपर्ने हुन्छ ।

तर कोभिड-१९ को भ्याक्सिन कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन । यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ ।

नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको थाहा पाउन समेत सकिन्छ । तर क फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा कानूनी कारबाही गरिने बताइएको छ।

त्यस्तै नागरिक एपबाट कोभिड खोप लगाउनका लागि अनलाइन आवेदन दिन समेत सकिन्छ । तर फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने हुँदैन ।
.उपलब्धताका आधारमा खोप पाइने बताइएको छ । कोभिड-१९ विरुद्ध कुनै पनि खोप नलगाएका, तर खोप लगाउन इच्छुक १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले यो फारम स्वैच्छिक रुपमा भर्न सक्नेछन् ।

फारममा आफ्नो पूरा नाम, पूरा ठेगाना, जन्म मिति, पेशा, स्वास्थ्य अवस्था, मोबाइल नम्बर र परिचय पत्र नम्बर (नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचय पत्र, पासपोर्ट, अपाङ्गता परिचय पत्र, जन्म दर्ता) आदि खुलाउनुपर्ने हुन्छ ।

यसरी फारम भर्दा तपाईंले कुन केन्द्रमा खोप लगाउने भन्ने सूचना प्राप्त गर्न सकिन्छ । साथै यो आवेदन फारमबाट प्राप्त भएको विवरण स्थानीय तह स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन कार्यमा प्रयोग गरिने छ ।

यसका साथै सवारी साधन नवीकरणका लागि नागरिक एपमा भुक्तानी सेवाप्रदायकलाई आवद्ध गराउने काम समेत भइसकेको छ । तर बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको ढिलाई गर्दा नागरिक एपमा उक्त सेवा उपलब्ध हुन सकेको छैन ।

अनलाइन आवेदन दिने र क्यूआर कोड सहितको कोभिड खोपकार्ड कसरी लिने ?

यसका लागि गुगल प्ले स्टोरमा अथवा आईओएस एप स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुहोस् । तर यस अघि नै एप डाउनलोड गरिसक्नु भएको छ भने प्ले स्टोरमा गएर त्यसलाई अपडेट गर्नुहोस् ।

आईओएसका लागि भने यो भर्सनको अपडेट केही दिनमा उपलब्ध हुनेछ । यदि प्ले स्टोरमा त्यसको अपडेट देखिएन भने फोनको सेटिङ हुँदै एप्समा गएर गुगल प्ले स्टोरको क्याश क्लियर गरी पुनः प्ले स्टोरमा गएर अपडेट गर्नुहोस् ।

एप १.४.८ भर्सनमा अपडेट भइसकेपछि त्यहाँ तपाईँले ‘कोभिड भ्याक्सिनेस’ अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाएर भित्र गइसकेपछि अनलाइन आवेदनका लागि प्रि रजिस्ट्रेसन तथा क्यूआर कोड सहितको खोपकार्डका लागि भेरिफिकेसन अप्सनमा गएर तल दायाँ कुनामा रहेको प्लस आइकन थिच्नुहोस् र आवेदन भर्नुहोस् ।

२०७८ माघ १५, शनिबार प्रकाशित 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार