२०८० चैत्र १६ शुक्रबार

एकिकृत समाजवादीको बैठक स्थगित, के छ आजको निर्णय ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ ।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी रहेकाले भोलिसम्म बैठक स्थगित गरिएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक  प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु गरिएको छ । उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने छ ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्याङ्कन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ । पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसद्मा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण तथा गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बसेको बैठकमा विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका ती समूहका निष्कर्ष भोलिको बैठकमा प्रस्तुत गरिनेछ ।

सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्र मातहतका आफ्ना सबै कमिटी, विभाग र मार्चा सङ्गठनलाई निर्धारित समय सीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा भोलि छलफल गरिनेछ ।

२०७९ माघ २१, शनिबार प्रकाशित 0 Minutes 469 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार