२०८३ जेष्ठ ५ मंगलवार

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै !!

शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्द
काठमाडौँ ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । शनिबार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने ज्योतिष पंडित बेदनिधी तिमिल्सिनाले जानकारी दिए। राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात  समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् भट्टराईले बताए । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको तिमिल्सिनाले बताए।
चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको तिमिल्सिनाले बताए  । दिउँसो ४:१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।
ग्रहणमा के गर्नु हुन्छ? के गर्नु हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको तिमिल्सिना बताउँछन्।
ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् । 
पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । 
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् ज्योतिष पंडित तिमिल्सिनाले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।

चन्द्रग्रहणमा जुन प्रहरमा ग्रहण लाग्दछ त्याे भन्दा तीन प्रहर अगाडि अर्थात ९ घण्टा अगाडि भाेजन गर्न धर्मशास्त्रले निशेध गरेकाे छ । ग्रहण बेला पकाएका अन्न भाेजनमा निशेध छ । ग्रहणकालमा संकलित घ्यूमा पकाए अन्न,तिल,कुश,दूध,दहि,माेहि भने शुद्ध नै मानिन्छ । ग्रहणकाे समयमा सांसारिक प्रपञ्चका अरू काम राेकेर ईश्वर प्रति ध्यान ,दान,पुण्य,पुजा पाठ आदि धार्मिक कृत्य गर्ने ।

ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने तिमिल्सिनाले बताए। ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ । याे ग्रहण काल मिथुन,कर्कट, वृश्चिक र कुम्भ राशिका व्यक्तिलाई शुभ र अरू राशिका व्यक्तिलाई अशुभ रहेकाे । याे साल संसार भर ४ वाटा ग्रहण देखिने छन् । जसमा ३ वटा सूर्य ग्रहण वैशाख ७,असाेज २७ र चैत्र २६ गते देखिने छन् तर नेपालमा भने कार्तिक ११ गतेकाे चन्द्र ग्रहण मात्रै देखिने छ ।

२०८० कार्तिक ११, शनिबार प्रकाशित 0 Minutes 467 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।