२०७९ मंसिर २० मंगलवार

नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गरेका छन् ।

पोखरा ।
नेकपा एमालेबाट कास्की ३ मा प्रतिनिधिसभा उम्मेदवार रहेका दामोदर पौडेल ‘बैरागी’ले ४ मंसिरको चुनावमा सूर्य चिन्हमा मत दिन आह्वान गरेका छन् ।

चुनावको स्थिर समय विहीवार मध्यरातबाट सुरु हुँदैछ । त्यो समय सुरू हुनुअघि भिडिओ सन्देश जारी गर्दै उम्मेदवार बैरागीले ठूलो भूगोल भएकाले आफू सबै मतदाताको घरमा पुग्न नसकेको र जितेपछि फर्केर आउने भन्दै मत मागेका हुन् । ‘यो घरदैलोको अभियानमा म सबै घर र मतदातासम्म पुग्न सकिनँ । म घरदैलोमा आएको ठानेर मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनेका छन्, ‘म यहाँहरूसँग सुःख–दुःखमा, विकास र समृद्धिको यात्रामा हरदम जोडिने छु ।’
आफूसहित प्रदेश सभा ३ (१)का उम्मेदवार गणेशमान गुरुङ र ३ (२)का उम्मेदवार राजीव पहारीलाई पनि भारी मतले जिताउन उम्मेदवार बैरागीले आग्रह गरेका छन् ।
कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्बर वडा पर्छन् । प्रदेश सभा (१) तर्फ माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको १, २, ३, १८, १९ र २५ र प्रदेश सभा (२) मा अन्नपूर्ण गाउँपालिकासहित पोखरा महानगरपालिकाको ५, ६, २२, २३ र २४ नम्वर वडा पर्छन् ।
को हुन् दामोदर ?
दामोदर कास्कीमा पार्टीका लागि निकै संघर्ष गरेका कम्युनिष्ट नेतामध्येका एक हुन् । २०२३ साल वैशाख ५ गते कास्कीको तत्कालीन सल्यान गाविस–९ मा जन्मिएका दामोदर एमालेका निष्ठावान् र पूर्णकालीन कार्यकर्ता हुन् । बुवा स्व. चक्रपाणि पाध्या र आमा तुलसी पाध्याका ९ जना सन्तानमध्ये दामोदर जेठो हुन् ।
दामोदर २०३६ सालको विद्यार्थी आन्दोलानले राजनीतितर्फ प्रेरित भएका थिए । उनी २०३७ सालमा प्रगतिशील मावि सल्यानको अनेरास्ववियु (एकता पाँचौँ)को सह प्रारम्भिक कमिटी सदस्य भए । २०३८ सालमा प्रारम्भिक कमिटीको सदस्य र सह प्रारम्भिक कमिटीको अध्यक्ष बने । २०३९ साल वैशाख १० गते नेकपा (माले)मार्फत दामोदर कम्युनिष्ट पार्टीमा औपचारिक ढंगले लागेका थिए ।
२०४० सालदेखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमार्फत किसान भूमिगत भएरै राजनीतिमा सक्रिय थिए । दामोदर २०४० सालदेखि २०४६ साल चैतसम्म अर्ध भूमिगत थिए । २०४४ साल वैशाखदेखि मंसिरसम्म गोरखा छोटी हुलाकमा निमित्त प्रमुख भएर काम गरेको अनुभव पनि दामोदरसँग छ ।
पोखरा र यहाँ आसपासमात्रै होइन हिमालापारिको जिल्ला मुस्ताङसम्म पुगेर उनले किसान र श्रमजीविको पक्षमा काम गरेका छन् । २०४१ साल चैतदेखि २०४२ साल भदौसम्म मुस्ताङमा आफैँले कृषि फार्ममा काम गरेका थिए ।
मजदुर आन्दोलनले जन्माएको कुशल संगठक नेतामध्ये अग्रपंक्तिमा दामोदरको नाम आउँछ । मजदुर आन्दोलनको नेतृत्व गर्दै दामोदर मूलधारको राजनीतिमा आएका हुन् । २०४५ देखि २०५५ सालसम्म १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मार्फत मजदुर आन्दोलनमा सक्रिय रहे । २०५३ साल वैशाखमा भएको नेकपा एमाले कास्कीको चौँथो जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका उनले त्यतिबेला मजदुर ईलाका इन्चार्जको जिम्मा पाएका थिए ।
२०५५ सालपछिको चार वर्ष पिपुल्स भोलेन्टियर्स (पीभी)मार्फत स्वयंसेवा, सुरक्षा र विपत् व्यवस्थापनमा सक्रिय रहे । उनी २०५३ साल वैशाखमा चौँथो जिल्ला अधिवेशनबाट नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य भएका थिए । पार्टी मजदुर ईलाका इन्चार्ज, पार्टी स्कुल विभाग सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख, संगठन विभाग सदस्य तथा प्रमुख हुँदै २०७० सालमा पार्टीको जिल्ला सचिव बने । २०७० साल माघदेखि २०७६ साल वैशाखसम्म कास्की जिल्ला कमिटी सचिव थिए ।
राजनीतिक जीवनको विभिन्न कालखण्डका आन्दोलानमा कहिले पञ्च, कहिले सुरक्षाकर्मीसँग उनको मुठभेड परिरह्यो । २०४२ साल मंसिरमा गाउँमा पञ्चाहरुसँग मुठभेड हुँदा टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका थिए । २०४६ साल चैतमा पञ्चहरुसँगको भीडन्तमा दामोदरलाई टाउको, दाहिने हात र दाहिने खुट्टामा गम्भिर चोट लागेको थियो ।
२०५० सालको उपनिर्वाचनमा काठमाडौं बानेश्वरमा कांग्रेससँग भीडन्त हुँदा घाइते बनेका दामोदरको २०६० साल वैशाखको संयुक्त आन्दोलनमा सेनाको कमाण्डोसँग मुठभेड परेको थियो । त्यतिबेला टाउकोमा गम्भीर चोट लागेको थियो । उनले राज्यको तर्फबाट यातना पनि भोगेका छन् । २०६१ साल वैशाखमा सेनाले अपहरण गरी बकंरमा चरम यातना दिएको थियो ।
उनी व्यवसाय गरेर अर्थोपार्जन गरेका नेता होइनन् । सिद्धान्तबाट विचलित नभई संगठन र परिवर्तनका लागि निष्ठाको राजनीति गरिरहे । हरेक आन्दोलनमा अगुवाइ गरिरहँदा पटकपटक मुठभेड, कतिपय बेला जीवनको आश नै मार्ने गरी घाइते भए । परिवर्तनका लागि भएको २०४० साल यताका हरेक आन्दोलनमा उनको उपस्थिति रहिरह्यो ।
दामोदर भूमिसम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्ष भएर २०७७ साल माघदेखि ५ महिना काम गरेका थिए । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन तथ्यांक संकलन गर्दागर्दै आयोग नै खारेज भएपछि दामोदर पुनः पार्टीको संगठन निर्माण र नेतृत्वको जिम्मामा फर्किएका थिए ।

२०७९ मंसिर १, बिहीबार प्रकाशित 0 Minutes 46 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।