२०८१ बैशाख ६ बिहीबार

हामीविरुद्ध चौतर्फी घेराबन्दी छ : ओली

‘अब हुने चुनावमा एमालेले बहुमत ल्याउँछ । अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ ।’

अर्घाखाँची — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको बताएका छन् । एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको उनले बताए ।
एमाले अर्घाखाँचीले आइतबार सन्धिखर्कमा आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘हामीविरुद्ध घेराबन्दी छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने, ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ । एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरुमा छैन ।’

अब हुने संसदीय चुनावमा एमालेले ५१ प्रतिशत (बहुमत) मत ल्याएर एकल सरकार बनाउने उनको दाबी थियो । हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै ओलीले भने, ‘झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’

साथै सरकार ‘बनाइदिएको’ भाेलिपल्टबाटै चालामाल ठीक नभएको र सरकार ढाल्न लागि परेको उनको भनाइ थियो ।

२०७९ चैत्र १२, आईतवार प्रकाशित 1 Minute 500 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार