२०८१ माघ २७ आईतवार

पोखरामा म्याद ग्युज्रिएको मदिरा बिक्री !!

पोखरामा म्याद ग्युज्रिएको मदिरा बिक्री
मदनमणि तिमिल्सिना
पोखरा ।
उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार म्याद गुज्रिएको सामान बिक्री वितरण गर्न पाइँदैन । यदी त्यस्तो भेटिएमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ

जिल्ला प्रशासन कार्यालयमा मंगलबार बिहान एउटा सूचना प्राप्त भयो । सूचना पिकनिकमा लगिएको सामानको म्याद गुज्रिएको भेटियो भन्ने थियो । कार्यालयमा सूचना आएलगत्तै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण भयो । मादकपदार्थ (बर्डवाइजर नामको बियर) म्याद गुज्रिसकेपछि पनि बिक्री भएको जानकारी पाए पनि टोली तत्कालै त्यसको अनुगमनमा लाग्यो ।

जिल्ला प्रशासनको अगुवाइमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय र जनप्रतिनिधिको टोली उक्त बर्डवाइजर बियर खरिद गरेको सेलवेज डिमार्टमेन्ट स्टोरमा पुग्यो । त्यहाँ सोधपुछ गर्दा पोखरा ५ पस्र्याङ धारापानी मार्गमा रहेको लाभाजु इन्टरप्राइजबाट खरिद गरेको भन्ने जानकारी दियो ।

तत्कालै टोली पस्र्याङ धारापानीतिर लाग्यो । लाभाजु इन्टरप्राइज पुगेर हेर्दा ठूलो मात्रामा म्याद गुज्रेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ ।

पोखरा ५ पस्र्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘स्थानीयहरूले लाभाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं,’ ढकालले भने । त्यहाँका एक कर्मचारीले नलैजान आग्रह गर्दा गर्दै लगेको जानकारी दिएको उनले बताए । ‘हामी यहाँ आइसकेपछि यहाँको सरोकारवाला १ जना बैनीले नलैजानु भन्दा भन्दै पनि लानुभयो भन्नुभयो,’ उनले भने, ‘त्यसपछि ल ठिकै छ त नि भनेर हेर्दा स्थिति यस्तो रहेछ ।’

उनकाअनुसार जाउलाखेल डिस्टिलरीको कम्पनीले उत्पादन गरेको १३ लाख ९८ हजार ५ सय ३० मूल्य बराबरको बर्डवाइजर बियर उक्त इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १६ कार्टुन र ११ वटा बोतल प्रशासनले बरामद गरेको हो । भने, ३ सय ३० एमएलको ६ कार्टुन र ११ वटा बोतल नियन्त्रणमा लिएको हो । उनकाअनुसार सरोकारवालहरूको उपस्थितिमा नष्ट गरिनेछ । ‘यसलाई आज हामीले नगरपालिकाको गाडीमा लगेर प्रहरीको नियन्त्रणमा राख्छौं,’ उनले भने, ‘भोलि सरोकारवालाहरूको उपस्थितिमा नष्ट गरिन्छ ।’

पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कडाइका साथ लाग्नुपर्ने बताए । म्याद गुज्रिएको खाद्य सामग्री बिक्री वितरण रोक्नका लागि सबै एक भएर लाग्नुपर्ने उनको भनाइ थियो । यसमा उपभोक्ताहरू पनि सजग हुनुपर्ने उनले बताए । आफ्नो वडामा सञ्चालनमा रहेको लाभाजु इन्टरप्राइज नियमपूर्वक दर्ता भएर सञ्चालनमा रहेको भेटिएको उनले जानकारी दिए ।

लाभाजु इन्टरप्राइजका एक प्रतिनिधिले उक्त बियर म्याद गुज्रिएर स्टकमा रहेको स्वीकार गरे । उनकाअनुसार म्याद गुज्रिएको बियर नष्ट गर्नका लागि राखिएको थियो । कम्पनीबाट प्रक्रियामा मिलाउँदा नष्ट गर्न ढिला भएको उनले बताए । ‘कम्पनीले पनि फाल्ने नै हो । सबै प्रक्रिया मिलाउँदा ढिला हुन्थ्यो त्योभन्दा अघि नै नष्ट हुने भयो,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयले म्याद रहेको र गुज्रिएको सामान छुट्टाछट्टै राख्न निर्देशन दिएको छ । यसैगरी व्यवसाय दर्ता नवीकरण एवं वैशाख १५ देखि २५ सम्मको खरिद तथा बिक्री बिल लिएर ३ दिनभित्रमा प्रशासनमा उपस्थित हुन निर्देशन दिएको छ ।

म्याद गुज्रेको मादक पदार्थ सेवन गर्नु विषसरह रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवजी बरालले बताए । मानव स्वास्थ्यमा ठूलो हानि पुर्‍याउने यस्तो खालको खाद्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई सोहीअनुसारको कानुनी कारबाहीको व्यवस्था रहेको उनले सुनाए । ‘खाद्य ऐन २०२३ मा म्याद गुज्रिएको सामान बेच्नै पाइँदैन भनिएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ मा नगद जरिवाना तोकिएको छ,’ उनले भने, ‘मूल्यसूची, बोर्ड, एक्सपाइर जोन छ/छैन सबै हेरेर ५ हजारदेखि १ लाखसम्म जरिवाना हुने उल्लेख छ ।’

२०८० बैशाख २७, बुधबार प्रकाशित 0 Minutes 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।