२०८१ बैशाख ७ शुक्रबार

धरौटीमा रिहा भए सन्दीप– विदेश जान नपाउने, मुद्दाको विषयमा बोल्न नपाउने !

 धरौटीमा रिहा भए सन्दीप– विदेश जान नपाउने, मुद्दाको विषयमा बोल्न नपाउने

नाबालिगका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालत पाटनले सन्दीपको पुनरावेदनमा निवदेनमाथि फैसला गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।

सन्दीप धरौटीमा रिहा भएपनि उनी माथि विभिन्न शर्त राखिएको छ। ती शर्तको उल्लंघ भएको पाइए पुनः थुनामा राखिनेछ। अदालतले उनीलाई विदेश जान रोकन लगाएको छ भने उपत्यका छाड्दा अनुमति माग्नु पर्ने शर्त पनि राखेको छ। उनले मुद्दाका विषयमा बोल्न पाउने छैनन् ।

यस्ता अदालत सन्दीप समक्ष रखेका शर्त 

१. यस मुद्दाको फैसला नभएसम्मका लागि सन्दीपलाई नेपाल बाहिर जानबाट रोक लगाइएको छ। उनको नाममा जारी भएको राहदानी रोक्का गर्न भनिएको छ। यसको कार्यान्वयनका लागि गृह र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउन भनिएको छ।

२. जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यको सम्बन्धमा वा विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी वा धारणा व्यक्त गर्न सन्दीपलाई रोक लगाइएको छ।

३. आफू वा आफू सम्बद्ध संस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पाउँदैनन्। जाहेरीकर्ता, पीडित वा उनको परिवारको सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरूत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नूर नगराउनू भनी सन्दीपलाई निषेधात्मक आदेश दिइएको छ।

४. कुनै काम विशेषका कारण सन्दीपले काठमाडौं उपत्यका छोड्नु परे, छोड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौंलाई सोबारे लिखित जानकारी दिनुपर्ने छ। सो जानकारीमा काठमाडौं उपत्यका छोड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान समेत खुलाउनु पर्नेछ।

५. माथिका खण्डहरूमा उल्लिखित आदेशहरूको पालनाको प्रभावकारिताको प्रयोजनका लागि सन्दीपको गतिविधिको निगरानी गर्ने एवं उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार अभिलेख गर्न प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्नेछ। त्यसरी पहुँच राखिएका र अभिलेख गरिएका सामग्री वा विवरणको गोप्यता भंग नहुने व्यवस्था मिलाउनुपर्ने छ। जिल्ला अदालतले माग गरेका बखत त्यस्ता सामग्री वा विवरण उपलब्ध गराउनु पर्नेछ। यसको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिन भनिएको छ।

यी शर्तहरू उल्लंघन गरेको पाइएमा अदालतले उनलाई पुनः थुनामा पठाउन सक्नेछ। धरौटी माग गरिएको भए पनि उक्त आदेश स्वतस् निष्क्रिय भएको मानिने अदालतको आदेशमा उल्लेख छ। त्यसपछि उनी थुनामा बसेरै मुद्दाको किनारा लाग्ने भनिएको छ।

२०७९ पुष २९, शुक्रबार प्रकाशित 0 Minutes 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार