२०८० चैत्र १६ शुक्रबार

गीतकार किरण खरेललाई सम्मान !!

गण्डकी,गीतकार किरण खरेल शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको कार्यक्रममा देखिए । सांस्कृतिक परिवारले खरेललाई पहिलो अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित गर्न पोखरा निम्त्याएको थियो । खरेल र उनका कामबारे चर्चा गर्दै कार्यक्रममा २ लाख रुपैयाँ पुरस्कार सहित कदरपत्रले सम्मानित गरियो ।

७ सय बढी गीत लेखिसकेका खरेलले ५५ भन्दा बढी नेपाली फिल्मका लागि कालजयी गीत दिएका छन् ।

‘माइतीघर’ फिल्मका लागि उनले लेखेका गीत ‘जिन्दगीलाई जित होइन हारले स्वागत गरी’, ‘नमान लाज यसरी’, ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’ कालजयी छन् । साहित्कार तीर्थ श्रेष्ठ भन्छन्, ‘मेरो आमा पुस्ता सम्भवतः ‘माइतीघर..’ गीतमै नाच्नुभयो होला, अहिले नातिनी पुस्ता पनि यही गीतमा नाचिरहेको देख्छु ।’ अरू कुनै पनि गीतले यति व्यापकता पाउन नसकेको उनको दाबी छ । खरेलको अर्को गीत ‘नमान लाज यसरी’ को जस्तो मादकता अरू गीतमा नपाएको श्रेष्ठले अनुभव पोखे । गायक प्रेमध्वज प्रधान र भारतीय गायिका उषा मंगेशकरले गाएको यो गीतलाई खरेलकै शब्दले जीवन्त बनाए । कार्यक्रममा पोखरेली गायक विनोद बानियाँ र रजनी ऋदम राईले सोही गीत गाउँदा खरेल पुलकित देखिन्थे ।

१९ वर्षकै उमेरमा ‘ए दूरका सितारा, मेरो चाँदनी कहाँ छ’ लेखेका खरेलको उक्त गीत पहिलो पटक २०१४ सालमा गायक बटुकृष्ण ज्वालाद्वारा भारतमा रेकर्ड गराएका थिए । खरेलका गीतहरू नेपाल र भारतका थुप्रै गायकले गाइसकेका छन् ।

साहित्यकार सरुभक्तले नेपाली गायन क्षेत्रमै उथलपुथल हुने गरी खरेलले गीत लेखेको टिप्पणी गरे । परम्परागत शैलीमै लेखिएका गीत चलिरहेका बेला खरेलको आधुनिक शैलीका गीतले त्यसताकाको गीतरसंगीतको धार नै फेरि दिएको भन्दै आधुनिक गीत लेखनमा खरेल सर्वोच्च प्रतिभाका रूपमा स्थापित भएको सरुभक्तले सुनाए । अझ तीर्थ श्रेष्ठले अम्बर गुरुङको एक किस्सा सुनाउँदै खरेललाई नेपाली गीत क्षेत्रको सगरमाथा नै कहे । खरेलका गीतमा प्रकृति, माटो, नारीप्रति विशेष मोह भेटिन्छ । खरेल आफू खुला आकाशमुनि खोलाको छङछङ आवाज सुनेर जन्मे, हुर्केकाले प्रकृतिसँगको मोह गीतमा झल्किएको बताउँछन् । साथै संयुक्त परिवारमा आमा, फूपू, दिदीको स्नेहमा हुर्केकाले नारीप्रति सम्मान र मोहको आभाष पनि हुने थपे ।

कवि तीर्थ श्रेष्ठले पनि खरेलले स्रोता र गीतका पारखीको सदिच्छा जहिल्यै पाएको सुनाउँदै भने, ‘यति धेरै माया, स्नेह, सम्मान सरकारबाट मिल्दैन, सरकारबाट केही नपाए पनि उहाँले सबथोक पाउनुभएको छ । श्रेष्ठका ४ वटा कृति सार्वजनिक छन् । सम्मानित भएपछि खरेल

पोखराकाबारे केही भावुक देखिए । पहिलोपटक २०२४ सालमा दार्जिलिङबाट आएका अम्बर गुरुङसँगै गोपाल योञ्जन, अरुणा लामा, रञ्जित गजमेरलगायतको टोलीसँग पोखरा आएर कार्यक्रम चलाएको स्मरण गरे । विस्मृतिमा उनी केही भावुक भए । आफ्ना मित्र अम्बर गुरुङकै नामको पुरस्कार पाउँदा खुसी लागेको भन्दै खरेलले गुरुङको पनि बयान गरे । ‘मभन्दा केही महिनामात्र जेठा अम्बर, मेरो अनन्य मित्र जसले मेरा १० वटा गीतमा संगीत भरेर रेकर्ड गराए, आज उनकै नामको यो पुरस्कार पाउनु मेरा लागि अविस्मरणीय र गौरवको क्षण हो ।’

 

 

२०८० बैशाख २४, आईतवार प्रकाशित 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार