२०८१ बैशाख ८ शनिबार

नेपाल प्रहरीका कर्मचारीद्वारा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण!!

 

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को १००औं सदस्यता प्राप्‍त गरेको नेपालले इन्टरपोलको शताब्दी वर्ष भव्यताका साथ मनाउने कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा INTERPOL HQ को झण्डा फहराउन सफल भएका छन् ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट २०७९ चैत ३० गते आवश्यक निर्देशन तथा शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली सहितको आरोहण दल २०८० वैशाख २ गते काठमाडौंबाट प्रस्थान गरेको थियो ।

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाईको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाईको लोबुचे हिमाल सफलातापूर्वक आरोहण गरेका थिए ।

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।

यस आरोहणले इन्टरपोलको शताब्दी वर्ष भव्यतापूर्वक मनाईएको सन्देश विश्वसामु प्रवाह हुनुका साथै नेपाल लगायत इन्टरपोलका सदस्य राष्ट्रहरुको अपराधिक कृयाकलापहरु विरुद्ध ऐक्यवद्धता रहेको र नेपाल प्रहरीको यस सफल आरोहणले विश्वभरका पर्वतारोही पर्यटकहरुमा थप सुरक्षाको अनुभूति दिलाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्‍वास लिइएको छ ।

INTERPOL HQ

२०८० जेष्ठ १०, बुधबार प्रकाशित 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार