२०७९ मंसिर १९ सोमबार

भारतले बनायो महाकाली नदीमा ९ मिटर अग्लो पक्की बाँध ,नेपाल सरकार बेखवर l

एकअर्काको सहमतिबिना सीमा नदीको बहाव प्रभावित हुने संरचना निर्माण गर्न नपाइने भए पनि भारतले दार्चुला सदरमुकामनजिकै नदी किनारमा एकतर्फी पक्की तटबन्ध बनाइरहेको छ ।

यो विषयमा स्थानीयले लगातार गुनासो गर्दा पनि सरकारले भारतसँग संवादको पहल नगर्दा तनाव बढेको छ । मंगलबार वारिपारिका सर्वसाधारणबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको छ ।

नेपाली पक्षलाई औपचारिक जानकारी नदिई भारतले दार्चुला सदरमुकाम पारि महाकाली किनारमा पाँच किलोमिटर लामो तटबन्ध बनाइरहेको छ । ९ मिटर उचाइ र ७ मिटर चौडाइको यो संरचनाबारे दार्चुला प्रशासनले चासो राखे पनि भारतीय पक्षले जानकारी दिएको छैन ।

गत पुसबाट तटबन्ध निर्माण भइरहेको ठाउँ २०७० मा बाढी आउनुअघि नेपालको सार्वजनिक जमिन थियो । त्यही स्थानमा जिल्ला वन र भूसंरक्षण कार्यालयको भूभाग रहेको स्थानीयको भनाइ छ । गत वर्ष भौराबगर पारिपट्टि पनि भारतले बाँध निर्माण गरेको थियो, यो भूभाग पनि बाढी आउनुअघि महाकालीवारिको बगर थियो ।

आठ वर्षअघिको बाढीले दार्चुला सदरमुकाम क्षेत्रमा व्यापक क्षति गरेको थियो । त्यतिबेला भारतीय क्षेत्रमा तटबन्ध भएका कारण नेपालतर्फ बढी क्षति भएको स्थानीयको भनाइ छ । बाढीपछि नेपालतर्फ पक्की तटबन्ध निर्माण गर्दा भारतीय प्रशासनले अवरोध गरेको थियो । भारतीय पक्षले पत्राचार गरेपछि दुवै देशले नदी किनारको केही भाग छाडेर मात्रै तटबन्ध बनाउने सहमति गरेका थिए । तर, भारतले भने अहिले महाकाली नदी मिचेर तटबन्ध बनाइरहेको स्थानीय बताउँछन् ।

‘भारतले पुरानो तटबन्ध नभत्काई त्यसभन्दा १०–१२ मिटर वर नदी किनारमा जग खनिरहेको छ,’ पुलघाटका दानसिंह महरले भने । त्यसको करिब ५० मिटरमाथि भारतले नदीको बहाव नै परिवर्तन गर्न खोजेको छ । महाकाली नगरपालिका–४ स्थित लास्कु खोलानजिक एक्स्काभेटर लगाएर भारतले नदीको बहाव नेपालतर्फ फर्काउन खोजेपछि वारिका नेपालीले विरोध गरेका हुन् । लगातार ढुंगा निकाल्दै आएको एक्स्काभेटर मंगलबार बंगाबगरस्थित नदी किनारसम्म आइपुगेपछि स्थानीय जम्मा

भएका थिए । सरकारीस्तरबाट समाधान गर्नुपर्ने यस्तो संवेदनशील मुद्दा सम्बोधन नभएपछि वारि र पारिका सर्वसाधारणबीच ढुंगा हानाहान भएको थियो ।

स्थानीय रामसिंह कार्कीका अनुसार वारि करिब डेढ सय नेपाली जम्मा भएका थिए, पारिबाट पनि ठूलै समूह थियो । केहीबेरको ढुंगा हानाहान भएपछि दुवैतर्फ आइपुगेका सुरक्षाकर्मीले थामथुम पारेका थिए । एक्स्काभेटर पारि फर्काएपछि नदीको ढुंगा निकाल्ने काम रोकिएको छ । ‘महाकालीको वारिपट्टि रहेका ठूला ढुंगा लगेर पारि जम्मा गर्ने र नदीको बहाव नेपालपट्टि फर्काउन खोज्दै थिए,’ कार्कीले भने, ‘एक्स्काभेटर फर्काउन नमानेपछि तनाव भएको हो ।’

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय पनि नदीबाट एकतर्फी ढुंगा, बालुवा, गिट्टी उत्खनन गरेर भारतले सीमा क्षेत्रमा तटबन्ध बनाइरहेको बताउँछन् । ‘भारतले तटबन्ध निर्माणमा नेपाली भूभागबाट ढुंगा उत्खनन गरेपछि स्थानीयले आक्रोशित भई ढुंगा हानेको बुझिएको छ,’ उनले भने, ‘उताबाट पनि ढुंगा हानेको सुनियो । पछि दुवैतर्फका प्रशासनको सहयोगमा स्थानीयलाई तितरबितर गरियो ।’

प्रजिअ उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एक्स्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताए ।

भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा औपचारिक छलफल गर्न दार्चुला प्रशासनले भारतीय समकक्षीसँग अनुरोध गर्दै आएको छ । गत माघमा सीमा अधिकारीबीचको ‘भर्चुअल’ बैठकमा प्रजिअ उपाध्यायले यो विषय उठाएका थिए ।

जवाफमा भारतीय पक्षले नेपाली भूभागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै प्रगति भएको छैन, बरु निर्माण जारी छ ।

प्राकृतिक बहाव परिवर्तन गर्दा बर्खामा ठूलो विपत्ति हुने जोखिमले स्थानीय डराएका छन् । ‘सीमा नदी हो, त्यसको बहाव परिवर्तन गर्दा बर्खामा नेपालतर्फ विपत्ति बढ्नेछ, सिँचाइ चाहिएका बेला उनीहरूले उपयोग गर्ने र बाढी आउँदा नेपाल पस्ने गराउन पाइँदैन, नेपाल सरकारले यो कुरा संवादबाट भारतलाई बुझाउनुपर्छ,’ स्थानीय बासिन्दा कार्कीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी उपाध्याय पनि दुवै देशका इन्जिनियरको समन्वयमा मात्र तटबन्ध बनाउन सकिने बताउँछन् । तर, त्यसो नभएमा स्थानीयबीच झडप हुने र त्यसले समस्या समाधान नगर्ने उनको भनाइ छ । ‘सीमामा संरचना निर्माण गर्दा स्थानीयबीच झडप हुने सम्भावना रहेकाले समन्वय गरेर मात्र अगाडि बढ्न भारतीय पक्षलाई भनेका छौं, दुवैतर्फ संवेदनशीलता आवश्यक छ,’ उनले भने ।

भारतको पिथौरागढका जिल्लाधिकारी आशिष चौहानले गत साता अनुगमन गरे पनि सीमा क्षेत्रमा संरचना निर्माणबारे नेपाली अधिकारीसित कुनै समन्वय गरेनन् । चौहानले तटबन्ध निर्माणको काम छिटो सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका थिए, आजको कान्तिपुर दैनिकमा मनोज बडूले दार्चुलाबाट समाचार लेखेका छन्

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 0 Minutes 58 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।