२०८३ जेष्ठ २६ मंगलवार

आफूविरुद्ध लगाइएको आरोप पुष्टि नगरे संसद् अवरुद्ध गर्ने ओलीको चेतावनी !!

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरुद्ध हुनैपर्ने बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगै बोल्दै उनले आफूविरुद्ध भ्रष्टाचारको आरोप लगाएको भन्दै पुष्टि गर्न चेतावनी दिए ।

जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । ओलीले आफूले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाए ।

“अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्‍यो भनेर एकजना सांसदले बोले,” ओलीले भने । ओलीले त्यसमा संसद् अवरुद्ध भएको बताउँदै अवरोध हुनैपर्ने बताए ।

“संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकवास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन ।आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा,” उनले भने । कि पुष्टि हुनुपर्छ । पुष्टि हुने सम्भावना नै नभएको उनले दाबी गरे । उनले आफू भ्रष्टाचारविरुद्ध आन्दोलन चलाइरहेको भन्दै देशप्रतिको वितृष्णा जगाउन देशद्रोही काम भएको आरोप लगाए ।

“जसले जिन्दगीभरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएर आएको छु, त्यही मान्छेकाविरुद्ध । यो त इमानका शत्रुहरूले गर्ने काम हो,” ओलीले भने, “देशद्रोही तत्त्वले यो देशमा चाहिँ कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने देशद्रोही काम हो ।”

२०८० जेष्ठ १२, शुक्रबार प्रकाशित 1 Minute 495 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।